पल शाह प्रकरण:

पल शाहले नवराजहरूलेझैँ दण्ड भोग्न सक्छन्

कमल प्रभात

काठमाडौं

अभिनेता पल शाह यतिबेला गैँडाकोटस्थित प्रहरी हिरासतमा छन्। नाबालिग गायिकालाई बलात्कार गरेको अभियोग लागेपछि प्रहरीले उनलाई हिरासतमा राखेर अनुसन्धान प्रक्रिया अघि बढाइरहेको छ।

पहिलोपटक जिल्ला अदालत तनहुँले पललाई हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई सात दिनको म्याद दिएको थियो। तर, सात दिनमा अनुसन्धान नटुंगिएपछि थप म्याद माग गर्दै जिल्ला अदालत पुगेको तनहुँ प्रहरीलाई दोश्रो पटक अदालतले अनुसन्धानका लागि थप १२ दिनको म्याद दिएको छ। एकैपटक १२ दिन म्याद थप्नुले अदालत पनि यो प्रकरणलाई लिएर गम्भीर रहेको संकेत गरेको छ।

मुलुकी अपराध संहिता २०७४ को दफा २१९ ले १८ वर्ष नपुगेकी बालिकासँग सहमतिमै सम्बन्ध राखे पनि अपराध मान्छ। त्यसैले यतिखेर सबैको ध्यान पलतिरै छ, पल प्रकरणमा अदालतले कस्तो फैसला गर्ला ?

सर्वत्र यो जिज्ञासा उठिरहेका बेला हामीले अदालतका पुराना फैसलाका नजिरहरु खोज्नेक्रममा यस्तै एउटा घटना फेला पारेका छौं, जुन पल प्रकरणसँग मिल्दोजुल्दो लाग्छ। 

०००

०७० साल चैत्र १० गते दिँउसो १ बजे। काभ्रेस्थित साविकको शंखुपाटीचौर वडा नं ५ की ज्योती (परिवर्तित नाम) आफ्नो घरछेवैको कच्ची सडकमा खेलिरहेकी थिइन्। उनकी आमा पनि नजिकै घर पछाडिको करेसाबारी खुर्सानीको बिउ राख्दै थिइन्। 

यत्तिकैमा गाउँकै देवलाल श्रेष्ठ र नवराज तामाङ दाउरा गर्न जंगल जाने भन्दै त्यही बाटो भएर आए। कच्ची सडकमा ज्योतीसँग उनीहरुको भेट भैहाल्यो। भेटमा देवलाल र नवराजले ज्योतिलाई पनि आफूहरुसँगै दाउरा गर्न जंगल जानको लागि आग्रह गरे। दाउरा गर्दैगर्दा गफ पनि हुने र एकअर्काको भारी धकेल्न पनि सहयोग हुने भन्दै उनीहरुले ज्योतिलाई आफूहरुसँगै जान अनुरोध गरेका थिए।

ज्योति पनि उनीहरुसँगै जंगल लागिन्। तर, यो दृश्य भने ज्योतिकी आमालाई थाहै थिएन, यसकारण कि उनी घर पछाडिको करेसाबारीमा व्यस्त थिइन्।

नवराज, देवलाल र ज्योति करिब एक घण्टाको पैदल दुरीमा पर्ने एक्लेखेतमा जंगल पुगेपछि भने नयाँ दृश्य बन्यो। 

नवराज र देवलालले जंगलको एउटा गोठमा ज्योतिलाई जबरजस्ती भुँइमा लडाएर करणी गरे। सुरुमा १०/१२ मिनेट जत्ति नवराजले करणी गरे। त्यसलगत्तै फेरि देवलालले पनि करणी गरे। ज्योतीलाई सहन गाह्रो भएपछि उनी कराइन्, चिच्याइन्। उनको आवाज सुनेपछि केही गाउँलेहरु उक्त जंगलको गोठमै पुगे। उनीहरुले घटनास्थलबाट नवराज र देवलाललाई समातेर प्रहरीलाई जिम्मा लगाए।

