महिलाकाे सफल कथा–१
असन कमलाक्षीमा एउटा पुरानो र इतिहास बोकेको साइकल पसल छ। जसको नाम हो, पञ्चनारायण–अस्टनारायण। ९२ वर्ष पहिले नेपालमा पहिलो पटक साइकल भित्रिएको यही घरमा सुमित्रा मानन्धर गुरुङको जन्म भएको थियो।
उनका बुवा तिर्थनारायण महर्जन पहिलेदेखि नै समाजसेवी थिए।
तिर्थनारायणले राणाकालमै काठमाडौंको मरु गणेशस्थान नजिकै महिलाका लागि स्कुल नै स्थापना गरेका थिए। जसका कारण उनले केही दिन जेलको हावा खानु परेको थियो।
तिर्थनारायणकी ३ छोरी र ३ छोरामध्ये साइली हुन्, सुमित्रा मानन्धर।
सानैदेखि अध्ययनमा रुचि राख्ने सुमित्राले २०३५ सालमै त्रिभुवन विश्वविद्यालयबाट भूगोलमा स्नाकोत्तरको पढाई पुरा गरिसकेकी थिइन। उनले थाइल्यान्डको राजधानी बैककस्थित एआइटी कलेजबाट ‘ह्युमन सेटलमेन्ट प्लानिङ’ मा थप स्नाकोत्तर गरेकी थिइन।
उनी अध्ययनरत रहेकै बेला सन् १९७६ मा एसिक एकहोम नामक स्विस भूगोलविद्ले नेपालबारे एउटा लेख प्रकाशित गरे। जसको नाम थियो, लुजिङ्ग ग्राउन्ड।
उनको किताबमा लेखिएको छ– नेपालमा अत्याधिक मात्रामा भएको भूक्षयले ‘बे अफ बंगाल’ मा एउटा टापुनै निर्माण भएको छ। नेपालको माटोले बने पनि त्यो टापुले एक सुको नेपाललाई उपलब्ध गराउँदैन्। नेपाल भू–क्षयको अत्यन्तै जोखिममा परेको देश हो।’
एकहोमको यो पुस्तक त्यतिबेलै अन्तर्राष्ट्रियस्तरमा बहसको विषय बनेको थियो। उनको किताब पढेर स्विट्जरल्याण्ड, क्यानडा, अमेरिकालगायत विभिन्न देशका बुद्धिजीवि नेपाल आएका थिए।
यो घटनाले सुमित्राको पनि ध्यान तान्यो। यसपछि भूगोलमा स्नाकोत्तर गरेकी उनी ‘माउन्टेन ह्याजार्ड ईन डेभलपमेन्ट’ मा पीएचडी गर्न कोलोराडोको क्लार्क विश्वविद्यालय हानिइन्।
त्यतिबेला उनले छनोट गरेको विषय नेपालीहरूका लागि नौलो थियो। त्यसैले उनलाई छात्रवृत्ति पाउन खासै गाह्रो परेन्।
पीएचडी गर्ने क्रममा उनले नेपालको भूमि संरक्षणमा महिलाको कति ठूलो भूमिका हुँदो रहेछ भन्ने महसुस गरिन्।
नेपालका खेतहरूमा गह्रा लगाउनेदेखि भू–क्षय कम गर्न रुख रोप्ने सबै काममा महिलाको भूमिका प्रभावकारी हुने गरेको छ। महिलाहरूको यति धेरै काम हुँदा पनि उनीहरूको कदर नभएको देखेपछि उनको मन कुँडिएको थियो। त्यसैले उनले महिला शसक्तिकरणमा काम गर्नुपर्छ भन्ने सोचेर सन् २००९ मा ‘महिला सहयात्रा माइक्रोफाईनान्स वित्तिय संस्था’ स्थापना गरिन्।
