विश्वकप छनोट

विश्वकप छनोट: पहिलो खेलमा आज जिम्बाब्वेसँग भिड्दै नेपाल

फाइल तस्बिर: क्यान
फाइल तस्बिर: क्यान

आजदेखि जिम्बाब्वेमा सुरु हुने आइसीसी क्रिकेट विश्वकप छनोटको पहिलो खेलमा नेपालले घरेलु टोली जिम्बाब्वेसँग भिड्दैछ। खेल जिम्बाब्वेस्थित हरारे स्पोर्टस् क्लबमा नेपाली समयअनुसार मध्यान्ह पौने १ बजेदेखि सुरु हुनेछ।

नेपालले पहिलो पटक टेस्ट मान्यता प्राप्त टोलीसँग एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआइ) खेल खेल्न लागेको हो। जिम्बाब्वे र नेपालबीच हालसम्म एक पटक मात्रै ५० ओभरको खेल भएको छ।

आयोजक जिम्बावे, वेस्ट इन्डिज, अमेरिका र नेदरल्यान्ड्ससहित समूह ‘ए’मा रहेको नेपालले आज घरेलु टोली जिम्बाब्वेलाई पराजित गर्दै विश्वकप छनोट यात्राको सुखद सुरुवात गर्न चाहन्छ।

छनोट प्रतियोगितामा सहभागी १० टोलीलाई दुई समूमा बाँडिएको छ। समूह ‘ए’मा नेपाल, नेदरल्यान्ड्स, अमेरिका, जिम्बावे र वेस्टइन्डिज छन। समूह ‘बि’मा श्रीलंका, आयरल्यान्ड, ओमान, युएई र स्कटल्यान्ड छन।

हरेक समूहबाट शीर्ष तीन टोलीले सुपर सिक्समा स्थान बनाउने छन्। सुपर सिक्समा अर्को समूहबाट आउने टोलीसँग प्रतिस्पधार्न गर्नुपर्ने हुन्छ। सुपर सिक्सको शीर्ष दुईमा पर्ने टोली भारतमा हुने विश्वकपमा छनोट हुने छन्।

पहिलो खेलमा घरेलु टोली जिम्बाब्वेको सामना गर्न लागेको नेपालले मंगलबार अमेरिका, बिहीबार वेस्ट इन्डिज र शनिबार नेदरल्याण्डसँग प्रतिस्पर्धा गर्ने छ। यी मध्ये वेस्ट इन्टिजसँग नेपाल पहिलो पटक खेल्दैछ।

जिम्बाब्वेमा हुने खेल नेपालमा नेट टिभी एप र वेभसाइटमा निःशुल्क हेर्न सकिने छ।

नेपालको सम्भावित प्लेइङ– ११


आसिफ शेख, कुशल भुर्तेल, भीम सार्की, रोहितकुमार पौडेल (कप्तान), आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, गुलसन झा, करण केसी, सोमपाल कामी र सन्दीप लामिछाने।


प्रतियोगिताको अर्काे खेलमा आजै वेस्ट इन्डिज र अमेरिका भिड्दै छन्।

प्रकाशित मिति: : 2023-06-18 08:31:00

प्रतिकृया दिनुहोस्