यात्रा स्मरण

जन्मभूमि दमेकको सम्झनामा

BreaknLinks
BreaknLinks

२०७६ साल चैत्र १३ गते, दिउँसो १ बजे हाम्रो बस कुस्मा नपुग्दै पातिखोलामा रोकियो। बाहिरको मौसम अद्भुत घमाइलो थियो। मौसम बिग्रेर कतै बाबु-छोराको यात्रा प्रभावित होला भन्ने डरले मन आक्रान्त थियो। तर हाम्रो यात्रालाई मौसमले रुचिकर रुपमा साथ दिने संकेत दियो।

हामी पातिखोलाबाट देउराली जाने जीपको खाेजीमा थियौं। पातिखोलाको किनारमा रहेको एक किराना पसलका मालिकलाई सोधेँ, ‘देउपुर जाने बाटो कुन होला हजुर?’ साहुजीले उत्तर दिए, ‘ऊ त्यो जीप हो। दिउँसो ३ बजेतिर जान्छ होला।’

त्यही पनि निधो गर्नलाई बाग्लुङमा भएका कान्छा भान्जा सूर्यलाई म्यासेन्जरमा कल गरेँ। ‘खै मामा फोन ड्राइभरलाई दिनु त, तपाईं अल्मलिनुहुन्छ होला। म आफैँ ऊसंग कुरा गर्छु।’ मैले जीपको ड्राइभर नजिक पुगेर मेरो फोन दिएँ। बेलुका ७ बजे प्रकाश र म जीपले उडाएको मलिलो प्रसाद खाँदै देउराली पुग्यौँ।

शरीरबाट धुलो झार्यौं र दिउरालीको स्कुल तल भएको एउटा घरमा पुगेर चन्द्रा दिदीको घर सोध्यौँ,' नमस्कार हजुर! हामी चन्द्रा दिदीलाई भेट्न आएका, ठुला भान्जाको नाम दयाराम चापागाईं हो।’ मल खन्दै गरेका एक जना अधवैंशेले जवाफ दिए, ‘यता दयाराम धेरै छन्, अम्रिका वाला हुन्?’ ‘हो हजुर',मेरो जवाफ सुन्ने बित्तिकै उनले ‘ऊ त्यो घरभन्दा तल्लो’ भनेर देखाइदिए। हामी बाउछोरा ‘धन्यवाद' दिँदै ती मान्छेले दिएकाे संकेततिर लाग्यौँ।

दिदीलाई मैले बालककालमै देखेको थिएँ तर अनुहारको अलिअलि मात्र याद थियो। फलेबास कमलेबजार नजिक बस्ने मेरो ठुलो बुबा तिवारी हुन्। म सानो छँदा अम्चुर लिन बुबासँग २/३ पटक कालीपार (फलेबास) गएको थिएँ। त्यतिबेला दिदीलाई ११/१२ वर्षकी हुँदा देखे हुँला। मेरी ठुलियाँ बस्ने आधा घर र आधा कटेरोको मलाई अझै सम्झना छ। त्यसको तल ठुलाबा, दाइहरु र अर्की ठुलियाँ बस्थे। 'ठुलियाँलाई छोरा नभएकोले ठुलाबाले अर्की ठुलियाँ ब्या गरेका हुन्' आमाले त्यो भनेको मेरो सम्झनामा हिजो हो कि जस्तो लाग्छ।

बाल मस्तिष्कमा बसेकी मेरी दिदीको सम्झनाले मलाई बेलाबेलामा देउपुर जान उत्प्रेरित गरिरहन्थ्यो। यो पटक भने मेरो दिदी भेट्ने सपना साकार भयो। बेलुका दिदी भिनाजुसंग धेरै थरी गफ भए। दिदीभाइ विगतको कहालीलाग्दो समयको अन्तराललाई सम्झेर कतिखेर कतिखेर धोराक्किन्थ्यौँ। फेरि ठुलीआमासंगको सम्झनामा भावविह्वल हुन्थ्यौँ

 मैले आमाका बात्सल्यको स्मरणमा ठुलीआमा सम्झेर, दिदीले आफ्नी आमाको बात्सल्यको स्मरणमा सानीआमा सम्झेर भाव विह्वल हुँदै धेरै बेर रोयौँ। स्वर्गीय तर हाम्रो हृदयमा बाँचेका आमाहरुलाई आँशुले श्रद्धाञ्जली दिँदै गर्दा प्रकाश ट्वाँ परेर हेर्दै थियो भने भिनाजुको अनुहार दिदीभाइको संतापिलो बसाइले बढी सकेर झुक्न लागेको बाँसझैँ घुँडामा टाउको टेकाएर तल झुकेको थियो।

भोलिपल्ट बिहान १० बजेतिर पैदल पातिचौर झर्यौं र मिनिबस चढेर खरेहाको रातो गेटनेर झर्यौं। बाटोभरि दिदीसंग बिदा हुँदाको अनुहार सम्झेँ। दिदीको सासुआमा, भिनाजु र दिदीले हामी माथि आउँदासम्म हेरिरहेको दृश्य मानसपटलमा आइरह्यो। दिदीको लागि हाम्रो त्यो पूर्वजानकारी बिनाको भेटले कस्तो असर गर्यो कुन्नि तर मेरो मन भावविह्वल भइरह्यो।

खरेहा कान्छी फुपू तीन वर्ष अगाडि क्यान्सरले बित्नुभएको थियो। गेटबाट तल झर्दै गर्दा फुपूको सम्झनाले अत्यायो। मलाई देखेपछि फुपू खुशीको आँसु आँखाको डिलसम्म झारेर वरसम्म लिन आउनुहुन्थ्यो। बिदाइमा परसम्म पुर्याउन जानुहुन्थ्यो। अहिले त्यो पुरानो परिदृश्य केवल सम्झनामा मात्र छ। प्रकाशलाई यो सबै बताउँदा ह्वात्तै मन भरिएर आयो र झण्डै रोइनँ। आँसुभित्र फर्कन मानेन र मेरी फुपूको बोलावटको झझल्कोलाई आँखाको डिलमा बसेर हेरिरहे। सम्झनाको अनुभूति कति निर्मम हुन्छ भनेर मैले चाहेर पनि बाबुलाई भनिनँ।

फुपूको घरको डिलमा पुग्दा नपुग्दै साइलो भाइ बाहिर निस्कियो। माइलो भाइ पनि वरबाट गयो। केहीबेर दुखसुखका गफ भए अनि हामी गफिँदै मोदीको शिरमा भएको कान्छो भाइको घरमा पुग्यौँ। बुहारी शान्तिसंग भलाकुसारी भयो। खाना पनि खाइयो र पुन: फर्केर आउँदा एकरात बस्ने भनेर बाचा गर्दै शान्तिसँग बिदा भयौँ।