२८ जना महिला मिलेर नेपालमा पहिलो पल्ट खोलिएको महिलाको एकमात्र राष्ट्रिय स्तरको बैकलाई यसै वर्ष संयुक्त राष्ट्र संघले उच्च मूल्यांकन गर्यो। र, गत मार्चमा संयुक्त राष्ट्र संघको ग्लोवल अवार्ड भन्ने संस्थाले वहराईनकी महारानीको नाममा स्थापना गरिएको ‘प्रिन्सेस् सविका विन ईब्राहिम–अल खलिफा’ अवार्डबाट पुरस्कृत गरियो।
विश्वका १८ सय ८७ आवेदनमध्ये नेपालले १ लाख अमेरिकी डलर बराबरको यो अन्तराष्ट्रिय पुरस्कार प्राप्त गरेको हो।
‘मलाई अहिले पनि कल्पना लागिरहेको छ। सुरुमा काम गर्दा धेरैले यो सम्भव छैन भन्थे। तर, हाम्रो कामको मूल्यांकन संयुक्त राष्ट्र संघले पनि गरेको छ,’ सावित्री बीएल मिडियासँग भन्छिन्।
नेपालको अतिविकट क्षेत्रका महिलाहरूको आर्थिकस्तर सुधार गर्ने उद्देश्यले सुरु गरिएको यो संस्थाको मुख्य कार्यालय मकवानपुरको चित्लाङ्गमा छ।
सन् २००९ मा राजधानी काठमाडौंमा खोलिएको यो संस्थाले काम गरेको १० वर्षभित्र रुकुम रोल्पा, मुगु, लगायत २७ वटा ठाउँमा शाखा खोलिसकेको छ।
हाल यो संस्थामा ३२ हजार महिला आवद्ध छन्।
नेपालमा अन्य महिलाहरू पनि संगठित भएर खोलेका थुप्रै सहकारी संस्थाहरू छन्। तर अरुभन्दा यो पृथक किन छ भने, अन्य लघुवित्तमा पैसा जम्मा गर्दा नागरिकता चाहिन्छ। विवाहित हुनपर्ने प्रावधान छ।
तर, यो संस्थामा कर्जा लिन विवाह पनि गर्नुपर्दैन् र नागरिकता पनि आवश्यक पर्दैन्।
‘नेपालमा विभिन्न हिंसामा परेका, वेचविखनबाट फर्किएका धेरै महिलाको नागरिकता छैन। त्यसो भए, के उनीहरूले कतैबाट सहयोग नपाउने त?’ महिला सहयात्रा माईक्रोफाईनान्स वित्तिय संस्थाका कार्यकारी संचालक सुमित्रा प्रतिप्रश्न गर्छिन्।
संस्थाको सदस्य बन्न ७ महिला समूहको ग्यारेन्टी आवश्यक पर्नेगर्छ। ‘कसैले कामको योजनासहित ७ महिला समुहलाई ग्यारेन्टीको रुपमा ल्याएको खण्डमा हामी १८ प्रतिशत ब्याजमा ५ लाख रुपैयाँ सम्म बिना धितो ऋण दिन्छौं,’ उनी भन्छिन्।
सुमित्राको दावी छ, अरु लघुवित्तले ऋण मात्र दिन्छन्, सीप दिदैनन्। तर, उनको संस्थाले जुन व्यवसायमा महिलाहरूले ऋण लिन इच्छा देखाउँछन्, उनीहरूलाई तालिमको व्यवस्था पनि गरिएको छ।
‘माछा पाल्छु भनेर ऋण लिने तर सम्वन्धित विषयको ज्ञान नहुँदा जोखिम उत्तिकै हुन्छ,’ उनले भनिन्, ‘यसै कारण हामीले सीपसहितको ऋण उपलब्ध गराउन थालेका हौं।’
महिला सहयात्रा माईक्रोफाईनान्सले विशेषगरी हिंसामा परेका, युद्धको समयमा बलात्कृत भएका, गरिबीका कारण क्याविन, डान्सवार, मसाज सेन्टर, होटल, गेष्ट हाउसमा काम गर्ने क्रममा विभिन्न यौन दुव्र्यवहार सहन बाध्य महिला तथा किशोरी र विदेशमा श्रीमान भएका महिलालाई विशेष प्राथमिकतामा राखेर ऋण दिने गरेको छ।