औषधी, खाद्यान्न र त्रिपाल जिल्ला विपद् व्यवस्थापन समितिमार्फत दिने सरकारी निर्णय

बिएल

नेपालमा भर्खरै बनेको प्रदेशीक सरकार विपद्को अवस्थामा कसरी काम गर्ने भनेर अलमलमा परिरहँदा केन्द्र सरकारकाे शनिबार बसेकाे बैठकले स्थानीय तह र प्रदेश सरकारको सम्वन्यमा जिल्ला विपद् व्यवस्थापन समितिलाइ औषधी, पानी, खाद्यान्न, त्रिपाललगायत अत्यावश्यक सामाग्री उपलब्ध गराउने व्यवस्था मिलाउन निर्देशन दिएको छ।

गुहमन्त्री रामबहादुर थापाको अध्यक्षतामा बसेको बैठकले बाढी पहिरोका कारण देशभरी देखिएको विपद्को स्थितिसँग लड्न आवश्यक सामाग्री जिल्ला विपद् व्यवस्थापन समितिकाे काेषबाट खर्च गरी निकासा माग गर्न निर्देशन दिएकाे छ। सयौं घर प्रभावित भइसकेको र ३० भन्दा बढी व्यक्तिको ज्यान गइसकेको अवस्थामा विगत दुई दिनदेखि परिरहेको अविरल बर्षाका कारण देश ठप्प भएको छ।

विपद्को स्थितिमा मानवीय कार्यमा सहयोग गरिरहेको संयुक्त राष्ट्रसंघ आवासीय प्रतिनिधिको कार्यालय (युएनआरसिओ) सँग आवश्यक सम्वन्य गर्न पनि सरकारले अनुरोध गरेको छ।

गृहमन्त्री थापाको अध्यक्षतामा बसेको आकस्मीक बैठकले नेपाल खाद्य संस्थानलाई आपतमा आवश्यक पर्ने खाध सामाग्री मौज्दात राख्न निर्देशन दिएको छ।

यस्तै, प्रकोप नियन्त्रणका लागि चिकित्सक टोली र आवश्यक औषधी उपचारका लागि तयारी अवस्थामा बस्न स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको छ।

नेपाल रेडक्रस सोसाइटी , मानवीय सहायता समूह र सरोकारवाला संघ संस्थालाई पनि सहयोगका लागि तयारी अवस्थामा रहन आग्रह गरेको छ।

उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलको विशेष उपस्थितिमा भएको बैठकले स्वास्थ्य, खानेपानी, सरसफाई, अवास समन्वय तथा व्यवस्थापन, शीघ्र पुनर्लाभ, बन्दोबस्ती, सञ्चार, शिक्षा, कृषि, पोषण र संरक्षणको संयुक्त र छुट्टाछुट्टै बैठक राखी कार्य आरम्भ गर्न निर्देशन दिने निर्णय गरेको छ।

राहत कार्यमा एकद्धार प्रणाली अनुसार जिल्ला विपद् व्यवस्थापन समितिको समन्वयमा स्थानीय निकायबाट गराउने निर्णय समेत भएको थियो। बैठकले आवश्यक रकम विपद् व्यवस्थापन कोषबाट खर्च गर्न निर्देशन दिने निर्णयसमेत गरेको छ।

यस्तै, क्षतिग्रस्त पूर्वाधार सुचारु गर्न सम्बन्धित निकायलाई निर्देशन दिने निर्णय गरेको छ। बैठकमा बर्षामा परी ज्यान गुमाउने व्यक्तिको चीर शान्तिको कामना गर्ने र घाइते व्यक्तिको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको थियो।

प्रकाशित मिति: : 2019-07-13 19:36:14

प्रतिकृया दिनुहोस्