वैदेशिक राेजगारीकाे विषयमा हजार पटक समीक्षा गरेँ। हरेक गतिविधि सँगसँगै जीवन भाेगाइकाे समीक्षा गर्नु भनेकै समाजकाे सर्वश्रेष्ठ प्राणीमा हुने गुण नै हाे। यूराेपेली देशमा जान अनेकाैं पटक साेचेँ। तर, आर्थिक क्षमताभन्दा टाढाकाे कुरा बनिदियाे, त्याे सपना। अन्ततः थाेरै लगानीमा केही वर्ष साउदी अरबकाे यात्रामा तम्सिएँ।
हरियाे पासपाेर्ट पनि दङ्गाली एजेन्ट 'बाेहाेरा जी' ले हात पारेकाे पाँचवर्ष बढी भइसके छ। इच्छाले अघि बढाउन पनि सकिनँ। पासपाेर्ट फिर्ता ल्याउन धेरै पटक प्रयास गरेँ। तर, मैले ल्याउन पनि पटक्कै सकिनँ। अन्तिममा उनैमार्फत् विदेशिने निर्णय मैले गरेँ।
म जस्तै, मेराे जस्ताे अनेकाैं अनेक पीडाका अनुभूति विदेशिन खाेज्ने र विदेशिएका आफन्तजन र नेपाली युवा जमातले वर्षाैँ अघिदेखि याे वा त्याे नाममा भाेगिरहेका छन्। भलै मैले भर्खरै सुरुवात गरेँ, वैदेशिक राेजगारीकाे अनुभव।
०००
मेरा भाेगाइहरू प्रतिलिपि गर्दैगर्दा कसैलाई नुनबिनाकाे तरकारी जस्ताे पनि लाग्न सक्छ। कसैलाई मसलै-मसलासहितकाे चाैरासी भाेजनकाे पनि लाग्न सक्छ! स्वदेशमा इच्छा हुँदाहुँदै विदेशिन बाध्या नेपाली उर्जाशील युवालाई मेराे जीवन भाेगाइ उत्प्रेरणाकाे स्राेत बन्ने छ। वैदेशिक राेजगारीकाे विषयमा अग्रजसँग पनि परार्मश, सल्लाह, सुझाव र नबुझेकाे पनि हाेइन। तर, विभिन्न कारणले साेचे जस्ताे पटक्कै भएन।
वैदेशिक यात्राबारे मन्थन गर्दैगर्दा खाडी देश साउदी अरबकाे एक कम्पनीमा सुपर मार्केटका लागि सेल्स म्यानकाे अन्तर्वार्ता खुलेकाे जानकारी मिल्याे। लगत्तै एजेन्ट ‘बाेहाेरा जी’ ले खबर पनि गर्नुभयाे। काठमाडाैँमा बसेर वैदेशिक राेजगारीकाे प्रक्रिया पूरा गर्न उहाँले विष्णु जीलाई जिम्मा दिनुभएकाे रहेछ। विष्णु जीकाे फाेन नम्बर पठाइदिनुभयाे। विष्णुसँग मेराे फाेनमा सम्पर्क भयाे।
०७८ पाैष २४ गते शनिबार बिहान ५:३० बजे म लिबाङदेखि काठमाडाैँका लागि हाइसकाे यात्रामा निस्के। तर राेल्पा समाचार पत्रिकाकाे छपाई भने अघिल्लाे राति १०:०० बजेतिर सक्कायाैं। यात्राकाे विषयमा पत्रिकाका प्रकाशक तथा सम्पादक मानसिंह विश्वकर्मा अर्थात् कान्छा मामासँग सल्लाह लिएँ। उहाँले पनि जानू नै भन्नुभयाे...।
०००