मोदीबिनी नदीका सुसेलीलाई सुन्दै र निलो नदीको रंगमा भावनाको गाढापनले मनलाई ओसिलो बनाउँदै प्रकाश र म कुश्मा निस्कियौँ। चन्द्रा दिदीको छोरी देवी भान्जीलाई भेटेर कुश्मा बजार बीचबाट चिर्दै कैयाको पुल छेउ पुग्यौँ।

पर्वत जिल्ला र बाग्लुङलाई जोड्ने एकसय ३५ मिटर अग्लो झोलुंगे पुल नेपालको सबैभन्दा अग्लो पुल मानिन्छ। बाग्लुङ र पर्वतको सिमा छुट्ट्याएर बग्ने काली गण्डकीलाई धरातल माथिबाट जोड्ने यो पुललाई कैयाको पुल भनिन्छ।

हामी आँफु तलको फलामे बाटो भुलेर आकाशबाट बलेवा निस्केर जमिनलाई छोयौं। मैले प्रकाश बाबुको अनुहार हेरेँ, उसको अनुहार यति अग्लो पुलमाथिबाट क्षितिज छिचोलेकोमा नयाँ अनुभूतिले उज्यालिएको थियो। पुल छोडेर न्याउली चरीको एकोहोरो आवाजले बिरक्त हुँदै सेरा पुग्यौं।

कुश्मी सेराको बजार अहिले माथि भन्दा पहिले स्कुल र मेल भएको स्थानमा विस्तार भएछ। त्यो बजार देख्दा म नाबालक हुँदै बाबाका एकहुल मलामीहरुको बीच कपाल खौरेर क्रिया पुत्रीको रुपमा जैमिनिघाट पुगेको सम्झेँ। विद्यार्थीकालमा निकालेको एक पुस्तक विमोचन गराउन तात्कालीक शिक्षामन्त्री गोविन्दराज जोशीलाई कुश्मी शेरा गएर भेटेको र पुस्तक विमोचन गराएको सम्झेँ। त्यो बजारसंग मेरा धेरै स्मृतिहरू रहेछन्, जसले त्यो बाटोभरी मलाई नरोकिइकन हिँड्न दिँदैनथे।

मैले केही आवश्यक स्मृतिहरु मेरो छोरालाई बताउनु थियो, बताउँदै सेराको पुल तरी ओड्डाँडाको फेदी पुग्यौँ।त्यो जमिन टेकेपछि धेरै कुराको सम्झनाले मेरो मनलाई पखालिरह्यो। मैले त्यहाँ देखेका मान्छेहरु आफ्नै जस्ता लाग्न थाले।

सेराको फेदीबाट सिधै माथि मेरा आदरणीय भान्जाबुबाको घर, त्यही घरमा बस्थ्यो हाम्रो हरि भाइ। मलाई बालककालमा भात पकाएर खुवाउने जेठी आमा। मेरो हजुरआमाले बर्षेनि मलाई आफ्नो भानिजकहाँ बाउसे गर्न पठाउनुहुन्थ्यो। म त्यस्तै ११ /१२ वर्षको हुँदाबाट काउले भान्जा बुबाकोमा जेष्ठको दोस्राे हप्ताबाट काम गर्न जान्थेँ। घर फर्किँदा एक बोरा हरिया मकै लिएर फर्किन्थेँ। भानिजबुबा आसामका जागिरे भएकोले प्राय देख्न मुस्किल हुने।

हरि भाइसंग मकै भाँच्ने, खेतमा पानी लगाउने र दिनभर रोपाइँमा सघाउने गरिन्थ्यो। १५ दिन जति काउले हरि भाइकोमा बसेर असारको पहिलो हप्ता बनहुँको हाम्रो घर फर्किन्थेँ। आफ्नो भान्जालाई सघाएर आएकोमा हजुरआमा खुशी, बुबाआमा पनि खुशी र बैनीहरुलाई एक भारी हरिया मकैले फुर्मान बनाउँथ्यो।

अब पाइलै पिच्छे किशोरकालको सम्झनाले मेरो मथिंगल हल्लाउँदै गयो। हरि भाइहरु काउलेबाट वडडाँडा बसाइ सरेपछि पनि म सानो छँदा त्यो नयाँ घरमा धेरै रात सुतेको छु। ती पाखाहरुमा धेरै पटक तिजुका पात बजाउँदै काउलेबाट ओड्डाँडा झरेको छु। ती सबै सम्झनाहरु मुर्छाबाट ब्युझिँदै गए।

‘बाबु अब सुरु भयो दमेक, जहाँ म बालक छँदा घुम्थेँ, घुर्थें र पसिना बगाउथेँ। अब देखाउँदै जान्छु।’ बाबुले अज्ञानताले निस्लोट हुँदै मेरो अनुहार मात्र हेर्यो। ‘बाबा,रौसीको कमाल हेर्नु त !’ मैले फेदीको भट्टीबाहिर हेरेँ, त्यहाँ एक मान्छेले रक्सीको सुरमा अर्का वृद्ध व्यक्तिलाई गिजोली रहेको थियो। बुढा अलिक माथि उक्लिएर त्यो जँड्यालाई गाली गरे। उसले बेसुरमै माफी माग्यो।

‘बुबा कता जाने हो?’ मेरो सोधाइमा उहाँले ‘दराउदी जाने हो, बाबु भत्ता बुझ्न सेरा आएको। जीप आएको छैन’ उत्तर दिनुभयो। वृद्धले त्यति भनि सकेर हाम्रो परिचय सोध्नुभयो। मैले उहाँलाई सबै बताएँ। ‘दराउदी गैह्राघरे जेठो बुबा हुनुहुन्छ। उहाँ मेरो हजुरआमाको माइती भतिज। आज त्यहीँ बसिन्छ होला। संगै जाउँ हिँडेर! खै जीप आउने छाँट छैन।’ ‘ए बनहुँ अम्माई भान्जाको छोरा! ल हिंड तनि' उहाँको जवाफले हामीले सँगै जाने साथी भेटाएकोमा राहत महसुस गर्यौं।

हामी गफिँदै तीन जना हरि भाइको घरसम्म आयौँ। दराउदी दुइदैले हजुरबा र हामीले केहीबेर गफिँदै हरि भाइकोमा चिया पियौँ। मैले भावावेशले होला धेरै गफ गर्न सकिनँ। हरि भाइको पनि मन धमिलिएर होला, दाइ आज यतै बसम है मात्र भन्न सके। धेरैबेर भावुकतामै हेराहेर भयो। जेठी आमाको जीर्ण शरीरलाई देखेर मन बाउँडियो। बैनी र दिदीहरुको अवस्थाका साथै संक्षिप्त गफ सकेर हामी आकाश चुम्ने उकालोमा उकालिइ रह्यौँ।

