त्रिवि शिक्षण अस्पताल ३१५ नम्बर क्याविन। बेड नजिकैको झ्याल। त्यही झ्याल उनको साथी भएको छ। झ्यालबाट विभिन्न दृष्य हेर्न सक्छन्। झ्यालबाटै एक, दुई भन्दै दैनिक आवत जावत गर्ने हवाइजहाज, हेलिकप्टर, काग र परेवा गनेर बस्छन्।
चराचुरूङ्गी जब उनको नजिकैबाट उडेर जान्छन् झनै रमाएर आफ्नी आमालाई कोट्याउदै औलाको इसाराले देखाउँछन्। आमा उनको अर्को साथी। उनको कुरा सुनिदिन्छिन्। उनी अरूले भनेको सुन्छन्। बुझ्छन् मात्र। उनी न हिँड्न सक्छन्। न सहारा बिना बस्न सक्छन्।
आफ्नो दिसापिसाब कुन बेला आउछ थाहा पाउँदैनन्। त्यसैले उनकी आमाले डाइपर लगाइदिन्छिन्। सबै भन्दा बढी खर्च नै उनको डाइपरमा हुन्छ।
२०७६ साल असार २८ गते उनी २१ औं जन्म दिन मनाउँदै थिए। तर, उनको अवस्था २,३ वर्षको बच्चा जस्तै छ।
पोहोर जन्म दिन उनले आफ्ना कलेज पढ्ने साथीहरूसँग बजारमा मःमः खाएर मनाएका थिए। प्रायः उनको जन्म दिन मनाउने शैली बजार जाने र साथीसँग मःमः खाने हुन्थ्यो।
तर, यो वर्षको जन्म दिन अस्पतालको बेडमा आमाले व्हेलचियरमा राखेर टिका लगाइन् र चकलेट दिइन्।
२०७५ साल साउन १० गते निर्मला पन्तको बलात्कार पछि हत्या भएपछि तातेको आन्दोलनकै क्रममा भदौं ७ गते प्रहरीको गोली लागि अर्जुनसँगै ५ आन्दोलनकारी घाइते भए।
आन्दोलनकारीको ढुङ्गा लागेर २ प्रहरीसमेत घाइते भएका थिए। अर्जुनसँगै घाइते भएका केही उपचारपछि घर गइसकेका छन्। उनीहरुको आफ्नो दैनिकी शुरु भइसक्यो। यता अर्जुनले भने पूर्ण रूपले नयाँ जन्म लिएका छन्। उनी बच्चा जस्तै भएका छन्।
आफ्ना साथीहरूलाई चिन्दैनन्। आफन्तलाई चिन्दैनन्। ईन्जिनियर बन्ने सपना बोकेका अर्जुन अहिले त अक्षर चिन्न पनि सक्दैनन्।
मनमोहनहुँदै शिक्षण अस्पतालको न्यूरो वार्डको ३१५ नम्बर बेडमा पुगेको यही भदौमा १ वर्ष हुन्छ। अर्जुनकी आमा शिवकला आशैआशमा दिन काट्दैछिन्।
‘पहिला छोरा मरेको लाश सरह थियो। अहिले खान्छ। हलचल गर्छ। हाँस्छ,’ उनले थोरै बोलिन्। शिवकला एक्लैले अर्जुनलाई यताउता सार्न सक्दिनन्। त्यसैले आफन्तलाई सहयोगका लागि बोलाएकी छिन्।
क्याविनमा कोही छिर्यो कि, अर्जुन सबैलाई नमस्कार गर्छन्। नमस्कार भन्न शिवकलाले सिकाएकी हुन्। शिवकलाले छोरालाई जे सिकायो त्यही गर्छ। केही सिकाएन भने अर्जुन शून्य हुन्छ। अहिले शिवकलाले २१ वर्षको छोरालाई पुनः शून्यबाट जीवन जीउन सिकाउँदैछिन्।
