एनआरएनका सदस्यलाई पारिवारिक सुविधा योजना

तस्बिरः बिएल

गैरआवासीय नेपाली संघ (एनआरएनए)ले पारिवारिक सुविधाको योजना ल्याएको छ। एनआरएनका पञ्जीकृत सदस्य एवं उनीहरुका आश्रित परिवारलाई लक्षित गरी ‘एनआरएन फेमिली कार्ड’ योजना ल्याएको हो।

गैरआवासीय नेपाली संघको सचिवालय बालुवाटारमा मंगलबार पत्रकार सम्मेलन गरी ‘NRN Family Card’ को सुरुवात गरेको हो। योजनाको गैरआवासीय नेपाली संघका अध्यक्ष भवन भट्ट र उपाध्यक्ष सपिला राजभण्डारीले सुरूवात गरेका हुन्।

क-कसले प्रयोग गर्न पाउँछन्

अध्यक्ष भट्टका अनुसार एनआरएन फेमिली कार्ड संघका पञ्जीकृत सदस्यका नेपालमा बस्ने आफन्तहरूमा बाबु–आमा, श्रीमान–श्रीमती, र छोरा-छोरीले यो कार्ड पाउँछन्। तर, विवाह गरेका सन्तानले भने यो कार्ड पाउँदैनन्।

के फाइदा हुन्छ?

एनआरएनले आफ्ना सदस्य र उनीहरुका आश्रित परिवारलाई दिन लागेको कार्डबाट विभिन्न सेवा र सुविधामा सहुलियत पाउनेछन्।

एनआरएनले आफ्ना सदस्यलाई केही सुविधा होस् भन्ने हेतुले विभिन्न व्यावसायिक प्रतिष्ठानहरुसँग सहमति गरी उनीहरूले प्रदान गर्ने सेवा र सुविधा तथा बस्तु खरिदमा छुटको व्यवस्था गरेको छ।

यो कार्ड पाउने व्यक्तिले आफूले उपभोग गर्ने दैनिक उपभोग्य बस्तु तथा सेवामा निश्चित सहुलियत पाउनेछन्।

कार्ड पाएपछि संघमा पञ्जीकृत सदस्य र उनीहरुका परिवारका सदस्यले नेपाल भित्र र बाहिर संघसँग सहमति गरेका अस्पताल, बालबालिका तथा ज्येष्ठ नागरिक हेरचाह केन्द्र, विद्यालय तथा कलेज, होटेल, रेष्टुरेन्ट, सुपर मार्केट, एयरलाइन्स, ट्राभल एण्ड टुर्स,सूचना तथा सञ्चार सम्बन्धि क्षेत्र, बैकिंङ क्षेत्र, बीमा, फिटनेश सेन्टरलगायतबाट सहुलियत पाउँछन्। कार्डको म्याद २ वर्षको हुनेछ।

गैरआवासीय नेपालीलाई संघको सदस्य बन्न थप प्रोत्साहन होस भनी यस्तो व्यवस्था लागू गर्न लागेको अध्यक्ष भवन भट्टले जानकारी दिए।

कार्यक्रममा बोल्दै संघकी उपाध्यक्ष सपिला राज भण्डारीले यो सेवा सुरू गर्ने लामो समयदेखिको प्रयासले आज सफलता पाएको प्रतिक्रिया दिइन्।

उनका अनुसार आगामी अक्टोबरसम्म कम्तीमा ७ सय वटा विभिन्न क्षेत्रका प्रतिष्ठानहरुसँग सहमति गरिने र कार्डमार्फत विशेष सहुलियत पाउने छन्।

कार्यक्रममा संघका अध्यक्ष भवन भट्ट, उपाध्यक्ष सपिला राज भण्डारी, मकाउबाट प्रतिनिधित्व गर्नु हुने आइसीसी सदस्य मुकेश बरुवाल, राष्ट्रिय समन्वय परिषद् ओमानका उपाध्यक्ष केशवलाल श्रेष्ठ र सचिव रविन सिल्पकार, एनआरएनए एकेडेमीका संयोजक डा. प्रमोद ढकाल सहित विभिन्न सञ्चारकर्मीहरुको उपस्थिति थियो ।

प्रकाशित मिति: : 2019-06-11 13:33:09

प्रतिकृया दिनुहोस्