नेपालको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका यादव थरका एक उपसचिव आफ्नै छोरीलाई जबर्जस्ती करणीको आरोपमा पक्राउ परेका छन् ।
झट्ट सुन्दा पत्याउनै गाह्रो पर्ने भए पनि यो कुनै गसिप हैन, समाचार हो ।
महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी रवीन्द्र धानुकका अनुसार उपसचिव यादव १८ वर्षीया छोरीलाई जबरजस्ती करणी गरेको अभियाेगमा सोमबार पक्राउ परेका छन् । महोत्तरी सोनमा गाविस–५ का स्थायी बासिन्दा यादव हाल ललितपुर धोविघाट बस्दै आएका थिए ।
४५ वर्षीय यादवले १८ वर्षीया छोरीलाई घरको तेस्रो तल्लाको कोठामा विदेशतिर छोरीलाई सेक्स गर्छन नेपालमा पनि गर्दा केही हुँदैन भन्दै करणी गर्दै आएको अनुसन्धानको क्रममा खुलेको धानुकले बताए । उनका अनुसार घरमा कोही नभएको मौकामा यादवले छोरीलाई आमा अहिले आउँदिन भन्दै विगत चार वर्षदेखि करणी गर्दै आएका रहेछन् ।
१२ कक्षामा अध्ययनरत छोरीको कलेजकै एक शिक्षककसँग प्रेम रहेको पनि अनुसन्धानबाट खुलेको छ । शिक्षक प्रेमीकै दबाबको कारण किशोरीले प्रहरीमा जाहेरी दिएपछि घटना सार्वजनिक भएको हो ।
आमाले थाहा पाए पनि घरभित्रको कुरा भन्दै उनले श्रीमानलाई आइन्दा त्यस्तो नगर्ने वाचा गराएर चुपचाप राखेकी थिइन् । तर, छोरीले बाबुले जबर्जस्ती गर्न नछोडेको बताउँदै प्रहरीमा जाने भनेपछि उनी पनि प्रहरीकोमा गएकी थिइन् ।
उपसचिव यादवविरूद्ध छोरीले जबर्जस्ती करणीको मुद्दा हालेपछि अहिले उनी निलम्बनमा छन् । प्रहरी हिरासतमा रहेका यादवविरूद्ध अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।