विराटनगरको जोगबनी–रानी खण्ड तनावग्रस्त, २२ मालबाहक सवारी तोडफोड

बिएल

प्रदेश नम्बर १ को राजधानी विराटनगरस्थित नेपाल–भारत सीमा क्षेत्रसँग जोडिएको रानीमा भारतबाट कच्चा पदार्थ बोकेर आएको ट्रकले ठक्कर दिँदा मोटरसाइकलमा सवार एक युवाको मृत्यु भएको छ। जसका कारण विराटनगर महानगरपालिका–१५ स्थित रानी क्षेत्र साँझदेखि नै तनावग्रस्त छ। 

विराटनगर–१५ का २२ वर्षीय अमर सिंहको घटनास्थलमा मृत्यु भएको थियो। कर्कटपाता बनाउने कच्चा पदार्थ बोकेको एन एल ०१ डी ३६९० नम्बरको लामो ट्रकलाई ओभरटेक गर्ने क्रममा बीआर ३८ आर ३२१३ नम्बरको मोटरसाइकल ठोक्किन पुगेको थियो। प्रत्यक्षदर्शीका अनुसार मोटरसाइकल गुडिरहेको ट्रकभित्र पसेपछि चालकसहित मोटरसाइकललाई केही टाढासम्म घिसारेको प्रत्यक्षदर्शीले बताएका छन्।

घटनाको विरोध गर्दै मृतकका आफ्न्तले २२ वटा मालवहाक ट्रकको सिसा तोडफोड गरेका छन्।

घटनाको विरोधमा लाट्ठी बोकेर सडकमा उत्रिएका आफन्तले टायर बालेर विरोध प्रदर्शन गरेका थिए।

‘भारतबाट औद्योगिक कच्चा पदार्थ तथा पेट्रोलियम पदार्थ (इन्धन) लोड गरेर आएका गाडी र ट्यांकर तोडफोड भएका छन्। तोडफोडमा ८ वटा नेपाली र १४ वटा भारतीय नम्बर प्लेटका सवारी साधन छन्’, मोरङ प्रहरीका प्रवक्ता डीएसपी राजकुमार खिउजुले जानकारी दिए।

डीएसपी खिउजुले तोडफोडबाट भएको क्षतिको यकिन विवरण प्राप्त नभएको र संकलन गर्ने कार्य भइरहेको बताए।

‘तोडफोडबाट क्षति पु¥याइएका सबै मालबहाक सवारी साधन विराटनगर भन्सारबाट जाँचपास सकेर गन्तब्यतर्फ लागिरहेका थिए,’ उनले भने।

साँझ ९ बजेसम्म अवस्था सामान्य बनेको छैन। टायर बालेर गरिएको प्रदर्शनका कारण भन्सारको काममा बाधा पुगेको भन्सार अधिकृत अशोक गुरागाईंले जानकारी दिए।

मृतकका बुवा श्रवण सिंहले तीव्र गतिमा रहेको ट्रकका कारण दुर्घटनामा छोरा गुमाउनु परेको दावी गरे। उनले दोषीमाथि कारबाही हुनुपर्ने माग राखेका छन्।

दुर्घटनापछि फरार ट्रक चालकलाई घटनास्थलमा उपस्थित गराउनु पर्ने, दोषीमाथि कारबाही हुनुपर्ने, ट्रक लगायत ठूला गाडीको ज्यादती बन्द हुनुपर्ने र मृतकका परिवारलाई उचित क्षतिपूर्ति दिइनु पर्ने माग प्रदर्शनमा राखिएको छ ।

 

प्रकाशित मिति: : 2019-07-25 22:09:47

प्रतिकृया दिनुहोस्