त्यो उकालो किटिनीको उकालोको नामले दमेकको दम तोडेको थियो। जमानामा मलाई त्यो उकालोले पनि थकाउन सक्दैनथ्यो। यो पटक मलाई हरिको घरबाट रितिप चौंडिला नारायण भाइको कुखुरा फार्मसम्म आउन आधी घण्टा लाग्यो। नारायण भाइ पनि पोर्तुगलबाट आएका रहेछन्, उनैको घरमा भेट भयो। नारायण भाइसँग बिदा लिँदै हामी बाबुछोरा लिस्नो जस्तै किटिनीको स्कुलतिरको उकालोमा खुट्टा घिसारी रह्यौँ। दुई दैले हजुरबा केहीबेर आगाडि जीपमा जानुभयो।

जीपमा यति खाँदाखाँद थियो कि हामीले पुरस्कारको लागि अघिल्लो पालो भेट्टाउन हतारो गरेर कुदेझैं गरेर जीपभित्र बस्न उचित मानेनौँ। बाबु छोरा पैदल यात्राको मजा लिंदै जेनतेन किटिनी स्कुलसम्म पुग्यौँ। त्यहाँ पुग्ने बित्तिकै मलाई २०३५ साल तिरको एउटा नमीठो घटनाको याद आयो।

सुन्तालाचौरको स्कुलमा म त्योबेला ५ कक्षामा पढ्थें। स्कुलमा अलिकति राजनीति पनि हुन्थ्यो। स्कुलमा हामीले टिकाराम सर, परि सर र भूमिश्वर सरको खिचातानी देख्थ्यौं तर उतिसारो बुझ्ने कुरा भएन। टिकाराम सरले त्योबेला हामीलाई सामाजिक पढाउनु हुन्थ्यो। डम्बर सरले अंग्रेजी हो क्यारे !

भूमिश्वर सरले हामीलाई नारा जुलुस गर्दै सुन्तलाचौरबाट किटिनीसम्म पुगेर आउन भन्नुभयो। हामी पनि पञ्चायती व्यवस्थासँगै पञ्चे भएको निहुँमा टिकाराम सर र डम्बर सरविरुद्ध नारा लगाएर फर्कने क्रममा किटिनी स्कुलको चौपारीमा बिसाएर खाजा खाएका थियौँ। त्यति बेलाका नारा मलाई अझै कण्ठ छन्। दुई नारा गुरुहरुविरुद्ध थिए भने एक नारा पञ्चायती व्यवस्थाविरुद्ध थिए।

त्यो इतिहासको कुरा मैले त्यही चौपारीमा बसेर प्रकाशलाई बताइरहँदा उसले थोरै मुस्कुराउनु बाहेक केही प्रतिक्रिया जनाएन। तर म १० वर्षको थत्ताउरोपनको आभाषले उत्तेजित बन्न पुगेँ। अनायास नै पुराना नारा जो मेरै गुरुहरुको विरुद्ध लगाएको थिएँ, लज्जा बोध गर्दै फिर्ता लिएँ।

किटिनीबाट एक पटक सेराको बजार र बिराउनेको फाँटतर्फ नजर डुलाएर बाइबाई गरेँ। किटिनीको स्कुलबाट तल फर्केर हेर्दा बिराउनेको फाँटले ‘चाखिस त उकालोको मजा’ भनेर जिस्काए झैं लाग्दथ्यो। अलिक माथि पुगेपछि दराउदी डाँडाको पिपल झन् माथि सर्दै गयो।

रिमझिम गोधुलीको उज्यालोमा पाइला माथि सर्लान भन्दा पिंडुलाको मासुले बसाइ सरेको अनुभूति हुन्थ्यो। चौपारीमा पुगेर माथि हेरेको सार्किबारी बालसखा कमलको घरको धुरी टलक्क टल्कियो। आँखाले हामी सानो छँदा साँधेर खाने घर तलको निबुवाको रुख खोजेँ तर देखिएन।

मलाई शैसवकालका पुराना जस्ता नलागे पनि सबै यादहरु चार दशक पुराना थिए। त्यसैले मलाई लाग्यो त्यो निबुवा मेरो आँखाको तिर्सना मेट्नको लागि मात्र किन बाँची रहोस्। हामीले लिस्नो जस्तै कठोर उकालो काटिसकेका थियौँ र पुराना स्मृतिको याद छोरालाई हस्तान्तरण गर्दै मेरो प्रिय जेठो बुबा लक्ष्मी सापकोटाको दोकानमा आइपुग्यौँ। दोकानमा नारायण भाइ, टिकाराम सर र दुई दैले हजुरबुबाहरु कुरेर बस्नुभएको रहेछ।

आदरणीय टिकाराम गुरुलाई दण्डवत गरेँ। गुरुको विरुद्ध लहैलहैमा मैले लगाएको त्यो दुषित नारा मैले फिर्ता लिँदै प्रायश्चित्त गरिसकेकोले मन हल्का थियो। केहीबेर सबैसंग कुरा भयो। नारन भाइको पसल बन्द भयो। टिकाराम सर पनि आफ्नो घर जानुभयो। हामी पनि लक्ष्मी बुबा, आमा र भाइ नारायणसंग केहीबेर गफियौं। कतै जीवनका अत्यन्त प्रिय व्यक्तिहरुसंग पुनर्मिलन भएझैँ मन रोमाञ्चित भइरह्यो।

त्यो रात किन-किन मलाई निद्रा परेन। हजुरआमाको हात समातेर दरौँदी आएको झल्को आइरह्यो। बुढा मावलका हजुरबुबा, आमाहरुले मेरो टाउको सुम्सुम्याएर हजुरआमासंग गुनगुन गरेको जस्तो स्मृतिको स्वरले मथिंगल हल्लाई रह्यो। जब म झस्केर ब्युँझिन्थेँ, सम्झनाहरुको बाढी नै चल्न थाल्थ्यो।

सानो छँदा म हजुरआमाको लाडप्यारले हुर्किएको हुनाले हजुरआमासँग उहाँको माइती गाँउ कति पटक पुग्थेँ गनी साध्य छैन। दरौंदी, जहाँ अहिले म सुतेको थिएँ, त्यही नै मेरी हजुरआमाको माइती घर थियो। गैराघरे भनेर चिनिन्थे मेरी हजुरआमाका माइतीहरु। ३-४ कक्षामा गएपछि म त्यो ठाँउ एक्लै पुग्न सक्ने भएँ। दरौंदी जेठो बुबाकोमा धेरै बस्न रुचाउने मेरो कारण भाइ नारायण र मुना बैनी थिए। उनीहरु पनि मै पढ्ने स्कुलमा पढ्दथे। त्यसैले अहिलेसम्म उनीहरु मेरा सबैभन्दा प्रिय बने।

