रेखाको चुनावी अभियान

मैले जितेपछि महिलाहरूका लागि मोरङ ३ हेर्न जाऔं भन्ने बनाउँछु– रेखा थापा

BreaknLinks
BreaknLinks

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट मोरङ क्षेत्र नं. ३ मा प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दिएकी रेखा थापाले चुनावी घरदैलो अभियानलाई तिव्रता दिएकी छिन्। हरेक दिनजसो उनी जनताको घर आँगनमा पुगेर भलाकुसारी गर्दै आशीर्वाद लिँदै जनताको समस्याहरु नजिकबाट बुझिरहेकी छिन्। रेखाको घरदैलोमा स्थानीयको बाक्लो उपस्थिति रहने गरेको छ भने रेखाले राम्रो साथ सहयोग र माया पाइरहेकी छिन्।

‘मलाई धेरै राम्रो रेस्पोन्सहरु आइरहेको छ। तिमी हिम्मत नहार, तिमी एउटा क्षेत्र नम्बर ३ को मात्रै छोरी होइन, सिंगो देशको छोरी हो। निर्वाचनमा तिम्रो उपस्थितिले सारा नेपाली चेलीहरुलाई ऊर्जा दिन्छ। तिमी हार्नु भनेको मेरी छोरी हार्नु हो। अबको १० वर्षसम्म मेरा छोरीहरु निराश हुन्छन्, तिमीलाई जिताउने जिम्मेवारी हाम्रो हो भन्दै हुनुहुन्छ,’ रेखाले भनिन्।

अहिले यस निर्वाचन क्षेत्रमा रेखाको एकदमै राम्रो माहाेल छ। जनताकाे धेरै माया पाएकी छिन्। ‘सबैभन्दा बढी बुबाआमा र युवाको माया पाएकी छु। जसले मलाई माया गर्नुपर्ने हो, उहाँहरूले माया गरेपछि सक्किगो नि ?,’ रेखाले सुनाइन्,‘यसअघि जितेर गएकाहरूले काम नगरेपछि जनता धेरै आक्रोशित हुनुहुन्छ। हिजो गरेको धोकाको हामी हिसाब किताब गर्छौं भन्नुभएको छ। हाम्रो मत खेर गयो भन्ने पीडा उहाँहरूलाई छ। उहाँहरूले दिएको आशीर्वादले हौसला पनि मिलेको छ। उहाँहरू जागिसक्नुभएको छ। वर्षसम्म हामीले पीडा सहनुबाहेक केही भएन, अब हामी यस्तो गल्ती गर्दैनौँ भनेर मलाई मतदाताले भन्नुभएको छ।’

रेखा आत्मविश्वासी नारी हुन्। उनले हिम्मतवाली नारीको उपमा पनि पाएकी छिन्। चाहेको भए उनी समानुपातिक उम्मेदवार बनेर सेभ जोनमा खेल्न सक्थिन्। तर, उनलाई समानुपातिक सांसद भनेको टीका लगाएर पाएको टीके पद लाग्छ। जुन कुरा उनलाई मन पर्दैन्। उनी यो व्यवस्था खारेज हुनुपर्छ भन्छिन्।

रेखाले यहाँ गर्नुपर्ने धेरै काम देखेकी छिन्। ‘कलाकारको हिसाबले मैले जुन ख्याती कमाएँ, त्यहीँ ठाउँले आज हिम्मतवाली रेखा जन्माएको ठाउँ हो,’ रेखाले भनिन्,‘तर, त्यही ठाउँलाई अब मैले ‘पे ब्याक’ गर्ने बेला आएको छ। विकास नभएका पूर्वाधार, शिक्षा, स्वास्थ्य रोजगारीमा भएका अभावका विषयमा मैले महसुस गरेकी छु। चाहे यो सुकुम्बासी समस्या किन नहोस्। यो समस्यालाई निर्मुल गर्नका लागि त्यही माटोमा लत्पतिएको मानिस त्यो ठाउँलाई आवश्यक छ।’

‘कति मानिसहरु लालपूर्जाविहीन भएर बसेका छन्। यो विषयमा पनि आजभन्दा चार वर्षअगाडि रेखा तिमीले केही गर्न सक्छौँ कि गरिदेऊ भनेर मेयर साहेबहरुसँग पनि कुरा हुन्थ्यो। म नीति नियम बनाउने ठाउँमा नपुगिकन मेरो क्षेत्रको होस्, देशको होस्, समस्या समाधान गर्न सक्दिनँ। मलाई त्यहाँका समस्याहरु थाहा छ,’ यसअघि उनले भनिन्।

