दश वर्षमा पनि काम नगर्ने ६ ठेकेदार कारबाहीमा

तस्बिरः एजेन्सी

वीरगन्ज । ठेक्का सकार गरी कामै नगर्ने पर्साका ६ निर्माण कम्पनी कारबाहीमा परेका छन्।

१५ महिनामा सक्ने काम दश वर्षमा पनि पुरा नगर्ने ६ वटा ठेकेदारसँग सम्झौता रद्द गर्दै उनीहरूलाई कारबाही गरिएको हो।

पर्साको भेडिहारी, शंकरसरैयासम्झौता, पटेर्वा-सुगौली, रौतहटको जिगडवा बेलगछियाको स्वास्थ्य चौकी भवन र कलैयाको चार परिवार स्टाफ क्यार्टर निर्माण गर्न २०६६ सालमै ठेक्का कबोल गरे पनि निर्माण अझै निर्माण सम्पन्न नभएपछि सम्झौता रद्द गर्दै उनीहरुलाई कारबाही गरिएको शहरी तथा भवन निर्माण आयोजनाका सूचना अधिकारी अमरेन्द्र कुमार झाले जानकारी दिए।

उनले पटक–पटक म्याद थपिए पनि निर्माण कार्यमा खासै प्रगती नदेखिएपछि स्वस्तिक श्रीविनायक कन्स्ट्रक्शन, अजम्बर/शिवराम कन्स्ट्रक्सन जेभी, शिवराम कन्स्ट्रक्सन प्रालि, टौदह कन्स्ट्रक्शनसँगको ठेक्का सम्झौता रद्द गर्न केन्द्रमा सिफारिस गरिएको बताए।

ठेक्का रद्द गरिएका निर्माण कम्पनीसँग २ करोड ८० लाख  रुपैया हर्जाना अशुल गर्न पत्राचारसमेत गरेको सूचना अधिकारी झाले जानकारी दिए।

रद्द गरिएका सम्झौताको कार्य पुरा गराउन चाँडै पुनः ठेक्का गरिने सघन शहरी तथा भवन निर्माण आयोजना कार्यालयले जनाएको छ।

ठेक्का सकार गर्ने तर सम्झौता मिति भित्र कामै नगर्ने व्यवसायीको प्रवृत्तिलाई अन्त्य गर्न कारबाही सुरु गरिएको पर्साको प्रमुख जिल्ला अधिकारी नारायण  प्रसाद भट्टराईले जानकारी दिए।

उनले पर्सामा लामो समयदेखि ठेक्का सकार गरी काम नगर्ने अन्य ठूला ठेकेदारलाईसमेत निकट भविश्यमै रद्द गरी कारबाही थालिने प्रजिअ भट्टराईले जानकारी दिए।

ठेक्का सकार गर्ने तर काम नगर्ने ठेकेदारलाई कारबाही सुरू भएपछि समयमा काम गर्ने प्रवृत्तिको विकास हुने जानकारहरूले बताएका  छन्।

प्रकाशित मिति: : 2019-07-20 23:52:11

प्रतिकृया दिनुहोस्