विश्वमा लागूऔषधको प्रयोग र त्यसको कारोबार तिब्र रूपमा बढिरहेको छ। प्रत्येक वर्ष लागूऔषध सेवनकर्ता बढ्दै गएका छन्। त्यसको असर नेपालमा पनि राम्रै परेको छ। उपत्यकासहित देशैभरी लागूऔषध प्रयोगकर्ताको संख्या भयाबह छ।
शनिबार मात्र इटहरीबाट नेपाली सेनाका मेजर लागूऔषध ब्राउनसुगरसहित पक्राउ परे।
पक्राउ परेका मेजर लागूऔषध कारोबारी नभएर प्रयोगकर्ता भएको हुनसक्ने अनुसन्धान अधिकारीको अनुमान छ, यद्यपी अनुसन्धान जारी छ।
सुरक्षा निकाएका अधिकारी, डाक्टर इन्जिनियरदेखि सामान्य ब्यक्तिमा लागूऔषध प्रयोगको मोह बढ्न थालेको छ। लागूऔषधको प्रयोगको बढ्दो ग्राफलाई समाजलाईनै चिन्तित पारेको छ।
नेपाल प्रहरीको एक तथ्याकङ्क अनुसार नेपालमा पछिल्लो वर्षको तुलनामा लागूऔषध प्रयोग र कारोबार १० प्रतिशतले बढेको देखिन्छ।
लागुऔषध कारोबार र सेवनलाई निरूत्साहित गर्न प्रहरीले समुदायसँग मिलेर विभिन्न कार्यक्रमहरु गर्दै आएको छ। तर,प्रहरीले सोचेअनुसारको रिजल्ट दिन सकेको छैन।
लागूऔषध कारोबारको न्यूनीकरण गर्न प्रहरी एक्लैले मात्र नहुने भन्दै त्यसमा समुदायका हरेक क्षेत्रको भूमिका रहेको प्रहरी अधिकारीहरू बताउँछन्।
लागूऔषध प्रयोग र कारोबारको न्यूनीकरण गर्न हामी गम्भीर भएर लागेको भए पनि भने अनुसारको रिजल्ट आउन नसकेको नेपाल प्रहरीका प्रवक्ता डीआईजी विश्वराज पोखलेले भने।
‘प्रहरी एक्लैले गरेर हुने होइन, प्रहरीले त आफ्नो ठाँउबाट गरेकै छ, यसलाई रोकथाम गर्न समाजमा हरेक क्षेत्रको भूमिका उत्तिकै हुन्छ,’ उनले भने।
प्रहरीको तथ्याङ्क अनुसार गएको आर्थिक वर्षमा उपत्यकालगाएत देशभर झन्डै ११ प्रतिशतले लागू औषध प्रयोगकर्ताको संख्या वृद्धि भएको छ।
लागूऔषध नियन्त्रण व्युरोका अनुसार, नेपालमा करिब एकलाख ५० हजार लागूऔषध दुव्र्यसनीहरु रहेको अनुमान गरिएको छ । भारतसँगको खुला सिमानाका कारण लागूऔषध नियन्त्रण जटिल समस्या बन्दै गएको हो ।
लागूऔषध व्युरोले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार, एकलाख ५० हजार लागूऔषध दुब्र्यशनीहरुमध्ये ५२ प्रतिशत १५ देखि २४ वर्ष उमेर समूहको रहेका छन् । ४२ प्रतिशत २५ देखि ३४ वर्ष उमेर समूहका छन् ।
त्यस्तैं, बाँकी छ प्रतिशत ३५ वर्षभन्दा माथिको उमेर समूहका छन् । शैक्षिकस्तरको आधारमा २८ प्रतिशत दुव्र्यसनीहरुको शैक्षिक योग्यता एसएलसीभन्दा कम, २२ प्रतिशत एसएलसी उत्तीर्ण र ३१ प्रतिशत ११/१२ तथा स्नातकसम्म अध्ययनरत छन् ।
आर्थिक वर्ष २०७४/७५ मा उपत्यकामा मात्र ३ हजार ८८ वटा मुद्दा प्रहरीमा दर्ता भएका थिए। त्यस्तै २०७५–७६ मा ३ हजार ३ सय ५७ वटा मुद्दा दर्ता भएका छन्।
उपत्यकाभित्र जेलको तथ्याङ्क हेर्ने हो भने सबैभन्दा धेरै लागूऔषध सम्बन्धी मुद्दाका थुनुवा जेलमा छन्।
क्षमताको हिसाबले देशका ठूला कारागार भनिएको केन्द्रीय कारागार सुन्धारा, डिल्लीबजार कारागार र नख्खु कारागारमा अहिले लागूऔषध मुद्दामा १ हजार २ सय ३१ जना थुनामा रहेका छन्।