घटनाबारे चौकीमा जाहेरी परेपछि प्रहरी पनि गम्भीर रुपमा अनुसन्धान अघि बढायो।

ज्योतिकी आमाले आफ्नो नाबालिग छोरीमाथि करणी गरेको भन्दै देवराज र नवराजविरुद्ध प्रहरीलाई बयान दिइन्। बयानमा भनिएको थियो,‘मिती २०७० चैत्र १० गते दिउँसो २ः३० बजे म जाहेरवालाको छोरी हाल नाम परिवर्तित काभ्रे ३० (ठ)लाई प्रतिवादीहरु देवलाल श्रेष्ठ र नवराज तामाङले ललाई फकाई दाउराको भारी घचेट्न भनी मेरो छोरी वर्ष १७ की ३० (ठ)लाई मैले थाहा नपाउने गरी दुवै जनाले घचेटी–घचेटी घरबाटै झण्डै १ घण्टाको दुरीमा रहेको एक्लेखेतको जंगलको डाडामा पुर्‍याई, सोही जंगलको गोठमा लगी भुइँमा लडाई निज प्रतिवादीहरु दुवै जनाले मेरो छोरीको इच्छाविपरित पालैपालो जबरजस्ती करणी गरेको हुँदा निज प्रतिवादीहरुलाई प्रक्राउ गरी कानूनबमोजिम कारवाही गरी पाउँ।’

प्रहरीले अनुसन्धान गर्दै जाँदा ज्योतिको उमेर १७ वर्ष (नाबालिग) नै रहेको पनि पुष्टि भयो। यहाँसम्म कि ज्योतिले धुलिखेल अस्पतालबाट ‘भेजाइनल स्वाब इक्ज्यामिनेशन’समेत गरिन्।

उनले पनि प्रहरीलाई बयान दिँदै भनिन्,‘म आमाको आँखा छलेर कच्ची सडकमा आउँदा मेरै गाउँको कहिलेकाहीँ बाटो हिँड्दा चिनेको नवराज तामाङ र देवलाल श्रेष्ठ म भएको ठाउँमा आएर मलाई वनमा दाउरा काट्न जाउँ, तिमीले हाम्रो भारी घचेटीदेउ, हामीलाई पनि साथी हुन्छ भनी निज प्रतिवादीहरु दुवै जनाले मेरो हातमा समाती अंगालो हाली मेरो ढाडमा घचेट्दै जंगलतिर लिएर गए। म सुस्तमनिस्थितिको भएको हुँदा मैले कहाँ लैजान लागेको आमाले गाली गर्छ, कुट्छ, पिट्छ भन्दा तिमी डराउनु पर्दैन, हामी केही पनि गर्दैनौँ भनी मलाई फकाउँदै घरदेखि झण्डै १ घण्टाको पैदल दुरीमा रहेको जंगलमा पुर्‍याई दिउँसो अन्दाजी २ः३० बजेको समयमा जबरजस्ती दुवै जनाले मलाई भुइँमा लडाई, मेरो छाती र योनीमा समेत छुने चलाउने काम गरी मैले लगाएको सुरुवाल खोलिदिएर पालैपालो २/२ पटक करणी गरेका हुन्।’

घटनाको अनुसन्धान गर्दै जाँदा प्रत्यक्षदर्शी प्रकाश तामाङ, इश्वरी बस्नेत र उत्तमराज भण्डारीले पनि बयान दिए।

उपलब्ध प्रमाण र विभिन्न व्यक्तिहरुको बयानको आधारमा नवराज र देवलालले ज्योतिलाई करणी गरेको पुष्टि भइसकेको थियो। तर, यसबीचमा अभियुक्त नवराजले भने फरक विशेषताको बयान दिए। उनले दिएको बयानमा भनिएको थियो, ‘मैले जबरजस्ती नभई निजको मञ्जुरीमा नै करणी गरेको हुँ। मसहित नवराजले पनि करणी गरेको हो। मैले निजलाई २ पटक करणी गरेँ। नवराजले कतिपटक गरे मलाई थाहा भएन। मैले गोठमा मात्र करणी गरेको हुँ। अन्यत्र होइन। पीडितले केही पनि भनेकी थिइनन्। माथितिर हिँडभन्दा खुरूखुरू गएकी हुन्।’

तर, यो बयानले मात्रै उनलाई छुट दिएन। किनकि मुलुकी ऐन, जबरजस्ती करणीको महलको १ नं मा कसैले कुनै महिलालाई निजको मञ्जुरी नलिई करणी गरेमा वा १८ वर्षभन्दा कम उमेरकी बालिकालाई निजको मञ्जुरी लिई वा नलिई करणी गरेमा निजले जबरजस्ती करणी गरेको ठहर्छ भन्ने कानूनी व्यवस्था स्पष्ट थियो। 