आफ्ना छोराछोरीहरुको हेरविचार गर्देला भनेरै होला शायद जेठो बुबाले पनि मलाई अधिक माया गर्दै ‘आइरहेस् है वावु’ भन्नु हुन्थ्यो। धेरै वर्षपछि प्यारो नारायण भाइलाई देख्दा म अस्वाभाविक रुपमा भाबुक बनेँ। सम्झनाको अटुट सृंखला त्यसैको परिणाम थियो क्यारे।

अर्को रात दराउदीको बुबा लक्ष्मी प्रसाद सापकोटा,जेठी आमा र भाई बुहारीसँग पुन भेट्ने बाचा गर्दै हामी कुलाइन थानको ठुलो गरामा पुगेर एकछिन रोकियौं। त्यहाँ पढेका कक्षा र भिजेका किताबको स्मृतिले मन पनि भिज्यो तर भिजेको मन कसैले देख्न पाएन। अहिले खनिएको मोटर बाटोले हाम्रा बाल खुट्टी छापहरु पुरिसकेको रहेछ। त्यसपछि सरासर सुन्तालाचौरको स्कुलमा पुगेर धेरै बेर भाबुक बनें। प्रकाश बाबुलाई पुराना स्मृतिहरु सुनाउदै भनेँ, ‘बाबु,ऊ त्यही ठाममा हो मलाई ‘आबालाई' खेल्दा जनार्जनले घुच्याएर मेरो खुट्टा जखामी भएको।’

मनमनै जोखे, ‘हामीले छहारी बसेर हाम्रो पसिना सुकाउने पिपल, स्कुल पारी डम्बर सरको छाप्रो र छाप्राभित्रको खाजा घर, बाँस घारी, स्कुलमाथिका रामचन्द्र र पशुपति दाइका कपडा पसलहरु, किर्तिनाथ सरको चिया दोकान बिनाको पनि सुन्तालाचौर हुन्छ र ?’ अहिले सबै विलुप्त देख्दा परिवर्तनको ठुलो पर्दा आँखा अगाडि फैलिए झैं लाग्यो। भावनामा धेरै बग्दा मनोरोगी भइन्छ भन्ने सम्झेर हाम्रो फुटबल ग्राउण्ड फिरफिरेतर्फ लाग्यौँ। हामीले झुम्राको बल खेल्न छोडेपछि फिरफिरेमा खेल्ने खेलाडी सकिएको जस्तो अनुभूति भयो। तलका दुई पोखरी र हामीले घाम तापेर पढ्ने पखेरीहरु निर्जन र निश्जल भएको अनुभूति भयो।

बालकृष्णको कटेरीमाथि गजे मामाको घर सोधेर पत्ता लाग्यो। मेरो भोटो सिउने मामा नभेटिए पनि घरमा माइजु भेटिनु भयो। मैले चिनेँ, उहाँले चिन्न सक्नु भएन तर उहाँप्रति अगाध सम्मान उर्लेर आयो। सबै खबर सोधेँ, ‘टिमुर र सिल्टिमुर छन् भानिज अलिकति, जाने बेलामा पस्नुहोला है!' त्यो मेरो लागि अमूल्य प्रेम थियो माइजुको। मेरो जन्मभूमिको माटोको शक्तिले सबैलाई उज्यालो दिन्छ, प्रेम दिन्छ र सम्मान दिन्छ। कति समय भयो माइजुसंग भेट नभएको तर अहा त्यो मप्रति माइजुले दिएको अमूल्य प्रेम !’

धिप्धिपेमा गएर एकछिन रोकिएँ र मैले कापीको पाना च्यातेँ। अनि कागजको कौवा बनाएर उडाएँ। कागजको त्यो कौवा उड्दै उड्दै तल्ला बनहुँ दोकाने कान्छाबाको घरको धुरीमा पुग्यो र टक्क ढुंगे घरको छानामा पुगेर अडियो। त्यसपछि कान्छाबाका अनगिन्ती चित्रहरु आँखा वरिपरि रिल झैं चम्किन थाले।

सन् २०१३को सम्झनामा स्वर्गीय धनपति बुबा अर्थात पुज्य दोकाने कान्छाबा:

सम्झनाले पुरानो मेटिनै लागेको पुरानो स्मृतिको तहलाई सतहमा ल्याइदियो। उहाँले गरेको अनगिन्ती कार्यहरु जस्तै वि.स. २०३१-२०३३ सालमा सुन्तलाचौरको स्कुल निर्माणको सिलसिलामा सबै गाउँलेहरु बटुलेर कैलास खोलादेखि कुँदेको ढुंगा बाेक्ने, दलिन बाेक्ने र अनगिन्ती साना-ठुला खटाइहरु मेरो दिमागमा रिलझैँ धुम्न थाले।

उहाँको सक्रिय जीवनकालमा कुन चाहिँ समाजसेवा थिएन होला त उहाँले आफ्नो श्रमलाई अर्पण नगरेको। त्यस्ता समाजसेवीहरु धेरै गुमायो दमेकले। विधिको विधान नै भनौं ती हाम्रा अग्रजहरुका सक्रिय चक्रहरु इतिहासमा परिणत भइसेको छन् अहिले।

सम्झनाको पूर्ण चक्रमा मेरो स्वर्गद्वार

सरासर हामी दुई जीव खोडेलाको खोला तरेर रामु दाइ र म खेल्ने कुला कुलेसा र पाखा पखेरा हेर्दै भैनडाँडा अर्थात भलौदी हाम्रो प्रथम घर पुग्यौँ। त्यहाँ मैले टेकेका छपनी खोजेँ, मैले टेकेका छपनी भेटेँ तर त्यसभित्र मेरो पैतालाको छाप भेटिनँ। मैले २०३१ सालतिर लुतो फाल्दा मिल्क्याएको अगुल्टो पनि भेटिनँ। सबैतिर नजर डुलाएँ, माटोको सुगन्ध उही छ, हावाको स्पर्श उस्तै छ तर काया फेरिएको छ।