जसमा सेवनकर्ताको सङ्ख्या कारोबारीको तुलनामा झन्डै दोब्बर रहेको छ।
सात सय ६८ जना सेवनकर्ता थुनामा रहँदा ३४८ जना लागु औषधी कारोबारी जेलमा छन्।
कारागार ब्यवस्थापन विभागका अनुसार केन्द्रीय कारागार सुन्धारामा २५ सय कैदी बन्दी छन्। यीमध्ये ७ सय ३० जना लागूऔषध मुद्दामा रहेका छन्। ३ सय ३९ जनाको फैसला भइसकेर कैद सजाय सुनाइएको छ।
बाँकी ३ सय ९१ जना पूर्पक्षका लागि जेल पुगेका थिए। यसरी थुनामा रहेका मध्ये ५ सय ५० जना सेवनकर्ता हुन्।
१ सय ८० जनालाई बेचबिखनमा थुनिएको हो। ४९ जना विदेशी सेवन र कारोबारीका रूपमा जेलमा छन्।
केन्द्रीय कारागारमा पुरुष मात्र होइन महिलाको पनि सङ्ख्या उत्तिकै देखिन्छ। ८२ जना महिला लागूऔषध मुद्दामा जेलमा छन्। जसमा सेवन कर्ता ४९ र कारोबारी १३ जना छन्।
१९ जनाको फैसला भइसकेको छ भने बाँकी अदालतको निर्णय कुरेर बसेका हुन्। यसरी कारागारमा रहनेमा २० जना विदेशी महिलासमेत छन्। ‘युवा पुस्तालाई यसले नराम्रोसित गाँजेको छ।
जनचेतनाको अभावले पनि लागूऔषध सेवनकर्ता बढीरहेको लागूऔषध नियन्त्रण व्यूरोका एसएसपी वसन्त लामाले बताए।
त्यस्तै डिल्लीबजार कारागारमा ६ सयभन्दा बढी कैदी बन्दी रहेका छन्, जसमा ९० जना लागूऔषध मुद्दामा थुनामा पुगेका हुन्।
त्यहाँ पनि सेवनकर्ताको कमी छैनन्। ३२ जना सेवन गरेको मुद्दामा जेलमा छन्। ९० जना मध्ये ४८ जनाको मुद्दा फैसला भइसकेर कैद सजाय तोकिएको छ। २ जना विदेशीसमेत रहेका छन्।
ललितपुरको नख्खु कारागारमा १३ सय जना थुनुवा छन्। ३ सय २९ जना लागूऔषध मुद्दामा थुनामा रहेका छन्। लागूऔषध कारोबारीभन्दा ५५ जनाले बढी सेवनकर्ता रहेका छन्। विभागको तथ्याङ्क अनुसार १ सय १५ जना लागु औषध कारोबारी रहेका छन्।
नख्खुका कैदीमध्ये अदालतबाट ७३ जनाको फैसला भइ कैद सजाय सुनाइसकिएको छ। ४४ जना विदेशी समेत रहेका छन्।
कारोबारीमध्ये करिब ५७ प्रतिशतले सुई तथा सिरिन्जको माध्यमबाट लागूऔषध प्रयोग गर्ने गर्छन् । युवा लागूऔषधको कुलतमा फस्नुमा साथीसंगीका अतिरिक्त अभिभावकको हेलचेक्र्याइँ र भारतसँगको खुला सिमाना भएको दावी प्रहरीको छ ।
प्रहरीले लागूऔषध ऐन २०३३ लाई टेकेर मुद्दा चलाउँदै आएको छ।
हाल, विश्वमा १४ करोड लागूऔषध दुव्र्यसनीहरु रहेको अनुमान गरिएको छ । बर्सेनि दुई लाख ५३ हजार ब्यक्तिहरुको लागूऔषध दुव्र्यसनका कारण मृत्यु हुने गरेको छ । मदिरा, खैनी, चुरोटसँगै गाँजा, चरेश, हिरोइन, अफिम, औषधिजन्य लागूऔषधको बढी प्रयोग हुने गरेको छ ।
गाजा, चरेश र अफिमबाहेक अन्य लागूऔषध अन्य मुलुकबाट नेपाल आउने गरेको छ । लागूऔषध प्रयोगकर्तामा प्राणघातक रोग एचआईभी÷एड्स, क्षयरोग टीबी, हेपाटाइटिस बी र सीको समस्या देखिने गरेको छ ।
त्यस्तैं, लागूऔषध दुव्र्यसन गर्नेहरुमध्ये नेपालमा करिब ८० प्रतिशतमा एचआईभी एड्सको सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले लागूऔषध दुरुपयोग तथा ओसारपसारविरुद्धको जनचेतनामूलक दिवसमा सबैलाई सहभागी हुन आग्रह गरेको छ ।