शुक्रबार, १९ सेप्टेम्बर २०२५

नारायणकाजीकी सहयाेगी सुसनले भेटिन् प्रधानमन्त्री, ओलीले भने, ‘प्रचण्डसँग कुरा गर्नुस्’

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाै‌ं
फाइल तस्वीर
• • •

प्रधानमन्त्री केपी शर्मा ओलीले याम्बलिङ हाइड्रोपावर र नेकपाका दिवंगत नेता कमानसिंह लामा र प्रवक्ता नारायणकाजी श्रेष्ठबीचको विवादमा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग कुरा गर्न सुझाव दिएका छन्।

सुसन कर्माचार्य श्रीमान र छोरीसहित आइतबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटार पुगेकी थिइन्।

उनले भेटमा लामाबीचको विवादलाई लिएर आफ्नो परिवारको चरित्र हत्या गर्न खोजिएको भन्दै प्रधानमन्त्री ओलीसँग गुनासो गरेकी थिइन्।

कर्माचार्य नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठको प्रमुख सहयोगी हुन्। उनी याम्बलिङ हाइड्रोपावरको अध्यक्षमा छिन्।

‘भेटमा प्रधानमन्त्री ओलीले लामाले यसबारे आफूसँग पनि कुरा गरेको तर यो आपसी विषय भएकाले मिलेर सल्टाउन र नेकपाका अर्का अध्यक्ष प्रचण्डले केही सहयोग गर्न सक्ने भए त्यता कुरा गर्न सुझाव दिनुभयो,’ उनका पति लक्षमण कृष्ण राजभण्डारीले भने।

लामाको निधन भएपछि हाइड्रोपावर र लामा परिवारभित्रको विवाद मिडियाहरुमा आएका थिए। साथै एकअर्कालाई मिलाउन भूमिका खेलेका श्रेष्ठलाई पनि यो विवादमा मुछिएको छ।

तर प्रधामन्त्री ओलीले हल्लाको पछि नलाग्न सुझाव दिएको राजभण्डारीले जानकारी दिएका छन्।

राजभण्डारी लेख्छन्, ‘साथै उहाँले नेपालमा यस्ता नामै नसुनेका अनलाइनहरुले जे पनि लेख्छ यसको पछि लाग्नु हुँदैन, गल्लीमा कुकुर भुकिरहन्छ, कुकुरले भुक्यो भन्दैमा कुकुरको पछाडि लाग्ने होइन, आनन्दले विना टेन्सन हिँडिरहनुपर्छ भनेर सम्झाउनु भयो।’

नारायणकाजी र कमानसिंहको भिडियो प्रकरण

कमानसिंह र नारायणकाजीवीच करोडौं रुपैयाँको कारोबारबारे कुराकानी भएको त्यसमा देखिएको थियो। र, यो विषयलाई लिएर नारायणकाजीमाथि चर्को आलोचना हुन थालेको छ।

नेकपाका प्रचण्डले पनि प्रवक्ता श्रेष्ठलाई अनावश्यक रुपमा मुछेको भन्दै आक्रोश व्यक्त गरेका थिए।

उनले श्रेष्ठको चरित्र हत्या हुने गरि लामा र हाइड्रो पावर सम्बन्धी विवादमा प्रचार गरिएको आरोप लगाइएको छ। 

यसअघि नै श्रेष्ठले लामाले सञ्चालन गर्ने योजना बनाएको प्रोजेक्टमा देखिएको विवाद समाधान गर्न आफूले प्रयास मात्रै गरेको बताएका थिए।

यही कुरा दोहर्‍याउँदै अध्यक्ष प्रचण्डले लामा र हाइड्रोपावरको विवादमा प्रवक्ता श्रेष्ठले मिलाउने भूमिका खेलेको भन्दै अनावश्यक प्रचारको भ्रममा नपर्न र यसमा नलाग्न आग्रह गरे।

मिडियामा सार्वजनिक भएको अडियो-भिडियोमा पूर्वराजदूत लामा र हाइड्रो व्यवसायीसमेत रहेकी श्रेष्ठकी स्वकीय सचिव कर्माचार्यबीच आर्थिक लेनदेनसम्बन्धी विवाद रहेको र सो विवाद मिलाउन नारायणकाजीले मध्यस्थता गर्न खोजेको देखिन्छ।

नेकपा नेता लामाले आफ्नै अध्यक्षता आर्थिक वर्ष ०६४/०६५ मा याम्बालिङ हाइड्रो प्रालि नामक कम्पनी खोलेका थिए। उनले सिन्धुपाल्चोकमा ७ मेगावाट बिजुली निकाल्ने प्रजेक्टको लाइसेन्स समेत लिएका थिए।

तर, कानूनले तोकेको समयमा लामाको कम्पनीले विद्युत उत्पादन प्रक्रिया अगाडि बढाउन सकेन र लामा परिवार ऋणमा डुब्यो। 

अन्ततः २०७५ साल फागुन २४ गते शुक्रबार कमानसिंह लामाको याल्बालिङ हाइड्रो कर्माचार्य अध्यक्ष रहेको मनीप्लान्ट इन्भेष्टमेन्ट प्रालिले लियो।

कम्पनी रजिष्टारको कार्यालयमा रहेको ०७५ साउन ७ मा प्रमाणित श्रेस्ता अनुसार प्रतिसेयर १०० का दरका निम्नअनुसारका सेयरहरु कित्ताहरु दोस्रो पक्षमा नामसारी गर्ने लामाले करारानामा गरिदिए।

सेयरको लागत रकम ७ करोड ६४ लाख, १६ हजार ९०० रुपैयाँ प्रमाणित भएको थियो। यसमध्ये इन्द्रमायाको शेयरकित्ता मध्येबाट २ करोड ५० लाख रकम बराबरको २ लाख ५०  कित्ता शेयरको सुसनको कम्पनीका नाममा नामसारी गरिदिने अध्यक्ष लामाले ०७५ फागुन २४ मा लिखित सहमति दिएका थिए। सुसन र लामाले हस्ताक्षर गरेको यो करारनामामा कमानसिंहकी श्रीमती इन्द्रमाया तामाङले साक्षीका रुपमा हस्ताक्षर गरेकी थिइन्।

हाइड्रो कम्पनीको मुख्य सेयर सुसनलाई २ करोड ५० लाखमा बेचिसकेपछि लामा र इन्द्रमायासहित पुराना सबै शेयरधनीहरुको शेयर ३० प्रतिशत कायम रहेको देखिन्छ भने ७० प्रतिशत सुसनको कम्पनीले लिएर हाइड्रो प्रोजेक्टलाई अगाडि बढाउन खोजेको करारनामामा देखिन्छ।

०७५ फागुन २१ सम्मको अडिट वित्तीय विवरण अनुसार कम्पनीको इक्विटी र दायित्व ८ करोड ८५ लाख ३० हजार ३२५ देखिएको थियो।  कम्पनीको चुक्ता पुँजी ७ करोड ६४ लाख १३ हजार ९०० देखिएको थियो।

फागुन २४ देखि कम्पनीको नाफा घाटा, ऋण धन सबैको जिम्मा सुसनको कम्पनीले लिन मञ्जुरी गरेको थियो। सञ्चालक समितिको पुनर्गठन गर्न र सुसनलाई अध्यक्षको जिम्मेवारी दिन लामाले सहमति जनाएका थिए।  समितिमा पुरानो टीमका शेयरधनीहरुको प्रतिनिधित्व इन्द्रमायाले गर्ने लामाले कागज गरिदिएको देखिन्छ।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!