रिपाेर्ट

मतदाता भन्छन् : किसानकाे मर्म बुझ्ने मन सरकारसँग छैन

Breaknlinks
Breaknlinks

दाङको घोराही उपमहानगरपालिका वडा नं ५ नैनवारका वासुदेव चौधरीले व्यवसायीक रुपमा तरकारी खेती गर्न थालेको २० वर्ष बढी भइसक्यो। ०५५/५६ सालबाट तरकारी खेती गर्ने थालेका बासुदेवले अहिले आएर तरकारी खेतीलाई विस्तारै कम गर्दै लगेका छन्।

तरकारी खेती विस्तार गर्नु पर्नेमा उनी अझ कम गर्दै भैंसी पालन पेशामा लागेका छन्। अहिले घरमा खानका लागि तरकारी खेती गरेपनि पहिले जस्तो तरकारी खेतीमा नै लाग्न उनले छाडिसकेका छन्। यसरी तरकारी खेतीलाई विस्तारै कम गर्दै लग्नुका पछाडिको कारण सरका रको नीति भएको उनीसँगको कुराकानीमा बुझ्न सकिन्छ।

वास्तविक किसानलाई सरकारले चिन्न नसक्नुले किसान आफ्नो पेशाबाट पलायन हुनुपर्ने अवस्था आएको बासुदेव बताउँछन्। ‘खास किसानलाई सरकारले केही गर्दैै गर्दैन, चिन्दैन पनि,’ उनले भने, ‘अनुदानका कार्यक्रम आउँछ तर हामीलाई थाहा हुँदैन।’

अनुदानमा सरकारले ट्याक्टर बाँडेको बासुदेवले पनि देखेका छन्। अन्य अनुदानका कार्यक्रम आएको पनि थाहा पाएका छन्। तर, २० वर्ष बढी कृषि पेसामा लागेका बासुदेवलाई भने यी कार्यक्रमले छुन सकेको छैन।

‘अनुदानका कार्यक्रम आउँछ तर यहाँ ल्याएर खाइसकेपछि हामीलाई थाहा हुन्छ,’ उनले आक्रोशित हुँदै भने,‘अनुदानमा ल्याएको ट्याक्टर पुरानो भइसकेपछि गाउँमा थाहा हुन्छ।’ यी अनुदानका कार्यक्रम मात्र होइन। सरकारले कृषक लागि केही नगरेको जस्तो बासुदेवालाई लागेको छ।

दुई वर्ष कोरोना भाइरसका कारणले तरकारीबाट धेरै घाटा भयो। अघिल्लो वर्ष बेमौसमी वर्षाले धानमा क्षति भयो। तर, यति धेरै क्षति हुँदा पनि आफूहरुले सरकारबाट कुनै राहात नपाएको बासुदेवको गुनासो छ।

बासुदेवालाई जस्तै सरकारले खासै किसानका लागि केही गर्न नसकेको नैनवारकै अर्की कृषक अशोक कुमारी चौधरीलाई पनि लागेको छ। ‘दुई वर्ष कोरोनाले गर्दा काँक्रालगायत तरकारी बेच्न पाइन। तर, सरकारले केही गरेन।’ उनले भनिन्।

कोरोनाले गर्दा तरकारीमा क्षति भएका कृषकलाई सरकारले ८ सय रुपैयाँ दिएको थियो। तर, त्यही पनि झन्झटिलो हुँदा कृषकले ल्याउन पाएनन्। ८ सय रुपैयाँ पाउनका लागि बैंकमा पुगेर खाता खोल्नुपर्ने लगायतको समस्याले गर्दा उक्त रकम आफूहरुले नल्याएको कृषक अशोक कुमारीले बताइन। 

‘८ सयजति राहात पाइएको थियो। तर, पनि बैंककमा खाता खोल्ने रे। कति झन्झटिलो रहेछ,’ उनले भनिन्, ‘यहाँबाट घोराही आउँदा जाँदा नै त्यो भन्दा बढी पैसा सकिने भयो। बरु त्यो पैसा नल्याएकै राम्रो भनेर ल्याएन।’

उनले स्थानीय सरकारले कृषकहरुलाई हेर्न नसकेको बताइन। वडा तहका जनप्रतिनिधिले कृषकमुखी काम नगरेको कृषक बासुदेवको भनाइ छ। नैनावार पूर्ण रुपमा कृषि पेशामा आवद्ध रहेको गाउँ हो। यहाँका कृषकहरु तरकारी बिक्री गर्नका लागि हरेक दिन बिहान ५ बजेअघि घोराही आइपुगेका हुन्छन्।

यस्तै घोराही– ७ शुक्रवारका मनिराम चौधरी करिब १२ वर्ष ओमनमा काम गरेर फर्किए। ४७ वर्षीय मनिराम उनी फेरि कृषि पेशामा नै छन्। कोरोना महामारी आएपछि उनी घर फर्किएका हुन्। घरमा कृषि पेशाबाहेक अन्य काम नभएपछि उनी अहिले तरकारी खेती गरिरहेका छन्।

तर, तरकारी खेतीबाट अपेक्षित लाभ भने ल्याउन सकेका छैनन्। ‘घरमा खान पुगेको छ। मेहनतअनुसार लगानी उठाउन समस्या छ,’ मनिरामले भने, ‘स्थानीय सरकारले बाटोघाटो बनाइदिएर सहज त भएको छ तर बजारीकरणको समस्या छ।’

उनले पनि अहिलेसम्म सरकारबाट अनुदान ल्याउन सकेको छैन। अर्को मनिरामलाई तरकारी खेती गर्न पानीको समस्या हुने गरेको छ। शुक्रवार गाउँका अधिकांश नागरिक कृषि पेशामा नै छन्। तर, सिंचाइँ गर्न समस्या रहेको अर्का किसान दशुराम चौधरीले बताए।

नेपाल कृषि प्रधान देश हो। पछिल्लो तथ्यांकअनुसार करिब ६० प्रतिशत नागरिक कृषिमा आश्रीत छन्। देशको उन्नति र आर्थिक समृद्धि कृषिबाटै सम्भव छ भन्ने चर्को नारा नेताहरुको भाषणमा बारम्बार सुनिन्छ। तर, भाषणअनुसार काम भने हुन नसकेको कृषको गुनासो छ।

प्रकाशित मिति: : 2022-04-29 09:44:00

प्रतिकृया दिनुहोस्