स्पट फिक्सिङ

फिक्सिङबाट नै रकम उठाएर खेलाडीको पारिश्रमिक, प्रत्येक बल र ओभरमा मोलमोलाई !

म्याच फिक्सिङभन्दा धेरै फरक हो 'स्पट फिक्सिङ'। नेपाल टी-२० लिग सुरु भएदेखि अन्त्यसम्म नेपालमा पहिलो पटक स्पट फिक्सिङले चर्चा पायो। प्रत्येक ओभर र बलमा हुने फिक्सिङ नै स्पट फिक्सिङ हो। यहाँ एक-एक खेलाडीसँग डिल गरेर फिक्सिङ गरिएको हुन्छ।

पुस ९ गतेदेखि तीन सातासम्म कीर्तिपुर क्रिकेट मैदानमा भएको नेपाल टी-२० लिग अहिले फिक्सिङको चपेटामा छ। जसमा नेपाली क्रिकेटरदेखि विदेशी खेलाडीहरु पनि मुछिएका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सिआइबी) को टोलीले यसको अनुसन्धान गरिरहेको छ।

सोमबार मात्र प्रहरीले राष्ट्रिय क्रिकेट टोलीका पूर्व खेलाडी मेहबुब आलम र मोहम्मद आदिल अन्सारीलाई नियन्त्रणमा लियो। मेहबुब आलम विराटनगरको एक होटेलबाट समातिए भने मोहम्मद अन्सारीलाई राजविराजबाट नियन्त्रणमा लिएको हो। प्रहरीले थप एक खेलाडीलाई पनि नियन्त्रणमा लिएको छ। पक्राउ परेका दुबै जनालाई व्यूरोले सोमबार साँझ काठमाडौं ल्याएको छ।

मोहम्मद नेपाली राष्ट्रिय टोलीका अलराउण्डर खेलाडी हुन्। घरेलु क्रिकेटमा आक्रामक ब्याटिङ गर्ने उनले एक खेलमा ६ विकेट लिएकाे थिए भने एक दिवसीय खेलमा ७० रन तथा टी-२० अन्तर्राष्ट्रिय खेलमा ११० रन बनाएका थिए।

त्यस्तै बलिङतर्फ एक दिवसीय अन्तर्राष्ट्रियमा ६ र टी-२० अन्तर्राष्ट्रियमा ५ विकेट लिएका थिए। नेपाली टोलीका पूर्व खेलाडी मेहबुबले मोजाम्बिकविरुद्ध १० विकेट लिएर विश्व कीर्तिमान बनाएका थिए।

लिग खेलेका विदेशी खेलाडी भने स्वदेश फर्किसकेका छन्। लिगमा ६ टिमका ९० जना खेलाडी सहभागी भएका थिए। त्यसमा विदेशी खेलाडी पनि सहभागी थिए। अहिले व्यूरोको अनुसन्धानमा विदेशी र नेपाली गरेर ७ जनाभन्दा बढीको संलग्नता पुष्टि भइसकेको छ। फिक्सिङमा खेलाडीहरुले १ लाख रुपैयाँदेखि पाँच लाखसम्म लिएको देखिएको छ।

सीआइबीले डीएसपी सुन्दर तिवारीको नेतृत्वमा अनुसन्धान तथा छानबिन समिति बनाएको थियो। जसमा ५ जना प्रहरी अधिकृत रहेका छन्। समितिले अनुसन्धान फाइल बुझाउने तयारी गरेको छ। त्यसपछि प्रहरीले घटनाको सार्वजनिक गर्ने भएको छ।

मंगलबार व्यूरोले पत्रकार सम्मेलन गरेर घटनाको जानकारी दिने तयारी गरेको छ। स्पट फिक्सिङ भएको नजितामा पुग्न प्रहरीले खेलको प्राविधिक पक्षदेखि अन्य पाटोहरु केलाएको थियो। जसको लागि खेलसँग जोडिएका विज्ञहरुसँग पनि प्रहरीले सहयोग लिएको थियो।

लिगको मुख्य आयोजक सेभेनथ्री स्पोर्ट्स हो। आयोजनाको लागि नेपाल क्रिकेट संघ क्यानको साझेदार सेभेनथ्री स्पोर्ट्सका प्रमुख जतिन अलुवालिया हुन्। अहिले अलुवालिया सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ। उनी नै स्पट फिक्सिङका मुख्य योजनाकार भएको अनुसन्धानमा देखिएको छ। उनले धेरै खेलाडीलाई खेलवापतको रकमसमेत दिएका छैनन्। फरार भएपछि क्यानसँग उनको सम्पर्क भएको थियो। त्यसपछि उनले १ करोड रुपैयाँ नेपाल पठाएका थिए।

प्रहरीको अनुसन्धानमा जतिनले फिक्सिङ गरेर नै रकम उठाउने र खेलाडीलाई तिर्ने योजना बनाएको देखिन्छ। तर उनको योजनाले धेरै समय काम गर्न सकेन। लिग सुरु भएको पहिलो खेलबाट नै फिक्सिङको तयारी गरेका थिए। तर दोस्रो खेलमा भने फिक्सिङ गर्न सफल भए। त्यसपछि फिक्सिङको घटना बाहिरियो।

'सबै खेलमा फिक्सिङ गर्न खोजेको देखियो। तर ५/ ७ वटा खेलमा मात्र सफल भएको देखिन्छ,' अनुसन्धानमा खटिएका एक प्रहरीले सुनाए।

फिक्सिङ भएको हल्ला बाहिरिएपछस केही दिनअघि मात्र दुबईमा रहेको आइसीसीको क्षेत्रीय कार्यालयबाट दुई जना पदाधिकारी नेपाल आएका थिए। उनीहरुले प्रहरीसँग अनुसन्धानको जानकारी र नेपालमा फिक्सिङको कानुनी व्याख्याबारे जानकारी लिएका थिए।

त्यस्तै, आईसीसीको एन्टी करप्सन युनिटका मेनेजर बीर सिंहले अहिले पनि घटनाको अनुसन्धान गरिरहेका छन्। आइसीसीले दिएको केही जानकारी र प्राविधिक र अन्य पक्षको अनुसन्धानपछि प्रहरी लिगमा म्याच फिक्सिङ भएको निष्कर्षमा पुगेको थियो। 

प्रकाशित मिति: : 2023-01-24 12:26:00

प्रतिकृया दिनुहोस्