वीपी कोइराला २०३३ सालतिर एकाएक भारतको निर्वासित जीवन छोडेर ‘राष्ट्रिय एकता तथा मेलमिलाप‘ को नीति बोकेर नेपाल फर्किए। उनको नेपाल प्रवेशलाई तत्कालिन व्यवस्थाले ‘चुनौती’ ठान्यो र रोक्न हरसम्भव प्रयास गर्यो। तर वीपीको धृढ निश्चय, उच्च मनोवल र राष्ट्र प्रेमको अगाडि उनलाई चुनौती ठान्नेहरु निरिह बने।
वीपीको त्यो राष्ट्रिय मेलमिलाप कुन पृष्ठभुमि र कुन परिवेशमा जन्मिएको थियो, त्यो तत्कालिन शाषकले बुज्न सकेन या बुज्न चाहेन। त्यसैको परिणती आजको वर्तमान अवस्था हो र यो अवस्था आउनुमा नेपाली कांग्रेसको वर्तमान नेतृत्व लिएर बसेका त्यतिकै जिम्मेवार छन्, जति ६२ साल पूर्वका शासकहरु।
वीपीको राष्ट्रिय एकता तथा मेलमिलाप उनी नेपाल प्रवेश गर्दाको तत्कालिन समय र परिस्थितिको औचित्य र अहिले वीपीको त्यो दर्शन झन् सार्थक र औचित्यपूर्ण देखिदैछ। ३३ सालमा त्यो दर्शन, त्यो नीति नबुझेका या बुज्न नचाहेका या बुझेर पनि ग्रहण नगरेकाले जुन दुर्घटना देखे, वीपीको दर्शनलाई कांग्रेसले परिचय नबनाएकोले अहिलेको मौजुदा अवस्था भएको हो।
कांग्रेसले पौष १६ गते मेलमिलाप दिवस मनाउँछ। वीपीको तस्वीर राख्छन्। माल्यार्पण गर्छन। तर त्यो मंचबाट वीपीको मेलमिलापको व्याख्या हुँदैन, त्यो दर्शनको चर्चा हुँदैन। अहिले युवापुस्ताहरु नेपाली कांग्रेसमा नेतृत्व लिन खोज्दै छन् तर यिनिहरुले वीपीको विचार , वीपीको दर्शन कति बुझेका छन् या कति बुझाउन सक्छन्।
मलाई लाग्छ– अहिले गाउँगाउँमा जनजनमा कार्यकर्ता कार्यकर्तामा वीपीको विचार पुर्याउनु पर्छ। विचार धेरै शक्तिशाली हुन्छ। आज नेपालमा मार्क्स, लेनिन , स्टालिन , माओको विचार सवैतिर सम्प्रेषित छ। यही विचारले नेपाल पोषित हुन् खोजिरहेको छ। यही विचारको साहित्य, राजनीतिले ठाउँ लिन खोजिरहेको छ।
कांग्रेसको नेता , कार्यकर्ताले वीपी विचार बोकेको भए, मनन् गरेको भए, धारण गरेको भए, कुनै पनि नेताले कही पनि शिर निहुँराउनु पर्दैनथ्यो। कही पनि झुक्नु पर्दैनथ्यो र कही पनि चरित्रमा दाग लाग्दैनथ्यो। उ यति निर्भिक हुन्थ्यो। उ विचारको यति सम्पन्न हुन्थ्यो, यति बौध्दिक हुन्थ्यो की कही पनि बौध्दिक दरिद्रता प्रकट गर्नु पर्दैनथ्यो।
कांग्रेसमा पार्टी बहिर्गमन हुने मुख्य कारण नै वीपीप्रति निष्ठा, प्रतिबध्दता नभएर नै हो। यस्तोबाट पार्टीलाई दीर्घकालसम्म नेतृत्व दिन सक्तैनन्। जो वीपीको विचारमा, दर्शनमा समाहित हुन्छ। ती पार्टीमा जीवन प्रयन्त रहन्छ। त्यस्तो व्यक्तित्वमा कुलबहादुर गुरुङलाई लिन सकिन्छ।