मेरो जीवनको पहिलो चरणका धेरै कुराहरु त सायद धमिलो क्षितिजभित्र विलुप्त भइसकेका छन् अहिले। म बाग्लुङको पानीकटेरीबाट छर्लङ्ग देखिने गाउँ भलौदी र बनहुँमा हुर्केँ। त्यो गाउँमा चिभेचरी, जुरेली, सुकेखोला तथा खोडेलामा खेल्ने कल्चुडाको पदचापलाई पच्छ्याउँदा पच्छ्याउँदै कतिपटक आँगनबाट अर्को पाटामा पल्टेहुँला, खोलाको चिप्लो ढुंगामा चिप्लिएर विष्टै विष्टाले भरिएको पानीको आहालमा निथ्रुक्क भिज्ने गरी लोटे हुँला। घर-घर चहारेर हिँड्ने बिरालोलाई खेद्दै हिँड्दा कति पटक डहरको बान्नाबाट सिल्टीमोरको फेदतिर मुन्टिएँ हुँला, त्यसको आंशिक सम्झना बाहेक मसँग केही छैन।

तर बाल चञ्चलताको प्रमाण स्वरुप मेरो खुट्टा र टाउकोमा लागे डोवहरु जतिसुकै मेटिने प्रयास गरेपनि सग्लो दशीको रुपमा अझै मसँग बाँचेका छन्। वुवा अछामको लाहुरे, आमा हम्मेसा वस्तुभाउको गोठाली, म त हजुरआमासँगै हुर्केको केटा। त्यसैले कताकति घटनाहरुको सम्झना र हजुरआमाले भनेको आधारबाहेक कतिपय यादहरु बालापनको समाप्तीसँगै दिमागबाट मेटिएर गइसके आज। तर कतिपय अझै जिवन्त छन् र त पटक-पटक दमेकतिरै आफ्नो परिचय खोज्दै दौडिन खोज्छन् मेरा पाइलाहरु।

म त्यस्तै ५ वर्ष जतिको हुँदो हुँ। बुबा अछाममा जागिरे, घरमा आमा, म, ठुलीबैनी रीता र हजुरआमा। साउने सक्रान्तिमा कुन्नि के के झारपातहरु जम्मा पारेर लुतो फाल्ने र फुरेउला खानुपर्ने चलन। त्यो गर्न पनि छोरा मान्छे चाहिने। कान्छो बुबा, ठुलो बुबाहरु आ-आफ्ना घर पूजामा व्यस्त भएकाले बाेलाउने कुरा पनि भएन। आमा र हजुरआमाले लुतो फाल्ने जिम्मा मलाई नै दिनु हुन्थ्यो। ‘घरमा छोरो मान्छे तैँ छस्, आज लुतो फाल्ने साउने सक्रान्ति हो, म बत्ती बाली दिन्छु र अक्षता छर्केर पूजा गरी लुतो फाल’ भन्दै हजुरआमाले बत्ती बाली दिनुभयो।

मैले आमा र हजुरआमाको आदेशअनुसार बाल रहर र फुरेउलाको स्वादलाई एकै ठाउँमा मिसाएर भर्भराउँदो आगोको अगुल्टो पण्डित मामाको पाटातिर मिल्क्याएको अलिअलि सम्झन्छु। अगुल्टो फाल्दा भन्नुपर्ने मन्त्र ‘बल्याहाली गाँडा लुतो लैजा’को अर्थ के हो कुन्नि अहिलेसम्म मलाई थाहा छैन। सायद मेरो आमा र हजुरआमालाई पनि त्यसको अर्थ थाहा थिएन क्यार। मलाई त त्यतिमात्रै थाहा थियो कि- त्यो कर्म गरेबापत आमाले फुरेउला खाना दिनेछन्। मेरो ध्यान खानु र खेल्नुभन्दा बाहेक के हुन्थ्यो र त्यो बेला।

म सानोमा धेरै चकचके थिएँ रे ! हजुरआमाले पछिसम्म भन्नुहुन्थ्यो, ‘तँलाई बाको कुटाइबाट जोगाउन मुस्किल पर्थ्यो। साना-तिना बिठ्याइँ त मैले कसैलाई भनिनँ तर ठुला बिठ्याइँ माइलाले आफैँ देख्थ्यो र तँलाई बेस्मारी कुट्थ्यो।’

सर्प र झिमाहुरीका गोला समात्नु मेरो बायाँ हातको खेल थियो। बिठ्याइँ नगर्न हाम्रो हजुर आमा र आमाले जति सम्झाए पनि मैले सम्झिनँ रे! मनको आनन्दलाई अग्रजको आदेशले जित्न सक्दैनथ्यो त्योबेला। ११ वर्षको हुन्जेल हैरान पारेको थिएँ रे बा, आमा र आओईलाई मैले।

सानोको मेरो ठुलो बिठ्याइँ भनेको काक्रा चोर्नु थियो। एकपटक बुढा मुख्य हजुरबाको बिउ राखेको काक्रो चोर्दा खाएको कुटाइ सम्झँदा अझै आङ् थुरथुर हुन्छ। हाम्रा बाले कान तान्दा मेरो कानबाट रगर आएको थियो। अहिले लाग्छ बाको कान लुछाइले मेरो न्युरो पेपटाइड (Neuropeptide) खुलेर त होला त्यसपछि म चकचकेबाट होसियार अन्तर्मुखी किशोरमा बदलिएँ।

अहिले पनि दमेक, बनहुँ जाँदामेरा साथीभाइले चकचके, बिठ्याहा एक फुटबलर बालक डिल्ली रामको पुरानो स्वभाव सम्झाउँछन्। नयाँ कुरा सम्झन र सम्झाउन कसैले पनि चाहँदैनन्। किन होला मलाई थाहा छैन। मलाई लाग्छ, कि त किशोर काल उनीहरुलाई पनि मलाई झैँ प्यारो, बोझरहित र आकर्षक लागेको हुनुपर्छ, कि समस्याको बोझले वयस्कता निचोरिँदै गएर रित्तिएको जीवनको खोक्रोपनमा मृत्युले तर्साउँदै गएकोले बालक्रिडा प्यारो लागेको होला।

साथीहरु भेट्न म यो पटक अर्थात् २०७९ साउन २६ गते सिमरा गएको थिएँ। सिमरामा रहेका दाश पौडेलबाका छोरा बालकृष्ण पौडेल मेरा बालसखा हुन्। उनी पनि सिमरामा भेट भए। हामीले बालककालको बचपनाबारे धेरै कुरा गर्दै भावनामा बहकियौं, हास्यौं र फिरफिरेमा खेलेको, ठुलो गरामा पढेको र कैलासदेखि सुन्तालाचौरको स्कुल बनाउन ढुङ्गा बोकेको कुरा गरेर आनन्द लियौँ। वर्तमानको बारे कुरै गरेनौँ, वर्तमानको कुरामा के रस छ र कुरा गर्नु।

