बाढी, पहिरो, डुबानको विपद्मा सहयोग गर्न सभामुखको अपिल

तस्बिरः बिएल

सभामुख कृष्णबहादुर महराले प्रतिनिधिसभाका सदस्यलाई प्राकृतिक विपद्बाट प्रभावित क्षेत्रमा पुगी पीडितको उद्धार, राहत र सहयोगमा समन्वय तथा सहकार्य गर्न आग्रह गरेका छन्।
सभामुख महराले आज जारी गरिएको प्रेस वक्तव्यमा भनिएको छ, ‘प्रतिनिधिसभाका सदस्यलाई प्राकृतिक विपद्बाट प्रभावित क्षेत्रमा पुगी पीडितको उद्धार, राहत र सहयोगमा समन्वय तथा सहकार्य गर्न म विशेष आग्रह गर्दछु।”
प्रेस वक्तव्यमा उनले आ–आफ्नो ठाउँबाट सक्दो सहयोग गर्न सङ्घ, प्रदेश र स्थानीय तहका जनप्रतिनिधि, सुरक्षाकर्मी, सामाजिक सङ्घसंस्था÷अभियन्ता, राजनीतिक दल तथा सर्वसाधारण सबैमा अनुरोध गरेका छन्।
‘यस्ता प्राकृतिक विपद्बाट हुने जनधनको क्षति कम गर्नतर्फ र विपद् आइपरेमा तत्काल उद्धार एवं राहत कार्यलाई व्यवस्थित गर्न अल्पकालीन र दीर्घकालीन योजना बनाई व्यावहारिकरुपमै लागू गर्न सरकारको विशेष ध्यानाकर्षण गराउन चाहन्छु”, प्रेस वक्तव्यमा भनिएको छ।
प्राकृतिक विपद्मा परी घाइते हुनुभएकाको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उहाँहरूको उपचारमा कुनै कमी हुन नदिन सभामुखले सरकारसँग विशेष अनुरोध गर्दै विनाशकारी प्रकोपमा परी हराइरहेकाको खोजी, प्रभावितको उद्धार र पीडितलाई पुनस्र्थापना एवं राहतका कामलाई प्रभावकारी ढङ्गबाट अघि बढाउन सरकार र सरोकारवाला निकायसँग हार्दिक अपिल गरेका छन्। बर्खायाममा हुन सक्ने सम्भावित विपत्तिबाट जोगिनका लागि सतर्क रहन सभामुख महराले अपिल गरेका छन्।
केही दिनयता जारी अविरल वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढी, पहिरो र डुबानले भएको जनधनको क्षतिको घटनाले आफूलाई निकै मर्माहत र स्तब्ध बनाएको उल्लेख गर्दै सभामुख महराले विज्ञप्तिमा दुःखद प्राकृतिक विपद्का कारण निधन हुनुभएकाप्रति श्रद्धाञ्जलि तथा शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका छन्।

प्रकाशित मिति: : 2019-07-15 14:40:36

प्रतिकृया दिनुहोस्