लामा र काली खोला दोभानबाट बाढीले बगाएर शनिबार बेपत्ता भएका उदयपुर चौदण्डीगढी नगरपालिका–४ का ३५ वर्षीय मनकुमार तामाङको शव भोलिपल्ट घटनास्थल भन्दा एक किलोमिटर तल फेला पर्यो ।
घरमा पालेको कुकुरलाई बगाउन लागेको भन्दै बचाउन जाँदा खोलाले बगाएर उनकै मृत्यु भयो । प्रहरीले घटनामा तामाङले आफ्नै लापरवाहीले ज्यान गुमाएको निस्कर्ष निकाल्यो।
पाँचथरको मिक्लाजुङ गाउँपालिका–४ का ९ वर्षीय बालक दिवन राईको पनि नुवा खोलाले बगाएर मृत्यु भयो । विद्यालय जाने क्रममा शुक्रबार उनी बिहान ९ः४५ बजे खोलाले बगाएर बेपत्ता भएका थिए। उनको शव आइतबार दिउँसो घटनास्थलभन्दा ५ किलोमिटर पर भेटियो।
प्रहरीको रिपोर्ट अनुसार विद्यालय जानका लागि सुरक्षित बाटोको प्रयोग नगरी उनले बाढी आइरहेकै खोलालाई बाटो बनाए। जसका कारण घटना भयो।
बुवा लोकबहादुरका अनुसार अर्को बाटो प्रयोग गरेर विद्यालय जाँदा १ घण्टा बढी समय लाग्थ्यो । खोला तरेर त्यही बाटो हुँदै जाँदा २० मिनेट जतिमा पुगिन्थ्यो ।
‘विद्यालय छिटो पुग्न छोरोले छोटो बाटो प्रयोग गर्दा दुर्घटना भयो,’ बुवा लोकबहादुरको भनाई उध्रित गर्दै प्रहरीले भन्यो।
प्रहरीले घटनालाई बालकभन्दा पनि अभिभावकको लापरवाहीलाई प्रमुख कारण मानेको छ।
‘बालकलाई बाढी आएको खोला तर्न हुँदैन भनेर अभिभावकले सम्झाउनु पर्ने हो,’ प्रदेश १ प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसएसपी किशोरकुमार दाहाल भन्छन्, ‘ढिलो हुने डरले चाँडो पुग्न खोला तर्ने हुँदा घटना भयो ।’
स्वास्थ्य चौकीमा उपचार गरेर घर फर्कदै गर्दा संखुवासभाको मकालु गाउँपालिका–३ की मिङ्माखङ्डु शेर्पाको पनि स्थानीय भ्यागुते खोलाको बाढीले बगाउँदा मंगबार मृत्यु भयो। उनीसँगै रहेका श्रीमान रिदाक भने सकुशल छन् ।
घर पुग्न हतार भएका कारण छोटो बाटो प्रयोग गर्दा दुर्घटना निम्तिएको रिदाकले प्रहरीलाई जानकारी दिए। ‘स्वास्थ्य चौकीबाट घर जान अर्को बाटो प्रयोग गरेको भए धेरै बेर लाग्ने थियो,’ उनलाई उध्रित गर्दै प्रहरीले भन्यो, ‘छोटो बाटो प्रयोग गर्दा श्रीमती गुमाउनु पर्यो ।’
बाढी आएका बेला ठाडो खोलो तर्न हुँदैन भन्ने जानकारी हुँदाहुँदै आफ्नै लापरवाहीले घटना भएको स्थानीय लाक्पा शेर्पा बताउँछन्।
‘बाढीलाई बेवास्था गर्दा घटना भएको पाइयो,’ लाक्पाले भने, ‘ढिलो भए पनि लामै बाटो हुँदै गएको भए मानवीय क्षति बेहोर्नु पर्ने थिएन ।’
मोरङ प्रहरी प्रवक्ता डीएसपी राजकुमार खिउजुका अनुसार खोला पारी तरकारी टिप्न गएका मोरङ कटहरी गाउँपालिका–४ का ५० वर्षीय शोभा सोरेन शनिबारदेखि लोहन्द्रा खोलाले बगाएर बेपत्ता छन्।
स्थानीय अशोक भगतका अनुसार बाटैबाटो हिँडेर खोला पारी रहेको बारीमा तरकारी टिप्न गए पनि टिपिसकेपछि सोरेनले भीषण बाढी आइरहेको खोला तरेर घर आउने प्रयास गरेका थिए ।
स्थानीयले रोक्ने प्रयास गरे पनि लोहन्द्रामा एक्कासि हामफालेका उनी तरकारीसहित अहिलेसम्म बेपत्ता छन्।
