खप्तड श्रृखला–२

गौँड्या भेटमा मुसुक्क मुस्कान छोडेर जाने प्रेमिकाजस्तो खप्तड

हेमन्त विवश

काठमाडाै‌ं
फोटो सौजन्य–अमृत भादगाउँले 
फोटो सौजन्य–अमृत भादगाउँले 

एकातिर धुपीका बोटहरुको सुसाहट थियो। अर्कोतिर खोल्साखोल्सीमा जमेको हिउँ टल्किरहेको थियो। खर सुकेर उदासजस्तो देखिएको खप्तडमा पाइला के टेकेको थिएँ, अर्कै अर्कै भैदियो मन।न भीडभाड न कुनै प्रकारको भाइरसको डर। स्वच्छ एकान्त प्रकृतिको काखमा पाइला टेक्दा लाग्थ्यो– कुन धर्तीमा आइपुगेँ म। उसो त योभन्दा अगाडि पनि पुगैकै थिएँ त्यो ठाउँमा। तर, हिउँदको समयको पहिलो यात्रा थियो मेरो। 

पाटनभरि चरिरहने घोडाहरु थिएनन्। गाईभैंसीका घाँडा पनि त सुनिँदैनथे। सुनिन्थे– बेलाबखत चराचुरुङ्गीका आवाज। खप्तडका फाँटमा पल्टिदै बेलाबखत हाँ..हाँ..गरेर आवाज निकाल्थे– भरतविक्रम शाह। उनको आवाजले मलाई याद दिलाइरहन्थ्यो वाल्यकालको। खुला ठाउँमा केटाकेटी जम्मा हुँदा हौसिएर त्यसैगरी आवाज निकालिन्थ्यो। 

अझै पाँच दिन चार रात बिताउनु थियो– मित्र अमृत भादगाउँले र वसन्तप्रकाश सिंहको बाटो हेरेर। कवि युगिन विवेकले पनि घोषणा गरिसकेका थिए– भादगाउँले र सिंहसँगै खप्तड पुग्न।

भादगाउँले फोनमा सोधिरहन्थे, ‘खप्तडमा हिउँ पर्ने संभावना कत्तिको छ ?’ उनी प्रतीक्षा गरिरहेका थिए– खप्तडमा हिउँ परेको खबर सुन्न। अनि क्यामेरामा सेताम्ये दृश्य कैद गरी सम्झना रुपी च्यादरमा बेर्न। 

सोचेजस्तो कहाँ हुन्थ्यो र बिहानै झुल्किदिन्थे सूर्यका किरणहरु। साँझपख चाँदनी रातको चमक बढिरहेकै हुन्थ्यो। जुनेली रात ओढेर उभिरहुँ जस्तो लाग्थ्यो खप्तडका फाँटमा। मौनतामा लजालु मुस्कान फालिरहेका पाटनहरु सजिएका हुन्थे उसैगरी। माइनस ५ डिग्री तापक्रममा कहाँ सकिन्थ्यो– धेरै बेरसम्म बाहिर उभिन।  जाडोले लुग्...लुग् काँप्दै कोठामा प्रवेश गर्न थाल्दा बजेको थियो– मोबाइलको घण्टी। हलो भन्न नपाउँदै तेस्र्याएकी थिइन् देउसराले प्रश्न–‘गोसाई इसा ठण्डीका बेला केलाई गया खप्तड ?’

बेलाबखत छोरीले सोधिरहन्थिन्– ‘बाबा कहिले फर्किनुहुन्छ ?’ आफूभित्र उत्पन्न भइरहेका प्रश्नहरुको लस्कर उस्तै थियो। जिन्दगी प्रश्नैप्रश्नको भकारी बनिदिन्छ कतिपय मोडमा। आलटाल गर्नु शिवाय हुँदैन मसँग हरेक प्रश्नको उत्तर। आखिर जिन्दगी भन्नु आलटाले यात्रा त रहेछ। टार्दै हिँड्नुपर्छ यहाँ क्षणभरमा उब्जिने र झुल्किने प्रश्नहरुलाई। 

डाँडाकाँडा, पाटन जङ्गल सबै टल्किरहेका थिए –जुनेली रातसँगै। एकान्त सुनसान रातमा फुत्तफुत्त स्यालहरु दौडिन्थे पाटनतिर। जसरी दौडिन्छन् घुस्याहाका मनमा विभिन्न योजनाका धर्साहरु। मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष रामप्रसाद उपाध्यायको कोठामा दाउरा सल्काएर सोचिरहेको हुन्थेँ जिन्दगीका व्यतित भइसकेका दिनहरु। कल्पिरहेको हुन्थँे भावि दिनका कन्लाहरु। 

