विपन्न तथा दलित समुदायको अनुहारमा खुशी बाँड्दै गायिका अञ्जु पन्त

पर्साको सखुवाप्रसौनी गाउँपालिका –५ , महुवनस्ठित दलित प्राथमिक विद्यालयमा दलित बालबालिकाहरुलाई शैक्षिक सामग्री सहयोग पछि तस्बिर खिचाउँदै गायिका अन्जु पन्त । तस्बिरः बिमला

सुमधुर स्वरकी धनी अञ्जु पन्त सामाजिक कार्यमा सक्रिय भएकी छिन् । विगत ३ वर्षदेखि सञ्चालित अन्जु पन्त फाउन्डेसन मार्फत गायिका पन्तले सहयोग पुर्‍यायाई विपन्न तथा दलित समुदायको अनुहारमा खुशी बाँड्दै आएकी छिन् ।

गायिका अञ्जु पन्तले बारा, पर्सा, रौतहटलगायत तराईका विभिन्न जिल्लामा पुगी अति बिपन्न तथा दलित समुदायलाई विपद्को बेला लुगा कपडादेखि लिएर बालबालिकोको लागि शैक्षीक सामाग्री सहयोग गर्दै आएकी छिन् ।

सोही कार्यक्रम अन्तर्गत शुक्रबार पर्साको सखुवाप्रसौनी गाउँपालिका –५ , महुवनमा रहेको दलित प्राथमिक विद्यालयमा अन्जु पन्त फाउन्डेसनले दलित बालबालिकाहरुलाई शैक्षिक सामग्री सहयोग गरेको छ।

आर्थिक अवस्था कमजोर भएका दलित बालबालिहरु ब्याग र टी–सर्ट पाउँदा खुशी देखिन्थे।

दैनिक मजदुरी गरी जिविकोपार्जन गर्दै आएका दलित समुदायका अभिभावकहरुको आर्थिक अवस्था कमजोर भएकाले यस समुदायका बालबालिकाहरुको शिक्षामा पहुँच कमै हुन्छ ।

दलित समुदायका बालबालिकाहरु विद्यालयमा भर्ना भए पनि शैक्षिक सामग्रीको अभावले गर्दा घरमै बस्न बाध्य हुन्छन् । 

दलित बालबालिका निरन्तर विद्यालय पहुँच होस् भन्ने उद्देश्यले महुवनको दलित प्राथमिक विद्यालयका २ सय जना विद्यार्थीलाई ब्याग, टि–शर्ट तथा शैक्षिक सामाग्री वितरण गरिएको फाउन्डेशनकी सञ्चालिका गायिका पन्तले बताइन् ।

यसअघि पनि गायिका पन्तले पर्साका विभिन्न विद्यालयमा सहयोग पुर्‍याएकी थिईन्।

दलित तथा बिपन्न समुदायप्रति निरन्तर अन्जु पन्त फाउन्डेसनले पुर्‍याई रहेको सहयोग सरहानीय रहेको दलित अधिकार समाज पर्साका अध्यक्ष मनोज रामले बताए।

समाजिक क्षेत्रमा अञ्जु पन्तले गरीरहेको कार्य प्रति पिस फोर दलित फाउन्डेसन पर्सालगायत बालबालिकाका अभिभावकहरुले सहयोगी दातालाई धन्यवाद दिए ।

प्रकाशित मिति: : 2019-08-10 07:44:45

प्रतिकृया दिनुहोस्