पत्रिकाकाे काम सकेर कार्यालयबाट राेल्पा अपसेट प्रेसका अपरेटर काका (युगान्त बुढा), सह-अपरेटर भाई (खुमबहादुर सुनार) र नयाँ भाइसँगै टुँडिखेलबाट पीपल चाैतारासम्म गफिँदै-गफिँदै हिँड्याैं। सुनसान लिबाङमा भलाकुसारी गर्दै आ-आफ्नाे काेठा पुग्न लम्किरहेका थियाैं। मित्रहरूले भाेलि बिहानकाे यात्राका लागि शब्दमार्फत् शुभ यात्रा दिइरहनुभएकाे थियाे। समय अभावकाे कारण धेरै गफिने माैका पाएनाैं। अनि साततलेबाट लाग्याैं, आ-आफ्नाे गन्तव्यतिर। तर, मैले उहाँहरूलाई के-का लागि काठमाडाैँ जाँदै छु भन्नेबारे कुनै पनि जानकारी पनि दिइनँ।
वैदेशिक यात्रा थाल्दै गर्दा एजेन्टले कैयाैंलाई वर्षाैसम्म काठमाडाैंमा अल्झाएकाे राम्राेसित थाहा थियाे। प्रश्न उठ्थ्याे– मेराे खाडी उडान समयमै नहुने पाे... हाेकि! अन्तर्वार्ता पास भएर भिजा आएपछि मात्रै कार्यालयका साथीभाइ, आफन्तजन, शुभचिन्तक र संगठनका कमरेडहरूलाई जानकारी दिने साेच गराएँ।
हाे! मैले प्रक्रिया थाल्नुअघि भनिनँ। नभन्नुमा मेरा केही बाध्यता पनि थिए। तर यस विषयमा स्वार्थी, अवसरवादी जे–जे आराेप लगाएपनि मैले स्वीकार्नुकाे विकल्प पनि थिएन र छैन पनि। यस्तै–यस्तै कारणले सामाजिक संघसंस्था र संगठनप्रति रुचि घढ्दै गइरहेकाे थियाे। विभिन्न कारणले संगठनकाे महत्वपूर्ण जिम्मेवारीमा रहेर काम गर्ने माैका पनि पाएँ। याे कुरामा म खुशी छु। तर मैले पद अनुसारकाे जिम्मेवारी निर्वाह नगरी विदेशिन खाेज्नु संघसंस्था र संगठनप्रति विश्वासघात थियाे। के गर्ने याे मेराे बाध्यता हाे। अब क्षमा–याचनाबाहेक अरू केही भन्न सक्दिनँ।
हर-मानिसका आ-आफ्नै समस्या हुन्छन्। मेरा पनि धेरै समस्या थिए, छन्। प्रायः राेल्पालीहरूले मेराे समस्या बुझ्नु भएकाे पनि छ। सकेजति मैले बुझाउने प्रयास पनि गरेँ। समयमा नै लाेकसेवा राम्राेसँग तयारी नगर्नु, कसैलाई आवश्यकभन्दा बढी विश्वास गर्नु मेराे भूल थियाे। त्याे परिणाम आज मेराे पत्रकारिता पेशा, घरपरिवार, जन्म ठाउँ, आफन्तजन, शुभचिन्त र राजनीतिक जीवनबाट धेरै टाढा जानुपर्ने कहालीलाग्दाे उकालीमा अड्केकाे छ।
०००
त्याे समय, चिसाे माैसम। घरमा पुग्दा खाना पनि चिसै। फेरि तताएर नरुचि–नरुचि खाएँ। भाेलिकाे यात्राका लागि औषधि पनि खाएँ। याे मेराे बाध्यता हाे। आवश्यक सामानहरू तयार गरेँ। अनि बिहानै ४:०० बजेकाे संकेत राखेँ माेबाइलमा। बाँकी यात्रा र कठिन भविष्य साेच्दा-साेच्दै निदाएछु।