अर्जुनसँग पुरानो हाँसोबाहेक अरू केही छैन। शिवकला कहिले आमा भन्ला भन्ने दिनको पर्खाइमा छिन्। ‘यसलाई काले भन्दा खुब रिस उठ्छ। काले त भन्नै हुन्न’ उनले भनिन्।
यति कुरा सुन्दै आमातिर खिस्स हाँसेर अर्जुन आमाको काँधमा मुठ्ठी पार्दै झ्याम्मिए।
डाक्टरले पनि उनलाई खुसी राख्नु भनेको छ। पहिले अर्जुन आफ्नो मोबाइलमा खुब झ्याम्मिएर बस्थ्ये। केही साताअघि अस्पतालको क्याबिनबाट मोवाइल चोरी भएपछि उनी छट्पटाएका छन्।
कसैको हातमा राम्रो मोवाइल देख्यो कि, आमालाई चाहियो भन्दै हातको ईसाराले देखाउँछन्। त्यसपछि शिवकलाले घरबाट अर्जुनको ल्यापटप मागाइन्। अहिले त्यही ल्यापटप उनको समय बिताउने मेसो बनेको छ।
अर्जुनकी आमालाई ल्यापटप चलाउन आउँदैन। न त अर्जुनले ल्यापटप चलाउन सक्छन्। शिवकलाका साथीका छोरा दिपकले ठिक्क पारिदिन्छन्।
अर्जुनले हेमन्त रानाको ‘सुन साइली...’ गीत खुब सुन्छन्। यो उनको रोजाइमा पर्दोरहेछ।
अर्जुन गीत सुनिरहँदा शिवकलाले छोरालाई हसाँउन ‘कति साईली साईली सुन्छ यो... खै तेरो साईली?’ भनेर जिस्काउँछछिन्। त्यति बेला अर्जुन हातको औला घुमाउँदै छैन भनेर खिस्स हाँस्दारहेछन्।
रमाईलो भित्र शिवकलाको अर्को पीडा बल्झिरहेको छ। छोरा कहिले पूर्ण रूपले ठिक हुन्छ थाहा छैन। जेठ महिनाबाट अर्जुनले सरकारबाट पाउने उपचार खर्चसमेत पाएका छैनन्। शिवकला अहिले ऋणमा डुब्दै गएकी छिन्।
कञ्चनपुरबाट छोरा योगेन्द्रले अरूसँग सापटी माग्दै आमालाई पठाएको खर्च ३ लाख भन्दा बढी भइसकेको छ। पहिला नेताहरूले आश्वासन दिन्थे। अहिले त कोही फोन पनि उठाउँदैनन्।
‘कञ्चनपुरका दीपक भट्ट पहिले फोन उठाउँथे। अहिले त कति पटक फोन गरे उठाउँदैनन्,’ शिवकलाले गुनासो गरिन्, ‘मन्त्रालयमा सोध्यो, अहिले खर्च चलाउँदै गर्नुहोस् केहि समयमा दिन्छु भन्छन्। तर, अहिलेसम्म केही दिएको छैन।’
डाक्टरले पहिले घर जाँउ भनेर उनलाई दिनरात हैरान पारेका थिए। यस्तो छोरा लगेर घर कसरी जाँउ भनेर उनी गइनन्। ‘अहिले मलाई सबै खर्च दिएर हस्पिटलको पैसा तिरिदिए भने छोरा लिएर घर जान्थे, मलाई पनि कहाँ यहाँ बस्न रहर छ र? घर गएर सबैलाई चिन्ने कोशिश गर्थ्याे, बोल्थ्यो कि ?’ उनले भनिन्, ‘अर्जुन जहिले हातको इशारा गरेर अब यति दिनमा घर जाने मात्र भनिरहन्छ। आफूलाई साहारा होला भन्ने अवस्थामा छोराको विजोग देख्नुपर्यो,’ शिवकलाले पीर पोखिन्।
निर्मला पन्तको बलात्कारपछि हत्या भएको यही साउन १० गते १ वर्ष पुरा हुन्छ। तर, अहिलेसम्म बलात्कारी पत्ता लाग्न सकेको छैंन।