बिएल संवाददाता
परराष्ट्रमन्त्री शिशिर खनालले हालैको हिमाली विपद्का बेला मानवीय सहायता र ऐक्यबद्धता प्रदान गरेकोमा चीन सरकार तथा चिनियाँ जनताप्रति धन्यवाद व्यक्त गरेका छन्।
काठमाडौंमा शनिबारदेखि सुरु भएको काष्ठमण्डप संवाद, शृङ्खला–३ अन्तर्गत ‘नेपाल–चीन सम्बन्धः सहकार्यका क्षितिजहरूको विस्तार’ विषयक कार्यक्रमलाई सम्बोधन गर्दै उनले राजनीतिक सीमाले देशहरूलाई छुट्याए पनि हिमालय र यसको पारिस्थितिक प्रणाली अन्तरसम्बन्धित रहेको उल्लेख गरे।
उनले वातावरणीय जोखिम र विपद् राष्ट्रिय सीमाभित्र मात्र सीमित नरहने भन्दै उनले साझा उत्तरदायित्व, पूर्वतयारी र क्षेत्रीय सहकार्यको आवश्यकता औँल्याए।
नेपाल–चीन सम्बन्धबारे चर्चा गर्दै परराष्ट्रमन्त्री खनालले भूगोललाई दुई देशबीचको सम्बन्धको महत्त्वपूर्ण आधारका रूपमा प्रस्तुत गरे। तर भूगोलले मात्र सम्बन्धको भविष्य निर्धारण नगर्ने उनको धारणा थियो।
नेपाल र चीनबीच सीमा क्षेत्रका समुदाय, व्यापार, संस्कृति तथा जनस्तरीय आदानप्रदानबाट विकसित शताब्दीयौँ पुरानो सभ्यतागत सम्बन्ध रहेको उनले उल्लेख गरे। उनले एक–चीन नीतिप्रति नेपालको प्रतिबद्धता दोहोर्याउँदै नेपालको भूमि चीनका वैध सुरक्षा हितविरुद्ध प्रयोग हुन नदिइने स्पष्ट पारे।
मन्त्री खनालले दुई देशबीचको परम्परागत सद्भावलाई व्यावहारिक सहकार्यमा रूपान्तरण गर्नुपर्नेमा जोड दिए।
सन् २०१९ मा स्थापित रणनीतिक साझेदारीको स्मरण गर्दै उनले सम्पर्क सञ्जाल विस्तार, सहज सीमापार व्यापार, प्रविधि हस्तान्तरण तथा साझा समृद्धिमा आधारित सहकार्यलाई थप सुदृढ बनाउनुपर्ने बताए।
चीनले प्रविधिको क्षेत्रमा हासिल गरेको प्रगतिको प्रशंसा गर्दै उनले नवप्रवर्तन, प्रयोगशाला, अनुसन्धान र ज्ञान आदानप्रदानमा थप सहकार्यको आह्वान गरे।
यस्तो सहकार्यले नेपाललाई आफ्नो जनसांख्यिक लाभांशको सदुपयोग गर्न सहयोग पुग्ने उनको धारणा थियो।
उनले सीमासम्बन्धी परम्परागत व्यवस्थापनमा पारिस्थितिक पक्षलाई समेत समावेश गर्नुपर्ने आवश्यकता औँल्याए। साझा हिमाली जोखिमको व्यवस्थापन, सम्पर्क विस्तार तथा विपद्–प्रतिरोधी सीमा पूर्वाधार निर्माणका लागि नेपाल र चीनबीच अझ निकट सहकार्य आवश्यक रहेको उनले बताए।
खनालले द्विपक्षीय सम्बन्धमा बौद्धिक तथा प्राज्ञिक संवादको महत्त्वमाथि प्रकाश पारे। उनले नेपालको शैक्षिक तथा नीतिगत बहसमा चिनियाँ अध्येता र विद्वानहरूको सहभागिता बढाउन आह्वान गरे।
निरन्तर प्राज्ञिक आदानप्रदानले आपसी बुझाइलाई गहिरो बनाएको साथै थप तथ्यपरक र परिपक्व विदेश नीति निर्माणमा योगदान पुर्याउने उनको विश्वास थियो। उनले नेपाल–चीन सम्बन्धको भविष्यप्रति विश्वास व्यक्त गर्दै साझेदारीलाई थप गहन बनाउने नेपाल सरकारको प्रतिबद्धता दोहोर्याए।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया