जुम्लाका चार किसानलाई मुख्यमन्त्री उत्कृष्ट पुरस्कार

तस्बिरः बिएल

जुम्लाका दुई जना किसान, एक कृषि समूह र एउटा कृषि सहकारी संस्थाले मुख्यमन्त्री उत्कृष्ट पुरस्कार पाएका छन्।

पुरस्कार पाउने व्यक्तिमा चन्दननाथ ४ का रीता बुढ्थापा चौलागाई र सिंजा २ का हरिशरण शर्मा छन् भने उपहार कृषि साना सिंचाइ कृषक समूह र सहकर्मी मौरीपालन सहकारी संस्था छानिएका छन्। कृषिका क्षेत्रका योगदान पुर्‍याउएका किसान तथा संस्थालाई मुल्यांकनका आधारमा छनोट गरेर पुरस्कृत गरिएको हो।

पुरस्कार पाउने किसानले प्रतिव्यक्ति २५ हजार रूपैयाँ र प्रमाणपत्र पाए भने कृषक समूहलाई ३५ हजार रुपैयाँ र सहकारीलाई ५० हजार रुपैयाँ र प्रमाणपत्र पाएका थिए।

पुरस्कृत किसान मध्ये रीता बुढ्थापाले टर्की फर्म सञ्चालन गर्दै आएकी छिन्। उनले जुम्लामै पहिलो पटक टर्कि, लौकाट र बटाई नामको चरा पालेर अनुसन्धान थालेकी थिइन।

पुरस्कृत भएकी उनले खुसी हुँदै भनिन्,‘अहिले अधिकांश किसानले टर्की, लौकाट, बटाई पाल्न सिकेकाले मन हर्सित भएको छ। आज पुरस्कार पाउँदा निकै हौसला मिलेको छ।’

लेखक तथा किसान रामसिहं रावलले यसरी पुरस्कार वितरण हुनले ग्रामिण क्षेत्रमा उदाहरणीय काम गरिरहेका किसानहरु अवसर पाउने बताए। उनले भने,‘कृषिका कार्यक्रमलाई दुरदराजसम्म लैजान पहल थालिनुपर्छ। अनि मात्र यो पुरस्कारको सार्थकता मिल्नेछ।’

गुठिचौर गाउँपालिका अध्यक्ष हरिबहादुर भण्डारीले यो कार्यक्रमले किसान र कृषिप्रदायक संघ संस्थाको समन्वयलाई प्रभावकारी बनाउँदै अघि बढ्न प्रेरणा मिलेको बताए।

त्यस्तै  तिला गाउँपालिकाका उपाध्यक्ष बिष्णु बुढा कृषि क्षेत्रमा राजनीति गर्दा नाम मात्रका किसानले लाभ पाउने भएकाले कृषि क्षेत्रमा अनावश्यक राजनीति गर्न नहुने बताइन्।

प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले यस्ता कार्यले किसानलाई कृषि कर्ममा लाग्न प्रेरणा मिलेको धारणा राखिन्। जिल्लाबाट मुख्यमन्त्री उत्कृष्ठ पुरस्कारबाट सम्मानित किसान बीच प्रदेश स्तरमा पनि मुल्यांकन हुने कृषि ज्ञान केन्द्र जुम्लाका कृषि अर्थविज्ञ बालकराम देवकोटाले जानकारी गराए।

प्रकाशित मिति: : 2019-07-26 16:41:39

प्रतिकृया दिनुहोस्