गाँजाको बोट नष्ट गर्ने अभियानमा लायन्स क्लब

बिएल

लायन्स क्लब अफ काठमाडौँ टेम्पल पिस इन्द्रेवरको आयोजना तथा सङ्घीय प्रहरी गुल्म पनौती र पनौती प्रहरी चौकीको समन्वयमा पुन्यमाता करिडोर आसपासमा भएका गाँजाको बोट नष्ट गरिएको छ।

पनौती आसपासलगायत विशेषगरी पुन्यमाता करिडोर छेउछाउमा गाँजाको बोट झाङ्गिन थालेपछि त्यसलाई नष्ट गर्न क्लबले अभियान थालनी गरेको क्लबका अध्यक्ष रामकुमार बस्नेतले बताए। “युवा पुस्तामा लागुऔषध प्रयोगको कुलतले समाजमा भइरहेको विकृतिलाई निर्मूल पार्ने उद्देश्यले सामाजिक संस्था र प्रहरी प्रशासनको सहयोगमा गाँजाको बोट नष्ट गरेका हौँ”, बस्नेतले बताए, “हामीले पहिलो चरणमा पनौती पशुपतिनाथ मन्दिर परिसरदेखि सङ्घीय प्रहरी गुल्म प्रदेश नं ३ पनौती ठाडोबाटोसम्मको करीब एक किलोमिटरभित्रका पुन्यमाता करिडोर आसपासका गाँजाका बोट नष्ट गरेका छौँ।”

अभियानमा सङ्घीय प्रहरी गुल्म प्रदेश नं ३ पनौती ठाडोबाटोका गुल्मपति र प्रतिनिधि, पनौती प्रहरी चौकीका प्रमुखलगायतका प्रतिनिधि, लायन्स क्लब अफ काठमाडौँ जोन प्रेसिडेन्ट भोला थापा तथा क्लबका प्रतिनिधिलगायत स्थानीय समाजसेवीको उल्लेख्य उपस्थिति रहेको थियो। आगामी दिनमा नगरका मुख्य क्षेत्रमा भएका गाँजाका बोट नष्ट गर्दै जाने उनले बताए।

प्रकाशित मिति: : 2019-09-04 12:20:45

प्रतिकृया दिनुहोस्