अन्ततः ०७१ साल असार २५ गते जिल्ला अदालत काभ्रेका न्यायाधिश कृष्णराम कोइरालाको इजलासले जबरजस्ती करणीको महलकोे ३(४) बमोजिम पाँच वर्ष कैद र ऐ.को ३ क नं बमोजिम थप पाँच वर्ष गरी जम्मा १० वर्ष कैद सजाय हुने ठहर गर्दै निज प्रतिवादीबाट रु. ५० हजार पिडितलाई क्षतिपुर्ति भराइदिने फैसला जारी गर्‍याे।

फैसला भइसकेपछि पनि अभियुक्त देवलाल भने अझै रोकिएनन्। बरु उनी पुनरावेदनपत्र बोकेर पुनरावेदन अदालतसम्म पुगे। पुनरावेदन पत्रमा भनिएको थियो,‘म मानसिक रोगीसमेत भएको कारण मलाई लगाएको आरोप झुठा भएकोले सुरू अदालतको फैसला उल्टी गरी मलाई सफाइ दिलाई पाउँ।’

तर, विवेचित तथ्य, प्रमाण एवं सैद्धान्तिक तथा कानूनी आधारबाट उनले आफूलाई मानसिक रोगी प्रमाणित गर्न सकेनन्। बरु झन् सुस्तमनस्थिति अवस्थाकी पीडितलाई जबरजस्ती करणी गरेको प्रमाणित भएको भन्दै पुनरावेदन अदालतका न्यायाधिश मोहनबहादुर कार्की र हेमराज पन्तको इजलासले ०७२ साल असार २९ गते जिल्ला अदालतको फैसललाई सदर गरिदियो। अन्ततः सर्वोच्च अदालतका न्यायाधिशद्धय विश्वम्भरप्रसाद श्रेष्ठ र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले पनि पुनरावेदक देवलालको पुनरावेदन जिकिर नपुगेको भन्दै जिल्ला अदालत र पुनरावेदन अदालतको फैसलालाई ०७५ साल माघ २४ गते सदर गरिदियो।

अहिले अभियुक्तहरु कारागारमा छन्।

अब पलको हकमा के होला ?

पल शाह हिरासतमा रहेका बेला यतिखेर सामाजिक मिडियामा अनेक तर्क–वितर्क सुनिएका छन्। कतिपय पल र नाबालिग किशोरीको सम्बन्धलाई सहमतिको नाम दिँदै करणी भन्न नमिल्ने भन्दै चिच्याइरहेका छन्। जबकी कानुनमा १८ वर्षमुनिका लागि सहमतिमै यौन सम्बन्ध राखे पनि त्यो जर्बजस्ती करणी ठहरिने स्पष्ट उल्लेख छ।

कतिपयले घटना घटेको महिनौंपछि मात्रै किन त्यस्तो आरोप लगाएको, त्यतिबेलै किन नभनेको भनेर पनि प्रश्न उठाएका छन्। काभ्रेको यो घटनामा पनि नबालिगले तत्काल जाहेरी दिएकी थिइनन् तर पछि फैसला उनकै पक्षमा भयो। तसर्थ, यी दुई घटनाको प्रकृति र पात्र फरक भएपनि फैसला एकै हुने देखिन्छ।

यही नजिरलाई हेर्दा पनि कलाकार शाहले नाबालिगसँग सहमति या अहसमति जे होस् तर यौन सम्बन्ध राखेको प्रमाणित भयो भने उनीमाथि १४ वर्षसम्मको जेल सजाय हुन सक्ने नजिर सबैका सामु छ।

प्रकाशित मिति: : 2022-03-10 19:15:00

प्रतिकृया दिनुहोस्

    Haina yo kasto niyem ho palle matra majja liyeka hun ra ketilai pani majja bhoyo hola ani sabai muddhama sachi hunchha yesma karani gareko dekhna chahi ko tai chha jantalai chaso bhairachha dekhne sachiko nam pau ani mudda lagauna pairnchha ki kaso

    • 2 बर्ष अगाडि
    • Murari ghimire