दसौंदी र आचार्यकाे यात्राः

युद्धकालका ‘दाेस्ती’, राष्ट्रियसभामा प्रतिस्पर्धी !

आज हुने राष्ट्रियसभा सदस्यको उपनिर्वाचनका लागि तीन जना प्रतिस्पर्धामा छन्। लुम्बिनी प्रदेश भूगोलबाट हुन लागेको उपनिर्वाचनमा एमालेबाट कुमार दसौंदी, काँग्रेसबाट माधवप्रसाद आचार्य र नागरिक उन्मुक्ति पार्टीबाट राजेन्द्रवीर राय उम्मेदवार छन्।

तीन जना प्रतिस्पर्धाका लागि चुनावी मैदानमा भएपनि अंक गणितका रूपमा एमालेबाट उम्मेदवार भएका दसौंदी र काँग्रेसबाट उम्मेदवार भएका आचार्यबीच प्रतिस्पर्धा देखिन्छ। रोचक त यो छ कि दसौंदी र आचार्य रोल्पा जिल्लाका स्थापित राजनीतिक व्यक्तित्व हुन्। उनीहरू समकालीन साथीसमेत हुन्।

फरक दलबाट राजनीति गरेपनि यी दुईजनाको नेतृत्वमा जिल्लामा विभिन्न राजनीतिक गतिविधि भएका छन्। माओवादीको उद्गगमस्थल रोल्पामा अन्य पार्टीका नेताहरूलाई राजनीति गर्न सहज थिएन। तर यी दुई नेताको नेतृत्वमा जिल्लामा थुप्रै सर्वदलीय राजनीतिक कार्यक्रम भएका छन्। ‘हिजो कयौँ पार्टी कार्यक्रमहरू हाम्रै नेतृत्वमा भएका छन्,’ दसौंदी सम्झन्छन्।

माओवादी आन्दोलनले नागरिकहरूको ज्यान जोखिममा भएको भन्दै नागरिकको जीवन रक्षाका लागि दसौंदी र आचार्यले अभियानसमेत सञ्चालन गरेका थिए। ‘माओवादी द्वन्द्व बढ्दै गइरहेको थियो। नागरिकले अकालमै ज्यान गुमाइरहेका थिए,’ आचार्यले हिजोको अभियान सम्झँदै भने, ‘मान्छेहरू हताहत हुन थालेपछि हामीले नागरिकको जिउधनको रक्षाका लागि माओवादी द्वन्द्व रोकिनुपर्छ भनेर अभियान चलाएका थियौँ।’ आचार्य यस्ता कार्यक्रम आफूहरूको नेतृत्वमा धेरै भएको बताउँछन्।

माओवादी द्वन्द्वको समयका यी दुई साथी अहिले आएर प्रतिस्पर्धी बनेका छन्। जिल्लादेखि केन्द्रसम्म पार्टीको विभिन्न तहमा बसेर काम गरेका उनीहरूमध्ये आजको निर्वाचनले एक जनालाई सांसद बनाउने छ। यसअघि दुबैजना सांसद बन्न प्रतिस्पर्धामा उत्रिए पनि सफलता हात पारेनन्। यसपटक भने एक जना सांसद बन्ने निश्चित छ।

एउटै जिल्लाका समकालीन दुई साथी प्रतिस्पर्धी बन्नुलाई उनीहरू एउटा राजनीतिक परिस्थिति मात्र भन्छन्। ‘उहाँ साह्रै मिल्ने साथी हो। म उहाँको घरमा जाने, बस्ने खाने। उहाँ हाम्रो घरमा आउने बस्ने, खाने गरेका साथी हौँ,’ दसौंदील भन्छन्, ‘प्रतिस्पर्धी हुन्छौँ भन्ने नै थाहा थिएन। राजनीतिक परिस्थितिले बनायो। मित्रवत प्रतिस्पर्धा हुन्छ।’

सांसद बन्ने सम्भावना कसको ?

लुम्बिनी प्रदेश भूगोलबाट हुन लागेको राष्ट्रियसभा सदस्यको उपनिर्वाचनका लागि तीनजना प्रतिस्पर्धामा भए पनि एमालेका दसौंदी र काँग्रेसका आचार्य नै बलियो प्रतिस्पर्धी हुन्। दसौंदी सत्ता साझेदार दलहरूको समर्थनमा उम्मेदवार बनेका छन्। उनलाई एमाले, नेकपा माओवादी केन्द्र, जसपा, लोसपा, जनमत पार्टी, राप्रपा, नेकपा एकीकृत समाजवादी दलको समर्थन छ।

आचार्यलाई हाल काँग्रेसको मात्र समर्थन छ। सत्ता साझेदार दलबाहिर रहेको जनमोर्चाले काँग्रेसलाई समर्थन गर्ने बुझिएको छ। काँग्रेसका लुम्बिनी प्रदेश सभापति अम्मर पुनले जनमोर्चा, नेकपा एससँगै अन्य दलहरूलाई समर्थनका गर्नका लागि छलफल भइरहेको बताएका छन्।

अहिलेको अंक गणितअनुसार लुम्बिनी प्रदेशसभामा ८७ जना सांसद छन्। जसमा एमालेका २९, माओवादी केन्द्रका १०, राप्रपाका ४, जनमत, जसपा, लोसपाका ३/३ नेकपा एसका १ र स्वतन्त्र २ जना सांसद गरी ५५ जना सांसदको दसौंदीलाई समर्थन रहेको छ।

काँग्रेसका २७ जना प्रदेशसभा सदस्य छन्। यदि आचार्यलाई काँग्रेसका २७, जनमार्चाका १ जनाले समर्थन गरे भने २८ जनाको समर्थन हुन्छ। ४ प्रदेशसभा सदस्य रहेको नागरिक उन्मुक्ति पार्टीले राष्ट्रियसभा सदस्यका लागि आफैँले उम्मेदवार दिएको छ।

प्रदेशसभा सदस्यको मतअनुसार दसौंदीको जित हुने निश्चित देखिन्छ। उनको पक्षमा ५५ र आचार्यको पक्षमा २७ जनाको समर्थन हुने देखिन्छ। नागरिक उन्मुक्ति पार्टीले उम्मेदवारी दिए पनि आफूलाई समर्थन गर्ने गरी छलफल भइरहेको दसौंदीले बताएका छन्।

यस्तो छ स्थानीय तहको प्रमुख र उपप्रमुखको अंक गणित

लुम्बिनी प्रदेशमा १०९ स्थानीय तह रहेका छन्। जसका प्रमुख र उपप्रमुख गरी २१८ मतदाता छन्। यीमध्ये एमालेका ६७, माओवादी केन्द्रका ४०, राप्रपा ३, जसपा ६, लोसपा ४ जना गरी १०६ जनाको दसौंदीलाई समर्थन रहने देखिन्छ।

काँग्रेस ९२ र जनमोर्चा ४ गरी ९६ जनाको समर्थन आचार्यलाई रहने देखिन्छ। २ जना स्थानीय तह प्रमुख र उपप्रमुख रहेको जनता प्रगतिशील पार्टीले भने कसलाई समर्थन गर्ने भन्ने टुंगो लागेको छैन।

प्रकाशित मिति: : 2023-02-08 19:00:00

प्रतिकृया दिनुहोस्