‘पहिले नै गएको बाटो फर्किएको भए यो घटना हुने थिएन,’ भगतले भने, ‘जवरजस्ती लापरवाहीपूर्ण ढंगले तर्न सक्ने सम्भावना नै नभएको खोलाबाट पौडिएर आउन खोज्दा सोरेन बेपत्ता छन् ।’
प्रदेश नम्बर १ मा बाढी पहिरोका कारण मानवीय क्षति भएका घटनासँगै लापरवाही पनि जोडिएको प्रहरीको अध्ययनले बताएको छ।
‘बाढी पहिरोमा परेर मृत्यु र बेपत्ता भएको घटनासँगै लापरवाहीबाट ज्यान गएका धेरै घटना हुन पुगे,’ एसएसपी दाहालले भने, ‘समयमै सबै सर्वसाधारणलाई सचेत गर्न नसकेको परिणामका रुपमा यस्ता घटनालाई लिएका छौं ।’
प्रदेश १ मा बाढी पहिरो र डुवानपछि बुधबारसम्ममा १० बालबालिकासहित २८ जनाको मृत्यु भएको छ । आठ जना बेपत्ता छन् ।
खोटाङ र झापामा तीन–तीन, ओखलढुंगा र भोजपुरमा पाँच–पाँच, उदयपुर र मोरङमा चार–चार, इलाम, सुनसरी, पाँचथर र संखुवासभामा एक–एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार मृत्यु भएका मध्ये १३ जनाले आफ्नै लापरवाहीले ज्यान गुमाएको देखिन्छ ।
बेपत्ता आठ मध्ये सात जना आफ्नै लापरवाहीका कारण बेपत्ता भएको अनुसन्धानबाट देखिएको प्रहरीले जनाएको छ ।
एसएसपी दाहाल बाढी आइरहेको खोलामा गएर पौडी खेल्ने, माछा मार्ने, बगाएर ल्याएको दाउरा संकलन गर्ने, खोलाको छेउमा घाँस काट्न जाने र बाढी आइरहेको खोला जवरजस्ती तर्ने जस्ता लापरवाही गरेर धेरैको ज्यान गएको बताउँछन्।
‘प्रदेशमा एक साताको अवधिमा मृत्यु भएका मध्ये आधा जतिको आफ्नै लापरवाहीले मृत्यु भएको अनुसन्धानबाट देखिएको छ,’ उनले भने, ‘आधा जति वास्तविक रुपमा बाढी पहिरो र डुवानमै परेर मृत्यु भएको पुष्टि भयो ।’
उनले घरमा सुतिरहेका बेला आएको पहिरो, बसिरहेको घर बगाएर भएको घटना, डुवानबाट भएको मृत्युलाई प्राकृतिक प्रकोपका रुपमा लिन सकिने बताए ।
मान्छेलाई आफ्नो भन्दा पनि अरु कुराको माया, धनसम्पत्ति, गाई वस्तु, बाख्रा पाठा लगायत अन्य कुरा नै बढी प्यारो तथा बढी लोभ र सधैं हुने हतार आदिले जानाजान घटना हुने दाहालको भनाइ छ । ‘पहिला आफू सुरक्षित हुनु पर्छ,’ उनले भने, ‘अनि अरु कुरा सोच्ने हो ।’
विभिन्न घटनाक्रमले संरक्षणसँगै बालबालिकालाई अभिभावक र विद्यालयमा शिक्षकहरुले सचेत गराउन आवश्यक देखिएको प्रदेश १ प्रहरी प्रमुख डीआईजी ठाकुरप्रसाद ज्ञवालीले बताए ।
‘बालबालिकालाई अभिभावकले रेखदेख र वास्ता नगर्ने गरेको पाइयो,’ उनले भने, ‘त्यही भएर कतिपय बालबालिका बाढीका बेला नजानेर खोला छेउमा खेल्न जाने र पौडी खेल्न पस्ने गर्दा दुःखद् घटनाहरु भइरहेका छन् ।’ ज्ञवालीले विभिन्न घटनाक्रमले सबै पक्ष गम्भीर भए मात्रै वर्खाको बाढीपहिरो र डुवान आदिका समयमा लापरवाहीले मानवीय क्षति हुने क्रम रोक्न सकिने बताए ।
मानवीय क्षति बढी बेहोर्नु पर्ने अवस्था आएका कारण समुदायलाई सचेत गराउने काम प्रहरीले तत्कालै सुरु गर्ने डीआईजी ज्ञवालीको भनाइ छ। उनले बाढीपहिरो र डुबानमा अन्य सुरक्षाकर्मीसँग समेत समन्वय गरेर आवश्यकीय सामग्रीसहित सक्रियताका साथ उद्धारमा लाग्ने गरिएको जानकारी दिए।