रेखाले सांसद बन्नु नै मेरो आफ्नो लक्ष्य नरहेको बताइन्। मेरो उपस्थितिले, ‘मेरो यो अभियानले हरेक छोरी मान्छेहरु जागरुक हुनुपर्छ। हरेक युवाले आफ्नै देशमा रोजगारी प्राप्त गर्नुपर्छ। हरेक मान्छेले आफूले चाहेको जिन्दगी बाँच्न पाउनुपर्छ भन्ने मेरो मान्यता हो। आफ्नो उपस्थितिले मेरा हरेक बहिनीहरुमा एउटा ऊर्जा आओस् र उनीहरुले म पनि म जस्तै बन्न सकुन् भन्ने रेखालाई लाग्छ। यो मेरा लागि होइन, अब आउने जेनेरेसनका लागि हो मेरो कदम,’ उनले भनिन्।

अब सम्पूर्ण युवा, सम्पूर्ण बुवाआमा, सम्पूर्ण दिदीबहिनी, सम्पूर्ण दाजुभाइहरुले हिजो जसलाई जिताउनुभयो, उसले काम गरेको छैन भने फेरि पनि उसैलाई जिताएर किन गुनासोको जिन्दगी बाँच्ने आगामी ५ वर्षसम्म ? रेखाको प्रश्न छ।

रेखा आफूलाई जनताको सेवक हुन चाहने मान्छे को रुपमा चित्रण गर्छिन्। जनतासामु राखेका प्रतिवद्धता कार्यान्वयन गर्छु, यो छोरीको वचन हो खेर जाने छैन।

रेखाको बुझाइमा राजनीति भनेको समाजको सबैभन्दा सर्वोत्कृष्ट सेवा गर्ने थलो हो। राजनीति व्यावसायिकीकरण भयो, राजनीतिमा गुण्डागर्दी, फोहोरी भएपछि त्यसलाई शुद्ध बनाउनुपर्‍यो। त्यसैले महिलाका, दलितका, पिछडिएका वर्गका आवाज उठाउनका लागि म राजनीतिमा आएको हो।यतिबेला रेखा वडा–वडामा पुगेर मतदाताहरूसँग भेटेर उनीहरुका समस्या टिपिरहेकी छिन्। रेखाले ३ नम्बर क्षेत्रको महत्त्वपूर्ण कुरा चाहिँ  स्वास्थ्यलाई देखेकी छिन्। जितेपछि  पहिलो शिलान्यास पनि त्यहीँबाट क्षेत्रबाट हुने रेखा बताउछिन्।

यहाँ कोही बिरामी भयो भने विराटनगर लगिन्छ, त्यो रणनीतिक हिसाबले हो। किनभने नेता बनिरहनुपर्‍यो, व्यापार गरिराख्नुपर्‍यो। यहाँ किन अस्पताल बनेन ? यहाँका जनता बिरामी परे भने धरान जानुपर्‍यो कि विराटनगर,रेखा भन्छिन्–, बिरामी पर्दा विराटनगर र धरान जानु नपर्ने म बनाउँछु।

पूर्वाञ्चल विश्वविद्यालयलाई संसारभरका मानिसहरूलाई हेर्न आउने बनाउनुपर्ने छ। यसले गर्दा यस क्षेत्रमा पर्यटकहहरू आउँछन्। आयआर्जन पनि बढ्छ। पर्यटकहरू आउने योजना म बनाउँछु। 

पूर्वाञ्चल विश्वविद्यालयमै डाक्टर पढ्न पाउनुपर्छ। गरीबका छोराछोरीले निजी कलेजमा गएर किन पढ्ने ? आफ्नै घरको भात खाएर थोरै खर्चमा नै डाक्टर पढ्न पाउने म बनाउँछु। 

रेखाले यहाँ बेरोजगारको कुरा आइरहेको पाएकी छिन्। युवाहरूलाई स्वदेशमै रोजगारी दिनका लागि हामी उद्योगधन्दा खोल्न सक्छौँ। म यो क्षेत्रका दिदीबहिनीलाई चुलोचौकोबाट माथि निकाल्न चाहन्छु। चुलोबाट थुतेर निकाल्छु। उहाँहरूलाई ८ घण्टा काममा लगाउन सक्छु। हामीले लामो समयदेखि महिला मुक्तिको कुरा गर्‍यौं, अब मैले जितेपछि महिलाहरूका लागि मोरङ ३ नम्बर क्षेत्र हेर्न जाऔं भन्ने बनाउँछु।

प्रकाशित मिति: : 2022-10-11 20:00:00

प्रतिकृया दिनुहोस्