ओलीवरपर रहेका नेताहरूको व्यक्तित्व ठूलो क्षय भएको छ। अब उहाँ माधव नेपाल, शेरबहादुर वा प्रचण्डका लागि होइन, आफ्नै मान्छेका लागि रोकिनुपर्ने ठाउँमा हुनुहुन्छ।
केपी ओलीले पानीजहाजको टिकट बुकिङ खुला गरेको १६ पुस ०७५ मा हो। ३० असार ०७८ मा बालुवाटार छाड्दा पनि बुकिङ खुला नै थियो, केवल पानीजहाज थिएन। चुनावी वाचाअनुसार त ‘बा’ मोनोरेलबाट बालकोट फर्कनु थियो। चुच्चे मुख भएको रेलमा होर्डिङ बोर्ड टाँगिनु थियो। पानीजहाजको झन्डामा फोटो हुनु थियो। भएन। क्षतिपूर्ति युथफोर्सको स्कर्टिङले गर्यो, स्कर्टिङ नै मोनोरेल भयो। लज्जाजनक बहिर्गमनलाई उत्सव बनाउने त्यो दयनीय प्रयास शवयात्रामा पञ्चेबाजाजस्तै थियो, तर ‘बा’ले रोक्नुभएन, रोकिनुभएन। यसअघि एमालेकै तीन प्रधानमन्त्रीले बालुवाटार छाडेका थिए, तर यस्तो देखिएको थिएन। यो त नयाँ एमाले थियो, ‘बा’ एमाले।
एमाले सुदृढ लोकतान्त्रिक परम्परा भएको कमरेडहरूको पार्टी थियो, सिपीदेखि झलनाथ, मदन, माधव, फेरि झलनाथ र ओलीसम्म सहज नेतृत्व हस्तान्तरणको परम्परा भएको पार्टी। सिपीदेखि मदन भण्डारीसम्मलाई कमरेड भएरै पुग्यो। वृद्ध मनमोहन अधिकारीलाई पनि ‘बा’ हुन परेन। अहिले ओली जस्तो एमाले र जसको एमाले बनाउँदै हुनुहुन्छ, त्यसको उच्च रूप त्यही बालकोट यात्रा थियो। अब अनुमान मात्र गर्न सकिन्छ, सडिसकेको राजनीतिको कुन तहसम्मको भिजिलान्तेकरणपछि ‘बा’को चित्त बुझ्छ ?