फिलिपिन्समा आठ महिनामा डेङ्गु रोगीको संख्या एक लाख ८८ हजार पुगेको स्वास्थ्य विभागले जनाएको छ ।
विभागका अनुसार डेङ्गुकै कारण ८ सय ७ जनाको मृत्यु भएको छ । विभागले यस वर्षको जनवरी १ देखि अगस्ट ३ सम्मको अवधिमा एक लाख ८८ हजार ५ सय ६२ जनामा डेङ्गु रोग भेटिएको विवरण संकलन गरेको छ ।
गत वर्षको यही अवधिमा ९३ हजार १ सय ४९ जना डेङ्गुका बिरामी फेला परेका थिए । डेङ्गुका बिरामी दोब्बरले वृद्धि भएको फिलिपिन्समा सन् २०१८ को तुलनामा मृत्यु भएकाको संख्या पनि झण्डै दोब्बरले वृद्धि भएको छ ।
गत वर्ष ४ सय ९७ जनाको डेङ्गुकै कारण मृत्यु भएको थियो । स्वास्थ्य सेवा विभागले फिलिपिन्सका मध्य र दक्षिणी क्षेत्रमा डेङ्गुको महामारी देखिएको जनाएको छ ।
विभागले डेङ्गुबाट बिरामी हुनेहरुमा सबैभन्दा बढी पाँचदेखि नौ वर्ष उमेरका बालबालिकामा देखिएको जनाएको छ । यो उमेर समूहमा करिब २३ प्रतिशत बिरामी देखिएका छन् । स्वास्थ्य मन्त्रालयका उपसचिव एरिक डोमिङ्गोले डेङ्गुका बिरामीको संख्या निरन्तर वृद्धि भइरहेको जानकारी दिए। उनले डेङ्गु रोग फैल्याउने लामखुट्टेको बासस्थान नष्ट गर्न र सफाईमा विशेष ध्यान दिन आग्रह गरे। गत अगस्ट ६ मा फिलिपिन्स सरकारले डेङ्गुको महामारी देशव्यापी रहेको भन्दै संकटकाल घोषणा गरेको थियो ।
स्वास्थ्य सेवा विभागले वर्षादको मौसममा आगामी अक्टोबरसम्म लामखुट्टे धेरै बढ्ने भएकाले डेङ्गु फैलन सक्ने भन्दै थप सतर्कता अपनाउन सर्वसाधारणलाई आह्वान गरेको छ।