अचेल मेरो मनले मलाई भन्छ, ‘त्यो जीवन, यो जीवनभन्दा कति पवित्र थियो, चिन्ता र लोभमुक्त थियो। भोक लागे हजुरआमालाई अत्यायो, बस !’ आत्मा बोलिरहन्छ, ‘अब ती दिनका स्वर्णिम यादबाहेक के बाँकी राखेको छस् त तँसंग। सबै त सकिसकिस्, आयु सकिस्, बालपनका मिठा लयबद्ध गीतहरु र सुमधुर बाेलीहरु सकिस्, जीवनका आश्रययुक्त दिनहरु सकिस्। तेरा बुबा, आमा, हजुरआमा र तेरो शिरमा हात राखेर आर्शीवाद दिनेहरु सकिस्। त्योबेलाका तेरा बालसखाहरु र प्रकृतिको न्यानो मायाभित्र रमाएका सम्झनाहरु पनि सक्दैछस्। अब तँसंग नमेटिएका याद, केही बाँच्ने दिनहरु, सुस्केरा, तनावयुक्त तन र समस्याहरुको भारीबाहेक के नै पो बाँकी र!’

अझै सम्झन्छु, म बनहुँ- मेरो आँगनको डिलबाट प्रत्येक दिन पानी कटेरीतर्फ चियाउँथे र भकुण्डेको धुरीतर्फ चिल उडेको देखेर रमाउँदै आमासँग सोध्थेँ, ‘आमा त्यो डाँडापारी के छ नि? आमाले भन्नुहुन्थ्यो, ‘बाबु बाग्लुङको ठुलो बजार छ, धनी मान्छेहरु बस्ने गाउँ छ। ठुला-ठुला अस्पतालहरु र स्कुल पनि छन्।’ … ती सबै मेरो स्मृतिले कसरी बुझ्थ्यो, खै त्यो बेला?

म यो धर्ती टेकेपछि परिचयको सानो बिम्ब बनाएको ठाउँ त्यही दमेकको जाङ्गेको खोल्टी जस्तो गाउँ बनहुँ ठुलढुंगा र त्यसको वरपर न हो। न त त्योबेला मलाई खोला पारीको गाउँ थाहा थियो, न त डाँडा पारीको सहर। भकुण्डेको धुरी, फिरफिरेको चौर, तल्लाथोक, भीरकटेरीको गाउँ, आफ्रेको मगरटोल, लामाखोरिया जस्ता गाउँहरु मेरो घरको पिँडीले सधैँ चियाइरहन्थ्यो। बलेवा हम्मेसा साउन मैनाले लुतो फाल्ने बेलामा सम्झाइ रहन्थ्यो।

नजिकैको जंगल र पाखाहरुका नाम आमाका कर्मक्षेत्र भएकाले सायद सानैमा याद थियो कि ! त्योबाहेक घर वरिपरिका साथीका नाम र स्कुलका थले पिउन बाकी श्रीमतीको अनौठो अनुहार मैलै कहिल्यै बिर्सिनँ। उनी पनि हाम्रै टोलमा बस्थिन् र हमेशा हाम्रो घर आई मलाई डराउन दिन्थिन्। थले पिउन बाकी श्रीमती देखेपछि मेरो सातो जान्थ्यो रे! नाम लिँदैमा मैले नदालीकन सपासप भात खान्थेँ रे, भन्नुहुन्थ्यो मेरो हजुरआमा। त्योबेला हामी भलौदी-भैन्डाँडा अहिले म उभिएको घरमा बस्थ्यौँ। विसं २०२९ हाम्रो जेठो बुबाको छोरा नभएकोले हामी बनहुँ सर्नुपर्यो भने जेठो बुबा भलौदी। दुई भाइबीच घडेरीको सट्टापट्टा भयो।

शैक्षिक सुरुवात

सायद २०३१ सालको तिहारतिरको कुरा हो, सुन्तलाचौरको स्कूल भवन बनाउनको लागि चन्दा माग्दै एउटा भैलो टोली हाम्रो घरमा पनि आयो। त्यो अझैपनि मलाई आंशिक रुपमा याद छ। त्यो भैलो टोलीमा कतिजना थिए मैलै भन्न त सक्दिनँ तर त्यो टोलीमा मेरो ठुलो बुबा धनपति अम्माई, भूमिश्वर सर, न्याधीशकी छोरी सिता दिदी, कमल दाइ, फणिन्द्र सर, प्रेम सर, कृष्ण सर, जिम्माल माइला दाइ, गोविन्द हेडसर, रामेदाइलगायत हाम्रो टोलका पनि थुप्रै थिए। त्यो भैलोटोलीले गाएका आंशिक गीतहरु याद छन् अझै ‘हे मेरा बाबा, हे मेरी आमा, चन्दा दिनुस् स्कुललाई सम्झेर,...तालपारी निउरो, निउरो निउरो निउरो भन्दैमा दिल बिउरो… अनि धुमी आयो रेल, आँखै लाउनी कालो गाजल, बूल्बुलेलाई तेल’…आदि।

त्यतिबेलासम्म सुन्तलाचौरमा स्कुल भवन रहेनछ र भवनको लागि चन्दा उठाएका रहेछन् सबैले। त्यति बेलाका हेडसर गोविन्द आचार्यको नाम भुलेको छैन किनकि भैलो टोलीसँग नाच्दा उनले मेरो नाचलाई देखेर भनेका थिए रे ‘यो बाबु त जोक्कर जस्तै नाच्दो रहेछ’ उनी न्वारनपछिका अर्को प्रतिकात्मक नाम राखेका थिए। म ६ वर्षको लागेकोले त्यही भैलोटोलीले त्यही दिन मेरो शिशु कक्षामा स्कुल भर्ना गरेको थियो। ‘अब स्कुल आउ है बाबु पढ्न’ गोविन्द सरले कपाल सुम्सुम्याउँदै भनेको मैले सम्झेकै छु।

गोविन्द सर, प्रेम सर, फणिन्द्र सर, टीकाराम सर, जगपति सर, कृष्ण सर, दुर्गा सरहरुसमेत रहेको भैलो टोलीको जति मलिन रेकर्ड राखेको छ मेरो दिमागले, आफ्नै टोलका भएर होला धनपति बुबा, मास्टर बुवा, जगपति पुसाजु, राजेन्द्र दाइ, धनप्रसाद पुसाजुको सम्झना ताजै जस्तो गरी सजाएर राखेको छ अझै मेरो अन्तस्करणले।