बिहान ४:०० बजेकाे संकेतसँगै हत्तपत्त उठेँ। यता–त्यता गर्दागर्दै समय बितेकाे पत्ताे नै भएन। घरबाट करिब ५:०० बजेतिर हतारमा निस्केर टुँडिखेल पुग्दा ५:३० बजेकाे थियाे। अनि जलजला यातायात प्रालिकाे काउन्टरमा पुगेर हाइस साेधेँ। तर हाइस नआएकाे जवाफ आयाे कर्मचारीबाट। र, पत्रिका कार्यालय छेउमा गएर बसेँ।
टिकट काउन्टरबाट फाेन नआएपछि झन् तनाव थपियाे। एकतिर काठमाडाैंका लागि हाइस नजाने हल्ला छ, अर्काेतिर साेमबार नै साउदी अरबकाे एक सुपर मार्केटका लागि कामदारकाे अन्तर्वार्ता छ। जसरी पनि जानैपर्ने बाेहाेरा जीकाे उर्दी छ। म जसरी भएपनि काठमाडाैँ जाने निधाेसहित बुटवलसम्म अर्काे गाडीमा यात्रा गर्ने निर्णय गरेँ। हतारहतारमा हिमताल प्रालिका सफल बुढालाई सीटकाे अवस्था बुझेँ। उहाँले पनि मैले राेजेकै सीट व्यवस्था गरिदिनुभयाे। म एउटा तनाव तत्कालै बाहिरिएँ।
लिबाङबाट बुटवलकाे यात्रा सुरु गरेँ। गाडी तीव्र गतिमा अघि बढ्दै जाँदा मुस्कान (छाेराे) काे आमालाई समेत जानकारी गराएँ। काठमाडाैँ पुगेपछि फाेन गर्नुहाेला भन्दै उहाँले पनि राख्नुभयाे। मैले पनि राखेँ। उज्यालाे हुँदै थियाे, त्याे बेलासम्म पक्कै पनि बाबा उठ्नुभएकाे थिएन। मेराे याेजना पनि थाहा थिएन। एकपटक बताउनैपर्छ भन्ने पनि लाग्याे। यसैबीच म बुटवल निस्केँ...।
०००
काठमाडाैँ मेरा लागि खासै परिचित थिएन। पहिलाे पटक ०६५ सालमा एसएलसी परीक्षा सकेर इँट्टा बाेक्न पुगेकाे थिएँ। थानकाेट नजिककाे आदिनारायण इँट्टाभट्टामा करिब दुई महिना इँट्टा बाेक्ने काम मात्र गरियाे, त्याेबेला। तर, काठमाण्डाैं घुम्ने अवसर मिलेन। एसएलसी परीक्षाकाे नतिजा पनि असारकाे अन्तिम सातातिर प्रकाशित भयाे। साेचेकाे भन्दा फरक नतिजा हासिल गरियाे। सँगसँगै रमाइलाे किस्सा पनि छ– प्रमाणपत्रमा रेशम कुमार बि.क. हुनुपर्ने तर भइदियाे रेशम कुमारी बि.क.। तत्काल कुमारी सच्याउनका लागि सिद्द कैलाश माध्यमिक विद्यालय मिश्रीडाँडा, जिल्ला शिक्षा कार्यालय राेल्पा हुँदै क्षेत्रीय शिक्षा कार्यालय सुर्खेतसम्म पुगेँ।
त्याेबेला दाङभन्दा अन्य ठाउँ नगएकाेले सुर्खेतसम्मकाे यात्रा कठिन र चुनाैतीपूर्ण थियाे। तर, म भाग्यमानी छु र ठान्छु पनि। जेठी फूपुका साइँला छाेरा श्यामले दाङदेखि नेपालगञ्जसम्म हाइस चलाउनुहुँदाे रहेछ, मलाई थाहा थिएन। 'फूपुले चिन्ता नगर्नु भदै भाेलि बिहान तिम्राे साइँला भेनाकाे हाइसमा काेहलपुरसम्म जाने। अनि काेहलपुरबाट सुर्खेत जाने हाइस पाइन्छन्। सजिलै सुर्खेत पुग्ने भनी सल्लाह दिनुभयाे। बिहानै भेनासँग भेट गराएर हाइसमा चढाउनुभयाे।
