डेढ वर्षदेखि ‘ए.एल.एस.’ रोगबाट थलिएका टेण्डीको अमेरिकामा पनि भएन उपचार (भिडियाे अन्तर्वार्ता)

तस्बिरः संजोक आचार्य

२०४६ सालमा प्रजातन्त्र स्थापनापछि अस्कल क्याम्पसबाट उदाएका तत्कालिन एमालेको विधार्थी संगठनका ‘चर्चित बाहुबली’ विद्यार्थी नेता टेण्डी शेर्पा विगत ६ महिनादेखि गुपचुप उपचार गराइरहेका थिए। तर, अमेरिकामा पनि उनको उपचार नहुने भएपछि उनलाई मंगलबार बिहान ७ बजे भारतको नयाँ दिल्लीतर्फ लगिएको छ।

टेण्डी डेढ वर्षदेखि ‘ए.एल.एस.’ रोगबाट थलिएका थिए। शरीरको नसा सुक्ने अत्यन्तै दूर्लभ रोगको पहिचान भएपछि उनलाई पहिले उपचारका लागि थाइल्यान्डको राजधानी बैंकक पुर्याइएको थियो।

बैंककमा चिकित्सकले उपचार नहुने बताएपछि उनलाई थप उपचारका लागि चीन लगिएको थियो। चीनमा पनि उपचार नहुने बताइएपछि अमेरिका लगिएको परिवारिक श्रोतले जानकारी दियो।

टेण्डी पछिल्लो समय नेपाली खेलकुदमा सक्रिय थिए। उनी नेपाल ओलम्पिक कमिटीका महासचिव र राष्ट्रिय खेलकुद परिषद्को उपाध्यक्षमा क्रियाशील थिए। खेलकुद परिषद्मा उनको कार्यकाल पुरा भइसकेको छ भने उनी हाल नेपाल बास्केटबल संघको अध्यक्ष र ओलम्पिक कमिटीको महासचिव छन्।

उनीसँगै नेपाल ओलम्पिक कमिटीमा लामो समय काम गरेका जीवनराम श्रेष्ठले टेण्डी शेर्पाको स्वास्थ्य लाभको कामना गरेका छन्। नेपाल ओलम्पिक कमिटीको अध्यक्ष रहेका श्रेष्ठले बीएल मिडियासँग भने, ‘मैले पनि अमेरिकामा उपचार नभएर दिल्ली आउने कुरा सुने। उहाँ पार्टीको जुझारु नेता त हुँदै हो। खेलकुदमा उहाँको योगदान थुप्रै छ।

रोग भन्ने कुरा ठिक नहुने भन्ने छैन। उहाँको खेलकुदलाई मात्र होइन, राजनीतिमा पनि खाँचो छ। त्यसैले पूर्ण स्वास्थ्य भएर फर्किनु हुन्छ भन्ने कामना गर्दछु।’

अमेरिकामा बसोबास गर्ने टेण्डीका दाजु नवाङ निमा शेर्पाले भाईकै आग्रहमा आयुर्वेदिक उपचारका लागि नयाँ दिल्ली लगिएको बताए।

उनले अमेरिकाको न्युयोर्कमा बीएल मिडियालाई अन्तर्वार्ता दिँदै भने, ‘दिल्लीमा उनको २१ दिन उपचार हुनेछ।’ उनले टेण्डीले नेपाल फर्किने चाहना राखेको पनि जानकारी दिए।

प्रकाशित मिति: : 2019-07-30 17:06:07

प्रतिकृया दिनुहोस्