मलाई यो मानेमा गर्व पनि लाग्छ कि हाम्रो कुलमा व्यक्तिगत स्वर्थबाट माथि उठेर सामाजिक सेवाको लागि जीवनका महत्वपूर्ण क्षणहरु अर्पित गर्ने अग्रजहरु पनि थिए। भैलो अभियानमा स्कुल भर्ना भएपछि धनपति बुवाकै जोडवलले काली दिदी (सरस्वती), मलगायत केही केटाहरु स्कुल जान पायौं। स्कुल जाँदाको पहिलो दिन दिनानाथ सरले हो वा फणिन्द्र सरले हो पहिलो पटक हाजिर बाेलाउँदै ‘हजुर भन्नु पर्छ है नाम बाेलाउँदा’ भनेको अलिकति सम्झना छ। त्यसपछिका दैनाचर्याहरु लयबद्ध रुपमा सम्झने दिमागमा खिया लागिसकेको छ।

आधाजति बनाएको सुन्तालचौरको स्कूल पनि ३२  हो वा ३३ सालको वर्षायाममा पल्टियो र धेरै समयको दमेकवासीको मेहनत खेर गयो। त्यसपछि हामी धेरै महिनासम्म खोडलाको जंगल, नुन्थलाचौर र कुलायनथान नजिककैको ठुलो गरामा पढ्न बाध्य भयौं। पानी परेको बेला स्याखु नलग्ने हो भने हाम्रो बिचल्ली नै हुन्थ्यो। हाम्रा हातका चटकी र गुन्द्रीले झोलालाई पानीबाट बचाउँदा बचाउँदै पनि कहिलेकाहीँ कापी किताबहरु भिजिहाल्दथे र घरमा लगेर अगेना नजिक राखी सुकाउनु पर्दथ्यो। ती घटनाहरु अचेल सम्झिँदा अस्ताउँदै गरेको चन्द्रमाले पछिल्लो शितलताको किरण दिएर बिदा माग्दै गरेजस्तो धुमिल तर स्वादिलो तरङ्ग बनेर आउँछ।

स्कुलका प्रिय साथीहरुमा कलम, दया, रामु, अग्निधर, नन्दु, सरस्वती दिदी, चिरञ्जीवी, लक्ष्मी, नाउढुङाको डिल्ली राम, भूमिराज, देउराली खानीको रामबहादुर पुन, ठुलडाँडाका नरेदाइ, प्रेम गैरेलगायतका थिए। फेदीबाट तिजु र लप्सी लिएर टाँकमा बेच्ने चक्र, दया, धनपति र परमानन्दहरुसँग तिजु र लप्सी किनेको झझल्को आइरहन्छ। अब कहाँबाट पाउनु ती मन भेदको चिसो नपस्दैका र निर्मल मन भएका विद्यार्थी-व्यापारी बालसखाहरु। ती दिनहरु सम्झिँदा बालसखाहरुप्रति निर्मलताको अथाह प्रेम गंगा बगिरहन्छ यो मनमा। त्यो प्रेम अचेल कसरी सजिव हुँदैछ कुन्नि साथीहरुको मनमा?

मलाई त्यही कुराले कहिलेकाहीँ निन्द्रा पर्दैन। भलौंदीका काले र डल्लेले झुम्के झोलामा काफल बेच्न छाडे होलान् जस्तै लाग्दैन। अगन्धर ज्वाइँ, नन्द मामा र रौदेलहरुको खनिम किन्दाकिन्दा सिंगो कापी सकिएर मसहित दण्डे र किस्ने रुँदै हिँडेको अझै मैले भुलेको छैन।

धनपतिले ल्याएको लप्सीको हाड पनि गोलो भएकोले किन्नुपर्ने पाँच पैसामा। चक्रले भने टाँकमा पनि बेच्दथे लप्सीका हाडहरु। गुच्चा किन्न नसक्नेहरुलाई कत्ति मद्दत गर्दथे हाम्रा परोपकारी बालसखाहरु। मैले छोड्दा उनीहरुको भर्खर जुँगाको रेखी बस्न थालएको थियो र तनमा पवित्र भावनाले मनलाई पखाल्दै गरेको किशोरको बिहानी लालिमय कान्तिकाल थियो। काली दिदी, दया दाइ, छबे दाइ, प्रेम पुसाजु र आनन्द दाइको हात समातेर खोडेलाको खोला तरेको याद अझै हिजोजस्तै लाग्छ। यो सम्झने मन त हो।

कालापातलबाट आउने साथीहरुले हामीलाई हेप्ने भएकाले बेलाबेलामा झगडा गरिन्थ्यो त्योबेला। अचेल भेट्न पाए कति अंगालो मारिँदो हो, उनीहरुसँग। थमबहादुर भने मिलनसार स्वभावका कारण मलाई मन पर्दथ्यो। त्यतिबेला हामीभन्दा धेरै माथि पढ्ने परी थापा, प्रेम सापकोटा, शालिकराम दाइ, तुलसी, हेमराज, गोपाल, विष्णु दाइ, सालिक दाइलगायतका धेरे थिए अग्रजहरु। उनीहरुलाई सम्झने एउटै सम्झना छ मसँग, उनीहरु भएसम्म हामीलाई कहिल्यै पनि भलिबल छुन दिएनन्।

लाम्खोरिया केशव र तमेदाइहरुले पनि हामीलाई हेला गरेकै हुन्, सन्झिन्छु मान्छेको आचीमा परेको भलिबल धोएर ल्याउन बाहेक बल कहिले छुन दिएनन्। दया, छवि, अर्जुन, प्रेमहरु पनि हामीभन्दा दुई व्याज अगाडिका दाजुहरु हुन्। ठुलो हुँदै जाँदा अरु कुराहरु पनि थाहा हुँदै आयो। बसेनीको खरबारी, निवारेको हाम्रो गोठ, दुल्यानी, पैरो, भुसुने, दास, पत्ल्यानी आफ्नो खर्क भएकाले मलाई प्यारो लाग्न थाले। ठुल्डाँडाँ खोरथापे मेरो सैनावुवाको घर थियो। बेलाबेलामा म पशुपति र नरे दाइहरुसँग त्यहाँ पनि पुग्दथें।

मेरो बालसखा कमल चौरासेको भ्रमणमा हिँड्न नसकेर मैले बोकेको घटना बिर्सनै सक्दिनँ अझै। उनको घर जाँदा खनिम खान पाइने भएकाले सार्कीबारी पनि उमेर सँगसँगै नशामा चढ्दै गयो। त्यसपछिका ठाउँहरुमा भुषालवासे मामा घर भएकोले पाखाहरुमा चराहरुको बचेरा खोज्दै कहिलेकाँही मेरो तन पुगिरहन्थ्यो।