...केही घण्टापछि काेहलपुर पुगेँ। लगत्तै ओर्लिएँ। केही समयपछि सुर्खेत जाने हाइस आयाे। हाइसमा चढेँ। त्याे हाइसमा मेराे जस्तै समस्या बाेकेका नेपालगञ्जका साथी पनि भेटेँ। कुराकानी भयाे। सुर्खेतकाे यात्रा दुवै जनाकाे नाैलाे नै रहेछ। एकअर्कालाई हेरेर आत्मबल बढायाैं। सुर्खेत बजारमा हाइसबाट ओर्लियाैं। क्षेत्रीय शिक्षा कार्यालय साेध्दै-साेध्दै धेरै समयपछि ठाउँमै पुग्याैं।
सुर्खेतबाट फर्केपछि माइला काकालाई काठमाडाैँ आउने कुरा जानकारी गराएँ। सुर्खेतमा मेराे समस्या समाधान भएन। परीक्षा नियन्त्रण कार्यालय सानाेठिमी भक्तपुर नै पुग्नुपर्ने भएपछि सुर्खेतबाट एक्लै रात्री बस चढेँ। त्यसै क्रममा काठमाडाैँ पुग्ने पनि अवसर त मिल्याे। तर, घुम्ने अवसर चाहिँ मिलेन।
०७० तिर पासपाेर्ट बनाउन फेरि काठमाडाैँ पुगेँ। तर, लामाे समय बसिनँ। वर्षाैँपछि फेरि काठमाडाैँ जाने काम परेकाे थियाे र गएँ। गाेरखापत्र दैनिकमा राेल्पाबाट समाचारदाताका लागि आवेदन दिन ०७७ साल फागुन महिनामा काठमाडाैँ पुगेँ। तर, सबै ठाउँ घुम्ने माैका नै मिलेन।
०००
काठमाडाैँ नगएकाे तीन वर्षभन्दा बढी भइसकेकाे थियाे। बामरूक नजिकका घुम्तीदेखि निदाउने प्रयास गरेँ। अनि म केही समयमा भुसुक्क निदाएँ। निन्द्रासँगै सुलिचाैर पुगेँ। सुलिचाैरमा गाडी राेकिएपछि टाउकाे दु:खे जस्ताे भयाे। तर, वाकवाकी चाहिँ भएन। केही समयपछि गाडी सुलिचाैरबाट गन्तव्यतिर तीव्र गतिमा अघि बढ्याे। स्वास्थ्यमा समस्या नभएपनि आत्मविश्वास बढिरहेकाे थियाे।
सडक वरिपरका रमणीय वातावरणका अनेकाैं दृष्य हेर्दै र निदाउँदै प्यूठान पुगेँ। प्रख्यात ठाउँ चकचेक पुगेँ। म निद्राबाट ब्यूँझेँ। खाना खाएँ। र, लामाे समयसम्म निन्द्रामा परेछु, प्यूठानकाे बडडाँडा हुँदै बुटवलसम्म परेँ।
हाइसले बुटवलमा १:०० बजेतिर पुगियाे। चालकले काठमाडाैँका छुट्ने बसपार्क छेउमा छाडिदिए। हाइस पनि भेटियाे। धेरै पछाडिकाे सीटमा परेँ। वाक्ने चिन्ताले थप तनाव थपियाे। हाइस छुट्ने समय ३:०० बजे पाे रहेछ। यात्रुहरू चाकलसँग रिसाउन थाले। तर चालक, सह-चालकले यात्रुहरूकाे आक्राेशलाई बेवास्ता गर्दै काठमाडाैँ, काठमाडाैँ भनेर नयाँ यात्रुलाई बाेलाउँदै हिँड्थें।
