तराई–मधेशमा आउने जो कोहीले यहाँ महिलाप्रति हुने विभेदलाई सहजै अनुभव गर्न सक्छन्। एकाध घटनालाई छोडेर हेर्ने हो भने प्रायः सबै मधेसी महिलाको हकमा यही लागु हुन्छ।
मधेशमा प्रायः पुरुषले सम्हाल्दै आएको परम्परागत पेशालाई महिलाले हात हाल्दैनन्। तर, मोरङ, उर्लाबारी–४ आइतबारेकी हेमन्ती ठाकुर यतिबेला सबैका लागि उदाहरण बनेर उभिएकी छिन्।
उनले पुरुषको आधिपत्य रहेको कपाल काट्ने हजाम पेशालाई अंगिकार गरेकी छिन्। जसबाट उनी मासिक ३० हजार आम्दानी गर्छिन।
उनको श्रीमान सोनी ठाकुर वैदेशिक रोजगारीका लागि हाल खाडी मुलुकमा छन्। तर, श्रीमानको बिडो उनले थामेकी छिन्।
वास्तवमा हेमन्तीले १४ वर्षको उमेरमै कपाल काट्न सिकेकी हुन्। उनको प्रेरणाको श्रोत हजुरबुवा हुन्।
‘कन्जरभेटिभ’ भएपनि हेमन्तीका हजुरबुवा महिलाहरूले पनि केही काम गर्नुपर्छ भन्ने मान्यता राख्थे। त्यसैले घरमै ग्राहक आउँदा हजुरबुवाको कैची चलाउन सिकेकी थिइन। ‘हजुरबुवाको आर्शिवादले आफ्नो खुट्टामा उभिने मौका पाएको छु,’ हेमन्तीले बिएल नेपाली सेवासँग भनिन्।
अहिले उनलाई भ्याईनभ्याई छ। अन्य पुरुषको छेउपर्दा पनि बात लाग्ने समाजमा उनी पुरुषको अनुहारमा मसाज गर्न पछि हड्दिनन्। ‘यो मेरो पेशा हो। समाजको सबै कुरालाई दिमागमा राखेर हिँड्ने हो भने अगाडि बढ्न सकिदैन,’ उनले भनिन्।
उनले यो पेशा अपनाउनुको कारण बताउँदै भनिन्– ‘काम राम्रो, नराम्रो हुदैन। सोच मात्र राम्रो–नराम्रो हुने हो।’ उनको पसलमा आउने पुरुषहरू बरु कपाल र दाह्री काट्न लजाउने गर्छन। तर, उनलाई संकोच लाग्दैन। ‘म आफ्नो पेशाप्रति इमान्दार छु। जसले जे जानेको छ, त्यही काम गर्ने हो,’ उनले भनिन्।
उनी आफ्नो पसलमा आउने नयाँ सेवाग्राहीलाई सहज पार्न आफैले कुर्सीमा बस्न आग्रह गर्छिन।’ सुरुमा उनलाई पनि केटा मान्छेको दाह्री काट्न असजिलो लागेको थियो। अहिले उनलाई खासै असहज लाग्दैन। उनी आफ्नो व्यवसायबाट सन्तुष्ट छिन्। जीविकोपार्जनका लागि हजाम पेशा सहज भएको उनको ठम्याई छ।
भन्छिन्, ‘सामाजिक काममा पनि सकेको दानधर्म गरिरहेको छु।’ उनलाई केही महिलाले केटा मान्छेको दाह्री र कपाल काट्ने भन्दै जिस्काउन र होच्याउन खोज्छन्। तर, उनले यसलाई खासै महत्व दिदिनन्।
चुलोचौको र मेलापातको काममा व्यस्त देखिने नेपाली समाजका कतिपय महिलाका लागि हेमन्तीले सुरु गरेको सैलुन व्यवसाय साँच्चै उदाहरणीय बन्न पुगेको छ।
पुरुषले गर्ने काम महिलाले किन गर्न नहुने भन्ने प्रश्न गर्दै उनले हेयर–कटिङको काम गर्दा रमाइलो लागेको अनुभव सुनाइन्। हेमन्ती भन्छिन्,‘ नराम्रा तर्क, वितर्क र खिसी गर्नेको मतलब नराखी निरन्तर अगाडि बढिरहेकी छु।
धनिमानी र फुर्सदिलाले छिः यस्तो के काम गरेको भन्दै जिस्काउँथे, खिस्सी गर्ने, होच्याउँन खोज्थे। तर आजभोलि यसै पेशामा स्वाभलम्बी भएपछि उनीहरुको बोली नै बन्द भएको छ।’
पहिलोपटक आफूले कपाल काटेको देख्ने अचम्ममा पर्ने गरेको उनको अनुभव छ। ‘कपाल काट्ने, दाह्री काट्ने, अनुहार मसाज गर्ने, फेसवास गर्ने लगायतका सबै काम गर्छु,’ उनले गर्वका साथ भनिन्, ‘कपाल र दाह्री काट्न आउने कतिपय सभ्य र बुझेका व्यक्तिले त महिलाले पनि राम्रोसँग कपाल काट्ने रहेछ भनेर खुसी हुँदै तोकिएभन्दा बढी रुपैयाँ दिएर जान्छन्।’
आफ्नो पेशाप्रति त्यसो भन्दिँदा हेमन्ती गौरवान्वित हुन्छिन्। उनले आफ्नो कमाईंले घर खर्च चलेको बताइन्। श्रीमानले पठाएको ‘रेमिट्यान्स’ लाई उनले बचतको रुपमा राखेकी छिन्।
हेमन्तीको जागर देखेर दंग परेकी महिला नेत्रृ शोभा पालुङ्वाले भनिन् ‘सामाजिक विभेद अन्त्यका लागि उनले अँगालेको अभियानलाई सम्मान गरिनु पर्छ। चुलोचौकामा सीमित महिलाले हेमन्तीबाट पाठ सिक्नुपर्छ।’
सामाजिक रुपमा अपमानित हुने डरले महिलाहरूले घरबाहिर निस्कन नसक्ने यस क्षेत्रमा महिलाले गरेको साहस उदाहरणीय भएको भन्दै हेमन्तीलाई बिभिन्न संघसंस्थाले सम्मान गरेका छन् ।