पहिलोपटक पाइला टेक्दाको खप्तड त्यही थियो। त्यति बेला पाटनभरि फुलेका थिए फूलहरु। यतिखेर शीतका थोपा फुलिरहेका थिए जताततै। पानी जमेर सेताम्ये देखिन्थे खोलाहरु। जम्नु जिन्दगीको गतिहीनता हो। बग्नु गतिशील जिन्दगीको लक्षण हो। जिन्दगी गतिहीन भएर चल्दैन तर प्रकृति जस्तो अवस्थामा पनि लागिदिन्छ सुन्दर अनि मनमोहक।

गतिशील हुँदा पनि ती खोलाहरु एकनाशले बग्छन्। मान्छेको मन जस्तो घरि यता घरि उता बहकिने पन हुँदैन तिनमा। मान्छेजस्ता अधैर्य, पाखण्डी, घुस्याहा र छलकपटपूर्ण नियतका हुँदैनन् तिनीहरु। ऐतिहासिक, धार्मिक, पौराणिकताका साथै सुन्दरताको श्रीपेच पहिरेको खप्तड सुस्ताएजस्तो देखिन्थ्यो यतिखेर। मान्छेजस्तो कोरोनाले सुस्ताएको थिएन खप्तड। ऊ सुस्ताएको थियो पानी नबर्सेकोले। हिउँको बाक्लो च्यादर ओड्न नपाएकोले।

हेलिकप्टरबाट हेर्दै गर्दा अजीवको देखिन्थ्यो खप्तड। चारैतिर जङ्गलबीचमा कचौराजस्तो देखिने खप्तडको सुन्दरताले लठ्ठ परिरह्यो माउन्टेन हेलिकप्टरका पाइलटद्वय शैलेन्द्र बस्नेत र सविन लामालाई पनि। बिहानी सूर्यका किरण पाएर जसरी हिमाल मुस्कुराइरहेका हुन्छन् उसैगरी माथि आकाशबाट तल खप्तडलाई हेरेर मुसुक्क मुस्कुराइरहेका देखिन्थे दुवै जना। त्रिवेणीमा एकछिन कुराकानीका क्रममा सोधेको थिएँ– चालक शैलेन्द्र बस्नेतलाई– ‘क्याप्टेन साब, नेपालका सुन्दर ठाउँमध्ये खप्तडलाई कति नम्बरमा राख्नुहुन्छ ?’ 

एकछिन मनन् गरेर भनेका थिए उनले –‘रारा, फोक्सुन्डो अति सुन्दर लाग्छन्। त्यसपछि तेस्रो नम्बरमा खप्तड नै हो मेरालागि सुन्दर ठाउँ।’ 
प्राकृतिक सुन्दरताले भरिपूर्ण यस्ता ठाउँहरुले मन प्रफुल्ल त पार्छन् नै। सिकाइरहेका पनि हुन्छन्, मान्छेलाई जीवन जिउने कला। सुक्दै गरेका स–साना घाँसका त्यान्द्रहरु समेत हावासँग हल्लिदै बात मारिरहेका हुन्थे। खोलामा जमेको पानी सूर्यको दर्शन पाएर ओतप्रोत भई पग्ँिलदै गइरहेको हुन्थ्यो। कुनै कवि कलाकारले बुझ्दा हुन्– त्यो भाषा त्यो परिवेश। प्रकृतिको अनुपम सौन्दर्यको पान गर्ने असली मान्छे कवि कलाकार नै त हुन्। जसले मन मुटुमा खिच्छन्– तस्बीर। खन्याउँछन्– अन्तर हृदयको भाव अक्षरका साहराले।

 त्यही सुन्दरता, प्रकृतिको त्यही अजीवको पनबाट प्रभावित भएर होला साँझपख छेउको बेडबाट सोधिरहन्थे साइकल यात्री भरतविक्रम शाहले केही प्रश्न। जसको जिन्दगी लोभलाग्दो र इष्र्या गर्न लायक छ। निकै नै रसिक छन् उनी। मध्य तथा सुदूरपश्चिमको पर्यटन प्रवर्धका लागि साइकल यात्री बनेर लागिपरेका सहनशील, मृदुभाषी प्यारा मान्छे हुन् उनी।