०००
अघिल्लाे महिना प्रेस सेन्टर नेपालकाे चितवनमा आयाेजित केन्द्रीय महाधिवेशनमा जाँदा दाउन्नेदेखि गैंडाकाेट अनि नारायणी नदीलगायतका रमणीय ठाउँहरूकाे अवलाेकन गर्ने माैका पाएकाे थिएँ। दाउन्नेदेखि गैँडाकाेटसम्म फेरि ती रमणीय ठाउँहरूकाे हाइसकाे गतिमा अवलाेकन गर्दै नारायणघाट पुगियाे। झमक्क साँझ परिसकेकाे थियाे।
निकैबेरसम्म सुतेँ। हाइस थानाकाेट पुगेकाे थाहा नै पाइनँ। प्रहरीले चेकजाँच गर्दा म निद्राबाट ब्यूँझेँ अनि वरिपरीकाे वातावरणलाई नियालेँ। रातकाे समय धेरै यात्रुहरू निदाउनु भएकाे थियाे। झिलिमिलाे बत्ती बलेकाे अनि केही सवारीसाधन आवतजावत गरेकाे देखिन्थ्याे। कठिनका यात्राका बीच काठमाडाैँ पुगेँ।
कलङ्की हुँदै अगाडि बढ्दै गर्दा घरतिर पनि फाेन सम्पर्क गरेँ। उता एजेन्टसँग पनि नियमित सम्पर्कमै थिएँ। फाेन गरेकाे धेरै समयपछि छाेराकाे आमाले फाेन उठाउनुभयाे। म कलङ्की पुगेकाे जानकारी गराएँ।
०००
काेराेना भाइरसकाे त्रास चलिरहेकाे थियाे। निकै जाेखिम थियाे। जताततै डर थियाे। दाङका अन्य ६ जना साथीहरू सुतिरहेकाे काेठामा म एउटा पनि थपिएँ। जति उमेर बढ्दै गयाे, उति नै पीडा थपिँदै जाँदा रहेछन्। प्राणीहरूमा चलिरहने प्रकृतिकाे नियम नै रहेछ। त्याे रात राम्राेसँग निन्द्रा पनि लागेन। मनमा हुरीबतास झैँ तीव्र गतिमा खेल्न थाले। साेच्दा-साेच्दै कतिबेला भुसुक्क निन्द्रा लागेछ।
बिहान अबेरसम्म सुतेँ। उठेर सरसफाई गरेँ। त्यतिबेला सबै साथीहरू उठिसकेका रहेछन्। र मलाई प्रश्न गरे– तपाईं पनि भिजा लगाउन आउनु भएकाे हाे? तपाईं राेल्पामा के काम गर्नुहुन्छ? काेराेनाकाे जाेखिम बढेकाे बेला किन काठमाडाैँ आउनुभयाे? कति पढ्नु भाछ? सीप के-के सिक्नु भाछ? घरमा काे-काे हुनुहुन्छ? के काममा भिजा लगाउने साेच छ? कुन देश जान लाग्नु भएकाे हाे? ममाथि अनेकाैं प्रश्नहरू थपिए। तर म नजवाफ भएँ। बाेल्नै सकिनँ। ढक्क अडिएँ। तर पनि हिम्मत हारिनँ।
मैले पनि भन्न थालेँ– सामान्य लेखपढ हुँ। विवाहित छु। दुईवटा छाेरा छन्। खाडी मुलुकमा जाने साेच बनाएकाे छु। सीप त त्यस्ताे खासै छैन। साउदीकाे सुपर मार्केटकाे सेल्स म्यानमा आज अन्तर्वार्ता छ रे! यस्तै–यस्तै बाेली फर्काएँ। र, कुराकानी गर्दै जाँदा मलाई केही कुराहरू खाेल्न बाध्य बनाउनुभयाे। लिबाङमा बसेर पत्रकारिता गरेकाे बताएँ। उहाँहरू अच्चमित हुँदै भन्नुभाे– तपाईं जस्ताे मान्छे खाडी मुलुकमा कहाँ जाने! यही गरिरहेकाे कामबाट जीवन निर्वाह गर्नुहाेस्।
