काठमाडौंको महाराजगन्ज बसुन्धरा नजिकै एउटा सामान्य घरभित्रबाट आउने हिन्दु धर्म भित्रका ती मिठा अनि देवदेवताका लोभ्याउने शैलीका श्लोकको लयले बाटोमा हिँडिरहेको मेरो मनमा कौतुहलता जाग्यो।
हेर्दा शिक्षित वर्गको जस्तो देखिने यो घर अनि धर्मप्रतिको लगाव नबुझी अगाडि बढ्नै मन लागेन। दाँयाबाँया नहेरी गेट्मै पुगेर बेल बजाएँ।
आश्चर्य चकित भए तत्कालीन रोयल नेपाल एयरलाईन्सका ईन्फलाइट सुपरभाइजर किशोर प्रसाद शर्माकी श्रीमती र सत्यसेवा सुरक्षणम्को मूलमन्त्रलाई आत्मसात गर्दै प्रहरी सेवामा ३० वर्ष बिताएकी पूर्वडिआईजी बिमला थापाले आस्थाले शीर झुकाउँदै अभिवादन गर्दै आफ्नो परिचय दिए।
नेपाल प्रहरीको यति लामो इतिहासमा प्रहरीको उच्च तहमा पुग्ने महिलामध्येकी एक उनको बारेमा धेरथोर नजान्ने त कुरै भएन।
अझ समग्रमा जान्ने मनसायले राजनीतिक दलको दबाबले गिराएको संगठनको साखसहित अध्यात्मका विषयबस्तु बारे प्रश्न गरे- धर्म के रहेछ?
जवाफ जस्तोसुकै होस तर जान्न उत्सुक नै थिएँ।
‘असल, परोपकारी, सकारात्मक कामसँगै जीवन मृत्युसँग उत्तिकै सामिप्यतामा रही प्राणी र ब्रम्हाण्डको सम्बन्धसहित स्वभाब, कर्तब्य, अधिकार, कानुन, ब्यबहार, गुण र जिउने शिक्षालाई नै धर्म भनिन्छ,’ हातको पूजा थाली नजिकै टेबलमा राख्दै यही जवाफ फर्काइन् विमलाले ।
यो पनि पढ्नुस्
जसले हाकुपटासीबाटै छोरा छोरीलाई सक्षम बनाए
२०४० सालमा एकहजार ६ सय प्रत्यासीलाई उछिन्दै पहिलो नम्बरमा छनोट भएर प्रहरी सेवामा प्रवेश गरेकी उनी एक काबिल प्रहरी अफिसरको रूपमा अपराधको दुनियाँलाई निस्तेज पार्न दत्तचित्त भएर लागिन् ।
अपराधीलाई सजाय दिने मात्र नभएर आफ्नै संगठनभित्र कैयौं खराब आचरण भएका प्रहरी कर्मचारीलाई समेत कारबाही गर्न हात कपाइनन् उनले ।
महिला तथा बालबालिका निर्देशनालयको प्रमुखसमेत रहेकी उनले तत्कालित समयमा केही जिल्लामा महिलासेलसहित नेपाल प्रहरीमा जेण्डर पोलिसी निर्माण गर्ने काम पनि गरिन् ।
नेपाल प्रहरीको इतिहासमा पहिलो ईन्टरनेशनल अवार्ड पाउने महिला अधिकृत हुन् उनी । तर, २०७० सालमा रिटार्यड भएदेखि गुमनाम छिन् विमला । आखिर किन गुमनाम भइन् त उनी ?
उमेरले ६ दशक भए पनि उनको प्रत्येक दिनको योगा अनि ब्रम्हकुमारी राजयोगको सामिप्यतासँगै धर्मप्रतिको लगावले युवा जोशमै देखिन्थिन् ।
‘देशको राजनीति बाल्यकालमा भोगेको भन्दा दिन प्रतिदिन ओरालोउन्मुख देख्छु । कोही नेता पनि देशप्रति जवाफदेखि देख्दिनँ। लुटतन्त्र हाबी छ, नेताहरू आफू र आफन्तको उन्नतिमा मात्र केन्द्रित भएको देख्छु,’ उनले भनिन् ।
यस्तो गञ्जागोल र विदेशीको क्रिडास्थल बनाइएको देशमा मजस्ता कैयौंलाई अहिलेको पद्धतिले गुमनाम बनाउनु स्वभाविक भएको भन्दै उनले अगाडि भनिन्- यसै वर्षदेखि प्रारम्भ भएको ‘मातृभूमिका लागि नेपाली’ नामक अभियानमा जोडिएकी छु । म यसको केन्द्रिय सचिवालय सदस्य हुँ । यहीमार्फत् देशको लागि समर्पित रहने अठोट लिएकी छु ।'
विमलाका दुई सन्तान अष्ट्रेलिया रहेछन् । उनलाई पनि उतै जान कर गरेका रहेछन् । तर, उनी कहिलेकाही उनीहरूलाई भेट्न गए पनि देश नै छोडेर जाने कुरा सोच्न पनि सक्दिरहिनछिन् । यसै प्रसंगमा उनले भनिन्- देशप्रति जिम्मेवार हुन्छु भनेर मातृभूमिको टीका लगाएकी म बरू गुमना हुन रूचाउँछु, देश छोडेर प्रदेश जाने कुरै हुँदैन ।'