एक साँझमा निकै नै जटिल र रहस्यात्मक मानिने अधैर्य प्राणी मान्छेलाई कसरी चिन्ने भन्ने प्रश्न सल्बलाएछ। उनको मनमा र सोध्न थाले, ‘यो मान्छे भन्नेलाई कसरी चिन्ने ?’येनकेन प्रकारले टालटुल पारे उनको प्रश्नलाई। अनि सम्झेँ मुगुका कल्छे नेपालीले सुनाएको डेउडा गीतलाई ः

जतरा पिनेकी मान्छे घट्ट पिनौली क्या 
को कसा छन् को कसा छन् मान्स चिनौली क्या 

संसारमा सबैभन्दा खतरनाक प्राणी नै मान्छे हो। यसलाई मजस्ताले सजिलैसित चिन्न कहाँ सक्नु र ? छेपारोझैं रंग फेरिरहन्छ मान्छे। अन्याय अत्याचारका पर्खाल ठड्याइरहने, अवसरको खेती गर्न सदा तल्लीन रहने एक अधैर्यशील प्राणी न हो– आजको मान्छे। निकै बेर गहिरिएर सोचिरहन्थेँ भरतको प्रश्न झ्यालबाट हेर्न खोज्थेँ खप्तडका पाटनतिर। हल्लिरहेका रुखका हाँगाहरुतिर। लाग्थ्यो बतासले ती वृक्षका हाँगाहरु हल्लाएजस्तै हल्लाइरहेकै त छन् जिन्दगीलाई। कतै अरुले सोधेका त कतै आफैंभित्र उब्जिने कठिन प्रश्नहरुले। कतै परिस्थितिले, कतै भावुकताले कतै धोकाधडीले अनि यो देशको राजनैतिक परिवेशले। हरेक गौडाहरुमा हल्लाई दिन्छन् जिन्दगीलाई सबैभन्दा बढी तिनैले जो खप्तडका पाटनझैँ बस्छन् मन–मस्तिष्कमा र छोडेर जान्छन्। जिन्दगीको लय खोज्न मनको शान्ति भेट्न पुग्थे। उहिले लोककविहरु यस्तै अनुपम सुन्दरताको पगडी पहिरिएको ठाउँतिर र खन्याउँथे– हृदयका भरिभराउ गाग्रीहरु। यतिखेर आइदिन्छ सम्झनामा कुनै लोक कविले आफ्नी प्रेमीकालाई सम्झेर सिर्जना गरेका यी पंक्ति :

खेल्ले भे (भए) खप्तड आएइ पढ्ने भे काँशी जा (जाऊ) 
काँ छै मेरा लाइपिरता मुसुक्क हाँसि जा

खप्तडका पाटनमा डेउडा खेल खेल्न निम्तो दिन्छन् कवि। हृदयमा उत्पन्न तरङ्गलाई तिनै पाटनमा खन्याउन चाहने कविले प्रेमिकाका रुपमा प्रकृतिलाई समेत चुनेको आभाष दिलाउँछ यो गीतले। गौँड्या भेटमा मुसुक्क मुस्कान छोडेर जाने प्रेमिकाको जस्तो मुस्कान खोजिरहन्छन् उनी। आफ्नी प्रेमिकालाई सीधै सम्बोधन गर्न नसकेर आलटाल गर्दै सम्झेजस्तो भाव व्यक्त गरिदिन्छन् कवि गीतका माध्यमद्वारा। विभिन्न किसिमका फूलहरू फुल्दा बुट्टेदार गलैँचाजस्तो देखिने सुन्दर पाटनहरू भएको खप्तड एउटै ढुङ्गामा अवस्थित छ। धार्मिक, ऐतिहासिक र पुरातात्विक हिसाबले निकै नै महत्व राख्ने क्षेत्र हो खप्तड। 

त्रिवेणीधाम, सहस्रलिङ्ग, केदार ढुङ्गा, बाबाको आश्रम, खप्तड दह, नागढुङ्गा, घोडा दाउने पाटन, खप्तड कालिका, भीमघट्ट, हरिनाचडी, जेठीबौरानी जस्ता केही आकर्षक ठाउँहरूले झनै लोभ्याउछन् यात्रीहरूको मन। यिनै कुरालाई हृदयङ्गम गरी आध्यात्मिक सोच बोकेका लोककविले रचे होलान्– यी पंक्ति :

विश्वकी जननी हुन् कि खप्तडकी कालिका 
बाजुरा वैकुण्ठ रैछ धन्य हो मालिका



खप्तडसँग मुस्कान साटी चिलगाडी उडाएर फर्के क्याप्टेन लामा 

खप्तड पुग्न हेली टुर  (फोटो फिचर)



 

प्रकाशित मिति: : 2021-02-12 19:54:00

प्रतिकृया दिनुहोस्