बाध्यताहरू सबै छर्दिन सक्थेँ तर चाहिनँ। उनीहरूमध्ये कति त साउदीका लागि उड्न तयार रहेछन्। साथीहरू आ-आफ्नाे कामतिर लाग्नुभयाे। म एक्लै काेठामा बसेँ। काेराेनाकाे सङ्क्रमण दैनिक बढेपछि सबै ठाउँमा दुरी कायम, अनिवार्य मास्क, सेनिटाइजरकाे प्रयाेग गर्नुपर्थ्याे। सरकारले अघाेषित लकडाउनकाे हल्ला चलाएकाे थियाे। काेराेनाकाे त्रासले प्रत्येक मानिसहरूकाे मानसपटलमा कम्पनसमेत आएकाे थियाे। मानिसहरू काठमाडाैँबाट आफ्नाे जन्मथलाेतिर फर्किन भीडभाड गरिरहेका थिए।
०००
साेमबार बिहान अन्तर्वार्ताका लागि आवश्यक कागजात तयार पारेँ। हाेटेल नजिककाे एक म्यानपावर कम्पनीमा एजेन्ट बाेहाेरा जी र मैले आवेदन बुझायाैं। त्यहाँ अन्तर्वार्ता दिनेहरूकाे निकै भीड थियाे। म्यानपावरका प्रतिनिधिले हिन्दी भाषामा आधारभुत कुराहरू सिकाउनुभयाे। जसरी पनि पास हुने लक्ष्यका साथ मैले पनि तयारी गरेँ।
...मेराे पालाे ४६ जनापछि थियाे। पालाे पर्खिँदा–पर्खिँदा बल्ल आयाे। पालाे त आयाे तर, भाषा हिन्दीमा। कसरी बाेल्ने चिन्ता पनि थपियाे? न भारतमा बसेकाे, न त हिन्दी फिल्म हेरेकाे? हिन्दी त फिटिक्कै नजान्ने। लगत्तै सुरक्षा गार्डले भित्र पठाउनुभयाे। अनि म गएँ। साउदी अरबबाट अनलाइनकाे माध्यम प्रयाेग गरेर सुपर मार्केटका प्रतिनिधिहरूले अन्य साथीहरूलाई हिन्दी भाषामा अन्तर्वार्ता लिँदै गरेकाे देखेँ। तर्सिएँ म। मलाई अंग्रेजी भाषामा लिए हुन्थ्याे भन्ने लागेकाे थियाे। तर, हिन्दीमा नै नाम, अनुभव आदि–आदि साेधे। मैले पनि सकि नसकि थाेरै जवाफ फर्काएँ।
मनभरी अनेकाैं काैतुहल्ता बाेकेर हाेटेल फर्किएँ। तर, नतिजा साेही दिन प्रकाशित गरेन म्यानपावरले। मंगलबार पाैस २७ गते बिहान खाना खाएर नतिजा हेर्न गएकाे त सुपर मार्केटकाे सेल्स म्यानमा कुनैकाे पनि नाम थिएन। दुःखी हुँदै फर्केँ। साेही दिन साउदीकै एक प्लाष्टिक कम्पनीकाे अन्तर्वार्ताका लागि तयार भएँ।
