व्यवसायमा महिला हिंसा 

ब्युटीपार्लर खोल्दा नक्कली भने, चिया भन्दा साहुनीको तारिफ !

पोखरामा ठूलासाना इभेन्ट (कार्यक्रम) आयोजान गर्नु परे आजभोलि धेरैले लिने गरेको नाम हो, शोभा गौतम। सार्वजनिक सभा समारोहमा पनि अतिथिका रुपमा उनैलाई डाँक्छन्। 

१६ वर्षमै बिहे गरेर पराई घर पुगेकी शोभालाई व्यवसायीमा जम्नु कम्ति चुनौती थिएन। घाटा ब्यहोर्नुपर्ने जोखिम पनि कम हुने। नाफा पनि अरु व्यवसायभन्दा राम्रो आउने देखेर होटल व्यवसायमा हात हाल्ने विचार गरिन् शोभाले। कम लगानीबाट व्यवसाय सुरु गरेर व्यवसाय बढाउदै लैजाने योजना बनाइन्। सुरुमा चिया पसलबाट व्यवसायिक यात्रा सुरु गरिन्। सोचे भन्दा बढी नाफा पनि निकालिन्।

तर, लामो समयसम्म यो व्यवसायमा उनको मन बसेन। ‘चिया पसलबाट कमाईं पनि राम्रो थियो। सबै होइन, चिया पिउन आउने कोही–कोही ग्राहकको दृश्टिकोण एकदमै नराम्रो,’ पर्यटन व्यवसायी महिला संघ नेपालले आयोजना गरेको व्यवसायमा महिला हिंसा सचेतना कार्यक्रममा आफ्नाे अनुभूति बाड्दै उनले भनिन्, ‘कति राम्री साहुनी भनेर भन्ने ! त्यो भन्दा चिया मिठो खुवाउनुभयो भनेर भनेको भए कति खुसी हुन्थे होला।’

पछि यो व्यवसायमा उनको मन बसेन। कमाई राम्रै भए पनि यो व्यवसायमा सन्तुष्टि मिलने रे ! उनलाई। चिया पसल बन्द गरेर ब्युटिपार्लर सिक्न गइन्। त्यहाँ पनि उनले राम्रो प्रतिक्रिया पाइनन्। ब्युटीपार्लरलाई नक्कलीहरुले गर्ने व्यवसाय भनेको सुनिन्। त्यसपछि पार्लरमा पनि उनको मन बसेन।

अहिले पोखराको सफल महिला व्यवसायीको रुपमा गनिन्छिन् शोभा। ‘अहिले जहाँ छु त्यहाँ सम्मान छ। इभेन्ट म्यानेजमेन्ट बाहेक अन्य व्यवसायमा पनि मेरो भूमिका छ,’ उनले भनिन्। आफू जस्तै अरु महिलाहरु पनि व्यवसायमा अघि आइदिए हुन्थ्यो जस्तो लाग्छ उनलाई। तर, व्यवसायी महिलाहरुको संख्या निकै कम छ।

टेवानकी संस्थापक अध्यक्ष तथा सफल पर्यटन व्यवसायी लक्की कार्की क्षेत्रीले अधिकार सुनिश्चित गर्न आ–आफ्नाे ठाउँबाट लड्नुपर्ने बताइन्। आफ्नाे व्यवसायीक जीवनको अनुभूति बाड्दै उनले परम्परा र संस्कृतिमाथि औंला नउठाई आइपर्ने अवरोध र बाधालाई उजागर गर्नुपर्ने आवश्यकता अहिलेको धारणा राखिन्।

‘हिसांत्मक घटनाले सम्पत्तिको क्षति हुनु, शारिरिक कमजोरी हुँदा उत्पादकत्व घट्नु, हिंसामा परेका महिलाहरुले लिएको मानसिक चिन्तनले काममा बाधा आउनु सबै व्यवसाय क्षेत्रमा देखिएका महिला हिंसाका उदाहरण हो,’ उनले भनिन्, ‘पर्यटनको क्षेत्रमा महिलालाई प्रदर्शन गर्ने प्रवृति मौलाउँदा हिंसात्मक गतिविधिको न्यूनिकरणमा समस्या आइरहेको छ।’ महिलाहरुको मद्दालाई सरकारले सम्बोधन गर्नुपर्ने उनको भनाई थियो।