नेपाली कांग्रेसले महामानव र जननायक नेता वी पीलाई चिनाउन सकेन। जनस्तरसम्म पुर्याउन सकेन। वीपीबाट लेखिएको थुप्रै साहित्य, वीपीको जीवनीमा लेखिएको कथा, आत्मवृतान्त ,जेल जर्नल , मेलमिलापसम्वन्धी लेखेका पुस्तक उनको विचार , दर्शन जनजनको घरघरमा कार्यकर्तामा पुर्याउने काम कहिले गरेन।
कांग्रेसले ठूलो परिमाणमा उक्त पुस्तकहरु प्रकाशन गरेर प्रत्येकको घरघरमा पुर्याउनु पर्छ। प्रत्येक धुरीमा, प्रत्येक घरमा वीपीको विचार दर्शन पुर्याउनु अब जरुरी भैसकेको छ। यी पुस्तक जस्ले पढ्छ, अध्ययन गर्छ त्यो वीपीको अनुयायी नहुने कुरै छैन। यसलाई कांग्रेसले गम्भिर रुपमा लिओस् र हेरोस्।
तपाईलाई थाहा छ– विश्वमा धर्म ,विचार र दर्शन कसरी अगाडि बढिरहेको छरु कसरी आफ्नो साम्राज्य फैलाइरहेको छरु त्यहाँ विचार दिने, दर्शन दिने र धर्म गुरुहरु, अवतारीहरुको उपस्थिति भइरहनु पर्दैन, विचार र दर्शनलाई त्यहाँ पुर्याएपुग्छ।
तिब्बतमा जुन धर्मको चर्चा गरिन्छ, त्यो सवैभन्दा पछाडि आएको हो। त्यो पनि दहेजमा। उत्तर कोरिया , जापान, चीन , कम्बोडिया सवै ठाउँमा पुगेपछि अन्त्यमा तिब्बतमा त्यतिखेरका क्रुर र शक्तिशाली शाषकले भित्र्याएका थिए। उनको दबदबा र प्रभावबाट बच्न चीनका राजाले र नेपालका (एकीकरण पूर्वका)राजा अंशुवर्माले आफ्नी छोरी भृकुटी तिब्बतका राजा स्रंगचंगगम्पोलाई दिँदा चीन र नेपालले बुध्दको मुर्ती तारा र बौध्द साहित्यका पुस्तकसमेत छोरीसँगै दाइजोमा पठाएको थियो।
जब तिब्बतको राजाको आँखा ती मुर्तीमा परे र बौध्द साहित्य अध्ययन गरे, तब सदाको लागि उनको भए अर्थात बुध्दिष्ट भए। हेर्दाहेर्दै सम्पूर्ण तिब्बत ‘बुध्द शरणं गच्छामी, धम्मं शरणं गच्छामी’ भयो।
कोरियाका राजा जापानसँग खुब डराउने, अत उनले सन्धि प्रस्तावको रुपमा एक दुतलाई भगवान बुध्दको विग्रह , पुजा पध्दती र उनको कथाहरु जापानको राजालाई पठाए। केही दिनभित्रै यस प्रकार कोरियाबाट बुद्ध धर्म जापान पुग्यो। मार्क्स, लेनिन, माओ पनि त्यसरी नै प्रचारित भएका हुन्। त्यसरी नै यिनीहरुको अनुनायी भएका हुन्।
नेपाली कांग्रेसमा केन्द्रीय समितिमा बसेका पदाधिकारीले यी माथिका कुरालाई मजाक र ठ्ट्टाको रुपमा लिनेभन्दा पनि वीपीको विचार–दर्शनलाई जिवित राख्न जरुरी भइसकेको छ। वीपीको पुस्तक र तस्विर घर–घरमा पुर्याउनुस्। अनि हेर्नुस् नेपाल वीपीमय हुन्छ, कांग्रेसमय हुन्छ र चार तारामय हुन्छ।