अमिटि ग्लाेबल म्यानपावरका एजेन्टसँग सम्पर्क गरेँ। फेरि पनि उत्साहका आवेदन बुझाएँ। अनि १:०० बजे रहेछ अन्तर्वार्ताकाे समय। मलाई म्यानपावरका कर्मचारीले अन्तर्वार्ताकाे विषयमा धेरै सहयाेग गर्नुभयाे। अन्तर्वार्ता भिडियाे रेकर्ड गरेर कम्पनीकाे प्रतिनिधिलाई म्यानपावरले पठाउँदाे रहेछ। म्यानपावरकाे प्रतिनिधिले मलाई भित्र बाेलाउनुभयाे। मैले म्यानपावरका प्रतिनिधिलाई विदेशिनुकाे बाध्यताबारे जानकारी गराएँ। र, त्याे भिडियाे पनि रिजेक्ट गरेकाे खबर मलाई अन्तर्वार्ता लिने म्यानपावरकाे प्रतिनिधिले फाेनमार्फत जानकारी दिनुभयाे। असफलताले दुखित बनायाे।
०००
हाेटेलमै थिएँ। एजेन्टलाई याे खबर सुनाएँ। दुईपटक अन्तर्वार्तामा असफल भएपछि राम्राे काममा जाने सपना बन्द भएकाे महशुस गरेँ। याे समयमा काठमाडाैँ, भक्तपुर, ललितपुरलगायतका ठूला–ठूला शहरहरू अनि ग्रामीण जिल्लाहरूमा काेराेना भाइरसकाे दैनिक वृद्धि भइरहेकाे थियाे। काेराेनाकाे त्रासपूर्ण अवस्थामा मैले वैदेशिक राेजगारीमा जाने निर्णय पनि उत्तिकै जाेखिम र चुनाैतीपूर्ण थियाे। तर, पनि सबै जाेखिमहरूलाई बेवास्ता गर्दै वैदेशिक राेजगारीमा जानका लागि दैनिक फरक-फरक कामका लागि अन्तर्वार्ता दिँदै हिँडे।
बुधबार ग्लाेबल म्यानपावरमा दिउँसाे २:०० बजे अन्तर्वार्ताका लागि आवेदन बुझायाैं। मसहित १६ जना थिए। अन्तर्वार्ताकाे पालाे अन्तिम-अन्तिमतिर थियाे। म्यानपावरकाे प्रतिनिधिले भित्र बाेलाउनुभयाे। ज्याकेट निकालेर कमिजसँग अन्तर्वार्ता दिने तयारी गरेँ। अनि साउदी कम्पनी इटिम्याडीका प्रतिनिधिहरू भिडियाेमा जाेडिनुभयाे र मलाई अंग्रेजीमा मेराे परिचय, पारिवारिक अवस्था, मेराे अनुभवलगायतका प्रश्नहरू साेध्नुभयाे। मैले पनि जवाफ दिएर बाहिरिएँ।
प्रतिनिधिले फाेन गरेर मलाई बधाई दिँदै अन्तर्वार्ता दिएका १६ जनामध्ये तपाईं मात्र पास हुनुभयाे भन्ने खबर छाडे। म खुशी भएँ, रमाएँ। एकछिन पछि फेरि टाेलाएँ। झट्ट सम्झेँ, म बेचिँदै छु। म जन्मभूमि छाड्दै छु। तरपनि याे खबर छाेराकाे आमा, भाइ– माइला, कान्छा र आमालाई फाेनमार्फत् जानकारी गराएँ। लगत्तै म्यानपावरमा फर्किएँ।
पुल्चाेक नजिक रहेकाे साईवा मेडिकल सेन्टरले मेराे स्वास्थ्य परीक्षण गराउनुपर्ने म्यानपावरका प्रतिनिधिले जानकारी दिनुभयाे। अनि स्वास्थ्य परीक्षणका लागि त्यतै लागेँ। त्यहाँ पुगेर स्वास्थ्य परीक्षणकाे कागजातसहित हाेटेलमा फर्केँ।
०००