०००

अर्की महिला उद्यमी बिनु कोइराला सुवेदीले महिलाहरु आफूमाथि हुने गरेको हिंसा पैतालाले कुल्चेर अघि बढ्न सक्ने बताइन्। महिलाहरु आर्थिक कारणले पनि पछि पर्ने गरेको उनको भनाई छ। महिला पुरुष दुवै जना उद्यमशिल बन्न सके पुरुषहरुमाथिको आर्थिक भार कम हुने साथै आर्थिक क्षेत्रमा समेत टेवा पुग्ने उनको भनाई थियो।

कार्यक्रमकी विशेष अतिथि गण्डकी प्रदेशकी सांसद समेत रहेकी मीना गुरुङले द्वन्द्वकालिन समयदेखि आजसम्म महिलाहरु अधिकारका लागि लडिरहेको बताइन्। ‘जबसम्म महिलाहरुको एउटै आवाज हुँदैन तबसम्म अधिकारबाट वञ्चित भइराख्नुपर्छ,’ उनले भनिन्। महिला अधिकारका कानून निर्माण भएता पनि कार्यान्वयन पक्ष फितलो हुँदा समस्या देखिएको उनको भनाई थियो।

कार्यक्रमका प्रमुख अथिथि गण्डकी प्रदेश सरकारका कानून, संचार तथा प्रदेश सभा मामिला मन्त्री विन्दुकुमार थापाले महिला हिंसा न्यूनिकरण सम्बन्धि कानून बनाउन आफू अग्रसर रहेको बताए। महिला हिंसा न्युनिकरणका लागि कानून निर्माण गर्ने प्रक्रियामा गण्डकी सरकार लागि परेको उनले बताएका थिए।

संघकी अध्यक्ष रेणु थापा मगरले हरेक कुरालाई हिंसासँग जोडेर हेर्न नमिल्ने बताइन्। ‘यसलाई चुनौतीको रुपमा पनि हेर्नुपर्छ,’ उनले भनिन्। महिलाहरुलाई व्यवसायमा स्थापित गर्न लागि रहेको संस्था टेवानको नेतृत्व गरि रहेकी थापाले समस्याले नै महिलाहरु निखारिदै जाने भनाई राखिन्।

महिलाहरु कत्ति पनि विचलित नभई अघि बढ्नुपर्ने उनको भनाई थियो।

कार्यक्रममा पर्यटन महिला, पुरुष पर्यटनकर्मीहरु सहभागी थिए। महिलाले व्यवसायमा भोग्नु परेको हिंसाबारे आफ्नाे अनुभव समेत साटेका थिए। पर्यटन व्यवसायी गणेश भट्टराई, चिरञ्जिवी पोखरेल  लगायतले शुभकामना मन्तव्य राखेका थिए भने अधिवक्ता तारा शर्माले महिलाहरुलाई कानुनी समस्याहरुबारे सुनाएकी थिइन्।

कार्यक्रमको संयोजन व्यवसायी पवित्रा थापा मगरले गरेकी थिइन्। पोखरा महानगरपालिका सामाजिक विकास महाशाखा, ह्युजटन कलेज, नेपाल टुरिजम बोर्ड र इम्पावोरिङ वुमन्स अफ नेपालले कार्यक्रम आयोजानका लागि सहयोग गरेको थियो। महिला हिंसा विरुद्धको १६ दिने अभियान अन्र्तगत सो कार्यक्रम आयोजना गरिएको थियो।

घरधन्दा सकेर व्यवसायमा फराकिलो परिचय

घर सम्हाल्दै, व्यवसायमा छलाङ

प्रकाशित मिति: : 2021-12-06 20:27:00

प्रतिकृया दिनुहोस्