सडक दुर्घटनामा २८ भारतीय तीर्थयात्री घाइते

तस्बिरः एजेन्सी

महोत्तरी । महोत्तरीको बर्दिवास नगरपालिका–५ टुटेश्वरस्थित श्रीटुटेश्वरनाथ महादेवको दर्शन गरेर फर्कँदै गरेका २८ भारतीय भक्तजन सडक दुर्घटनामा घाइते भएका छन्।

साउने सोमबारे मेलाको अवसरमा मन्दिरको दर्शन गरेर फर्कने क्रममा उनीहरू महोत्तरीमा सडक दुर्घटनामा घाइते भएका हुन् ।

टुटेश्वर मन्दिरबाट पूर्व–पश्चिम राजमार्गको टुटेश्वरचोक फर्कने क्रममा वनक्षेत्रमा भारतीय यात्रु चढेको ना ४ च १०९९ नं को पिकअप भ्यान सोमबार दिउँसो पल्टेको हो। घाइते यात्रुको बर्दिवास–१४ स्थित शुभस्वस्तिक अस्पतालमा उपचार शुरु गरिएको इलाका प्रहरी कार्यालय बर्दिवासका प्रहरी नायब उपरीक्षक निशान थापाले जानकारी दिए।

घाइते सबै महोत्तरीकै सीमावर्ती भारतीय जिल्ला सीतामढीको सुरसण्ड प्रखण्डमा पर्ने बघारी गाउँका भएको पुष्टि भएको छ।

सोमबारे मेलामा सिन्धुली जिल्लाको लङ्गुरखोलास्थित दूधेश्वरनाथ महादेवको दर्शन गरेर भारतीय भक्तजन टुटेश्वर पुगेका थिए ।  सामान ओसार्ने पिकअपमा कोचाकोच यात्रु राखेर फर्किएको सो गाडी पूर्व–पश्चिम राजमार्ग नपुग्दै वनक्षेत्रमा पल्टेको प्रहरीले जनाएको छ।

गाडी पल्टनेबित्तिकै चालक फरार भएका थिए।  सहचालक सर्लाहीको ईश्वरपुर नगरपालिका–२ राइटरखोरका ३० वर्षीय वीरेन्द्रसिंह घाइते भएका छन्।

घाइते तीर्थयात्रीमा १० वर्षीया बालिका काजलकुमारीसहित ११ महिला छन्। घाइतेमध्ये सातको अवस्था गम्भीर रहेको चिकित्सकलाई उद्धृत गर्दै प्रनाउ थापाले बताए।

टुटेश्वरनाथबाट फर्केको पिकअप तीव्र गतिमा हुइँकिँदा आफूलाई डर लागेर विस्तारै चलाउनोस् भन्दा चालकले झन् हौसिएर गुडाउँदा गाडी पल्टेको तीर्थयात्री समूहकै ३५ वर्षीय सिल्टु साहले बताए। रासस

प्रकाशित मिति: : 2019-07-22 15:59:25

प्रतिकृया दिनुहोस्