साथीहरू पनि काम सकाएर घरतिर फर्किनुभयाे। म एक्लै भएँ काेठामा। प्रहरी रिपाेर्टकाे प्रक्रिया मंगलबारदेखि सुरूवात गरेकाे तर, माेबाइलमा सन्देश पनि बिहिबार बिहानसम्म आएन। बिहानकाे खाना खाएर स्वास्थ्य परीक्षणका लागि पुल्चाेक नजिक रहेकाे साईवा मेडिकल सेन्टरमा पुग्नका लागि हाेटेलबाट रिङराेड निस्किएँ। रिङ राेडदेखि पुल्चाेक जाने गाडी नपाइँदाे रहेछ। पुल्चाेक जानका लागि धेरै गाडीका स्टाफहरूलाई साेधेकाे त्यहाँ जाँदैन भन्ने जवाफ आयाे...।
धेरै समयपछि एउटा गाडीकाे स्टाफले बसुन्धारा नजिककाे रिङराेडबाट गाडीमा बस्न अनुराेध गरे। म गाडीमा चढेँ। बसुन्धारा नजिककाे रिङराेड हुँदै पुल्चाेक पुगेँ। गाडीबाट आर्लिएर साईवा मेडिकल सेन्टर वरपर हेरेँ। तर, पत्ता लगाउन सकिनँ। एउटा पसलका साहुजीलाई साेधेँ? केही समयपछि मेडिकल सेन्टरमा पुगेँ। मेडिकल सेन्टर रहेकाे भवनकाे माथिल्लाे तल्लामा पुगेँ। तर, स्वास्थ्य परीक्षण गराउनेहरूकाे भीडभाड थियाे।
स्वास्थ्य परीक्षणमा पास भएकाे कुरा घरपरिवार अनि शुभचिन्तकहरूलाई सुनाएँ। आइतबार खाना खाएर पुल्चाेक आउने गाडीमा चढेँ। पुल्चाेक नआउँदै प्रहरी रिपाेर्ट आएका सन्देश माेबाइलमा आयाे। थप खुशी थपियाे। मेडिकल सेन्टरमा आएर स्वास्थ्य परीक्षणकाे रिपाेर्ट लिएर हाेटेलमा आएँ। साइबर कक्षमा गएर प्रहरी रिपाेर्ट निकालेर राहदानी कार्यालयमा छाप लगाएर एजेन्टलाई सबै कागजातहरू थमाएँ।
०००
करिब एक हप्ता काठमाडाैँ बसाई ठिकठिक्कै भयाे। तर, साेचेकाे जस्ताे काममा चाहिँ भिस्सा लगाउन नपाउँदा याे मन धेरै खुसी थिएन। काठमाडाैँबाट घर फर्किँदासम्म स्वास्थ्य अवस्था ठिक्कै थियाे। वैदेशिक राेजगारकाे सुरुवाती प्रक्रिया भूमिगत शैलीमा सम्पन्न गरेर बाँकी साउदी अरबकाे उडानकाे पर्खाइ सँगसँगै नियमित कार्यालयकाे काममा जाेडिएँ।
राेल्पा फर्केपछि साेचे राम्राे अवसर हात पार्न त समयमा नै मेहनत गर्नुपर्दाे रहेछ। समयमा नै उचित परामर्श, विमर्श, प्राेत्साहन, प्राेत्साहित, सहजिकरण, मनाेविमर्श, उचित सल्लाह, मार्ग निर्देशन जस्ता मुलभूत पक्षहरू नै सफल जीवनका आधार रहेछन्। यी कुरा सँगसँगै समयमा मेहनत पुगेन भने जीवन नै असफलकाे दिशामा माेडिँदाे रहेछ। जीवनकाे चालक स्वयम् व्यक्ति नै रहेछ...।
बाँकी अर्काे भागमा...
पत्रकार रेशम वि.क. रोजगारीका लागि सात समुन्द्र पारी साउदी अरब पुगेका छन्। उनले रोल्पादेखि अरबसम्मको यात्रा संस्करण बिएल नेपाली सेवामार्फत् भाग–भागमा प्रकाशित गर्नेछन्। यो उनको निजी अनुभव हो। – सम्पादक