जेष्ठमा हरिया मकै खान पाइने भएकाले आमाले वर्षको एकपटक काउले पठाउनुहुन्थ्यो। हरिभाइ, डिल्लीराम, लक्ष्मी, यज्ञलगायतका साथीहरु पनि मै पढेको स्कुलमा पढ्ने भएकोले काउले जाँदा सँगै गइन्थ्यो। काउलेको हरि मेरो प्रिय भाइ हो, बाहुन बुबाको छोरा। धेरै समयसंगै बस्न नपाए पनि दुई वर्ष अगाडि वडडाँडा पुगेर भाइलाई भेटी छाडेँ।

सम्झनाको बाढी आइरहन्छ अझै जति लेखेपनि छुटेजस्तो लाग्ने, शब्दहरु हराए जस्तो हुने, पानी कटेरीबाट छर्लङ्ग देखिने मेरो प्यारो दमेकलाई मैले कहिले भुल्न सकुला र? गुच्चा खेलेर नथाक्ने नन्दे, चक्रे, डन्दपानि ,धनपति, टंके, दिनानाथ, यज्ञ र रामु जस्ता सखाहरु मुफतमा पाएको थिएँ। मेरो बुबा सानैमा बिते पनि मेरो गाउँले मलाई सहाराको लागि धनपति बुवा, तुलसी बुबा, नयाँ घर बुवाहरु, ठुलीआमा, सानीआमालगायतका अविभावक र गाउँबाट जिम्माल दाइ, निवारेबाट गुराइ हजुरबा, जेठाबा, दासका सिरान्घरे हजुरबा, पहिराका हजुरबाहरु दिएको थियो। जहाँ जाउँ सबैतिर संरक्षित र सुरक्षित हुन्थेँ म मेरो गाउँमा।

आज मेरो साथमा रित्तिइसकेका आशा, प्रवासी सन्तान, कर्तव्य र तनावले च्यापिएको स्थुल तनभन्दा बढी के नै छ र? समयको गतिसँगै सबै विवशताको घट्टले पिसिइ त सकेँ। अहिले न त मसँग टाँकमा लप्सी र तिजु बेच्ने बालसखाहरु नै छन्, न त रौंदी र सार्कीवारी लगेर खनिम र सादेका निवुवाहरु लुकाइ-लुकाइ खुवाउने कमल, कृष्णे, हरिलाल र रौदेल दाइहरु नै छन्। न त मसँग पहिरा र खोलेटाका माछा र कल्चुडाका गुडहरु देखाइदिने गंगे, धने, बाशु छवे, प्रेम र गौरेहरु नै छन्।

परिवारसँग भएर पनि म आज एक्लो भएको छु। भड्किएको जिन्दगी र तड्पिएको तनलाई मेरो प्यारो गाउँ दमेकले बोलाइरहेको सुनेको छु। सपनामा धेरै पटक भेटेको पनि छु। चित्रे दाइले काफल चोर्दा चोर्दै समातेर ख्वाएको सिप्कानोको स्वाद दिन प्रतिदिन मिठो लाग्दै आउन थालेको छ।

भावनाको गोल चक्कर

२०७७ सालमा दमेक टेक्ने बित्तिकै मेरा आदरणीय स्वर्गबासी डम्बर गुरु र दुर्गा गुरुलाई श्रद्धान्जली अर्पण गरेँ। गुरुहरुको उही पुरानो चेहरा आँखा अगाडि आयो। सम्झनाले भावुक बनायो। अरु सरहरु जिवितै हुनुहुन्छ। सम्झना सबैको आयो तर भेट्न सकिनँ। कुर्धेल प्रेम सरको कुटे औंलाको थप्पडले धेरै रात सुतेको थिइनँ सानोमा। मेरो भविष्यलाई उज्वल बनाउन हानिएको त्यो थप्पडलाई चुम्ने र सलाम गर्ने कल्पना गडेको थियो मनमा। फणिन्द्र सर, दुर्गा सर र गोविन्द सरहरुबाट फेरि एकपटक कान निमोठ्याइको स्वाद लिएर पागल बन्ने धुन चढेको थियो मनमा...।

बनहुँ पुगेपछि झन् पागल कल्पना, यादले दिमागी सन्तुलन गुमाउन थाल्यो। मनले मनलाई भन्न थालिसकेको छ ‘कल्पना तेरो यादमा कुनै दम छैन, किनकि तेरो धनपति बुबासँग बसेनीको खरवारीमा गएर ढुकुरका बचेराहरुसँग खेल्दै खर काट्ने धोको छ भन्थिस् खै तेरो सपना कहाँ गयो?’

‘हे ईश्वर ! मेरा साथीहरु पहिले झैँ सुकिला र पवित्र भेट्न पाउँ।’ मनले खबरदारी गरिसक्यो मलाई ‘पख वकवक नगर, तँ पागल हुँदैछस्, डिल्ली! अब धेरै नसोच्, सक्छस्, साथीहरु झैं आफ्नै सुगन्ध बोकेको माटोमा भिज्न सिक, प्रवासमै बस्ने भए बालककालका अमृत रुपि सपनाहरु पिएर बाँच्न सिक।

प्रकाशित मिति: : 2022-10-14 22:00:00

प्रतिकृया दिनुहोस्

    फिजी र त्यहां रहेका नेपालीको बारेमा पढ्दै गर्दा र हेर्दैजाँदा हजुरका आत्मकथा र परिशेष समेटीएको लेखपनि पीतलो पातलो हेरें आखिर हजुर पनि त बाग्लुङग कै हुनुहुँदोरहेछ। म पनि त्यतैतिरको मान्छे सर्कुवा मेरो घर।

    • 2 बर्ष अगाडि
    • प्रेम पौडेल

    म हाल जापान मा छु हो म पनी त्यही भलौदी र रौदीको माटो मा हुर्कियर यहां सम्म आयको छु । १३ घण्टा काम गरेर लखतरान परेर आयको थियं यस्सो फेसबुकको वाल तिर जांदा दमेक भन्ने शब्द शुरुमै देखें लिङंक खोलेर नपढी मन मानेन र ५० मिनेट लायर सबै पठें मन भाबुक भयो र यक्कै छिन मा ति पाखा पखेरा र अग्रजहरुको नाम सुन्न पायं धेरै धेरै धन्यवाद हजुरको लेख लाई 🙏

    • 2 बर्ष अगाडि
    • Bharat sapkota

    राम्राेलाग्याे याेमेराेजन्मभुमिकाे काे पुरमनाे याद गराइदिनु भयकाेमा धन्यबा

    • 2 बर्ष अगाडि
    • नारायण रिजाल