नेपाल प्रहरीमा पहिलो महिला गुल्मपति, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो महिला प्रहरी प्रमुख अनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षा प्रमुखमा रहँदा प्रख्यात त्रिशक्ति पट्ट (चौथो) पाएकी उनी एक उम्दा प्रहरी अधिकृत हुन् । यति मात्र हैन, उनले सवारी अनुमतिपत्र वितरण ईकाईमा रहँदा गोरखा दक्षिणबाहु चौथो पाएकी थिइन् । उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गरि करिब दुई दर्जन पदक तथा अवार्ड प्राप्त गरेकी छन् ।
प्रहरी सेवामा रहँदा मेची, गण्डकी, धवलागिरी अञ्चलसहित सुदूरपश्चिम प्रहरी प्रमुखमा सफल रूपबाट जिम्मेवारी सम्हालिसकेकी थिइन् उनले । सेवामै रहँदा सेरालियन तथा कम्बोडियासमेत पुगेकी उनी संगठन भित्र मात्र होइन, संगठन बाहिर पनि आफ्नो जिम्मेवारसहित कर्तब्यमा अडिग रहने प्रहरी अफिसरका रुपमा परिचित थिइन्।
कांग्रेसका तत्कालीन महामन्त्री तारानाथ रानाभाटले सवारी अनुमतिपत्र शाखा प्रमुख हुँदा नियम विपरित सवारी अनुमतिपत्र नदिएको झोकमा आफूलाई अन्यत्र सरूवा गरे पनि उनले आफ्नो कर्तब्य छोडिनन् ।
सवारी अनुमति परीक्षामा फेल भएपछि नियमविपरित आफूलाई अनुमतिपत्र दिनुपर्ने र नदिए दुई घण्टा भित्रै सरूवा गरिदिने रानाभाटको धम्कीसँग उनी नडराई कर्तब्यमा अडिग रहिन् ।
यो त उदाहरण मात्र हो यस्ता धाकधम्की र प्रलोभन आफ्नो ३ण वर्षे सेवाकालमा प्रशस्तै पाएको उनले बताइन् ।
प्रहरी सेवा अवधिमा तीन पटकसम्म सवारी अनुमति शाखामा प्रमुखको जिम्मेवार सम्हालिसकेकी थिइन् उनले । त्यतिबेला यो एक किसिमको चुनौतिले भरिएको जोखिमपूर्ण काम थियो ।
यो पनि पढ्नुस्
बिएल बिशेष: 'मेक्सिको सीमा पर्खालबारे स्थलगत रिपोर्ट
उनी शाखा प्रमुख भएकै बेला दरबारबाट तत्कालीन अधिराजकुमारी श्रृति राज्यलक्ष्मी शाहलाई सवारी अनुमतिपत्र चाहियो भनि दरबारको आदेश उनले ठाडै अस्वीकार गरिन् ।
दरबारको आदेश चल्ने त्यो समयमा पनि उनी आदेश लिएर आउने ब्यक्तिलाई ‘कानुन सबैको लागि बराबर हो, कानुन बिपरित म बर्दी खोल्छु। तर, अनुमतिपत्र दिन सक्दिनँ’ भनेर पठाइन् । पछि श्रृति आफैं आएर तीन दिनको कक्षासहित लिखित, मौखिक र प्रयोगात्मक परीक्षा पास गरेर सवारी अनुमतिपत्र लिएकी थिइन् ।
'यो घटनाले मलाई अहिलेका शासकभन्दा दरबार बरू धेरै प्रजातान्त्रिक थियो भन्ने लाग्छ', उनले धक नमानी आफ्नो कुरा राखिन् ।
डिएसपीसम्म बढुवा हुने क्रममा उनी वरिष्ठताकै आधारमा भइन् । त्यसपछिको बढुवामा भने उनी विभेदमा परेको गुनासो सुनाउँछिन्- ‘बढुवामा संगठनप्रति बफादार र कार्यसम्पादन मूल्याङ्कनमा समेत अब्बल हुँदाहुँदै पनि बिभेदमा परियो’, उनले गुनासो गरिन्, ‘आफूभन्दा धेरै जुनिएर कर्मचारी आफूभन्दा माथिल्लो पदमा पुगिसक्दा मात्र उनको बढुवा हुन्थ्यो । अझ प्रत्येक बढुवामा आर्थिक चलखेल हुन्थ्यो ।’
डिआईजीबाट बढुवा हुने क्रममा उनलाई देश परिवर्तन गर्छु भन्ने एक नेताजीले नौं करोड दिने हो भने प्रहरी प्रमुख बनाईदिन्छु भन्ने प्रस्ताव राखेका थिए । त्यस्तो प्रस्ताव आएपछि उनले संगठन कति कमजोर भैसकेको रहेछ भन्ने बल्ल थाहा पाइन् । उनी भन्छिन्- ' बढुवामा हुने चलखेलको जुन प्रचलन अहिले पनि छ । अनी हामी व्यावसायिक र मजबुत प्रहरी संगठनको नारा दिन्छौ, यी सब फगत भनाइ मात्र हुन्’, उनी निधक्क भन्छिन् ।
(पूर्व डिआईजी बिमला थापासँग गरेको कुराकानीको सम्पादित अंश)