प्रेमिका फेरि किन सडकमा आईन्? (भिडियो सहित)

तस्बिरः बिएल

केहि समय अगाडि ब्रेकएनलिङ्क्समा खलासीबाट बालाकृत निरूको सत्यघटना प्रस्तुत गरेका थियौं।

सोही घटनासँग जोडिएकी अर्को पात्रलाई आज जोड्ने कोशिश गरेका छौ।

विभिन्न बाध्यता र प्रलोभनमा परेकी निरूलाई यो पेसाबाट बाहिर निकाल्न मैले उनलाई बहिनी बनाएकी थिएँ।

उनलाई समय समयमा भेटेर सम्झाउनेसमेत गर्ने गरेकी छु। यसै सन्दर्भमा निरूसँग भेटेको एक दिनको घटनालाई यहाँ सामू राख्दैछु।

एकदिन निरूले मलाई भनिन्,‘म्याम म हजुरलाई मेरो मिल्ने साथी भेटाउँछु नि है। ऊ पनि म जस्तै गेष्टहाउस तिर जान्छे  म ५०० रुपैयामा पनि जान्छु तर ऊ १००० घटि मान्दिनँ।’

मैले उनलाई हुन्छ भने।

एकदिन निरूले फोन गरेर मलाई कंलकीस्थित चेन्ज नेपाल नामक संस्थामा बोलाईन्। जहाँ व्यवसायिक यौन दुर्व्यवहारमा परेका बालिका तथा किशोरीलाई पेशाबाट बाहिर ल्याउन परामर्श दिएर सिपमुलक तालिम दिईन्छ। निरूलाई भेट्न म त्यही गएँ।

उनले आफ्नो साथीलाई फकाएर बोलाईछन्। संस्थाको खालीकोठामा उनको साथी घोप्टो परेर बसेकी थिईन्। ‘म्याम मेरो साथी उही हो,’ जिङ्ग्रिङ्ग परेको कपाल, फोहोर कपडा लगाएकी उनि एकतमासले घोप्टो परेर टोलाईरहेकी युवतीतर्फ देखाउँदै उनले भनिन्।

म उनको छेउमै गएर बसेँ। उनी लठ्ठ थिईन्। सायद केहि नशालु कुरा खाएकी थिइन् क्यार।

मैले बोलाउने कोशिश गरेँ, तर उनले पटक्कै टाउको उठाईनन्। मैले टाउकोमा हात राख्दै भने,‘नानी तिम्रो नाम के हो?, उनले मतिर पुलुक्क हेर्दै भनिन्- प्रेमिका।

उनको अनुहार देख्ने वित्तिकै म म झसंग भएँ। आफू उभिएको जमिननै भासिएझै लाग्यो। शरीर लगलग काप्न थाल्यो।

उनी पनि मलाई हेर्ने बित्तिकै डराएरझै गरिन्। उनी पुरै नशामा थिईन्।

मैले ६ महिना अगाडिको कुरा सम्झिएँ।

घर धादिङ, उमेर १३ वर्ष। सानैमा आमा बितिन्। बुवा रोगले थलिदै गए। ९ वर्षकै उमेरमा गाँउकै एक जना आफन्तबाट बलात्कृत भएपछि उनी भागेर काठमाडौं आएकी रहिछन्।

काठमाडौं आउने वित्तिकै आफन्तकोमा बसिन्। तर, अर्काकोमा कति दिन टिकिन्छ र? उनी काम खोज्दै विभिन्न होटलहरु चहार्न थालिन्। अन्ततः कंलकीको एक खाजा होटलमा काम पाइन्।

होटलमा खान आउने ग्राहक अनि साहुँ सवैले छोरी/नानी भन्ने तर यौन दुव्र्यवहार गर्ने।

एउटामा काम छाडेर अर्कोमा गयो, जता गए पनि उस्तै भोगिन्। उनको बाल मानसिकतालाई सही बाटोमा लगाउने कोही भएन। अन्ततः उनी यौन पेशामा लागिन्।

बसपार्कबाट उद्धार गरेर १ वर्ष अगाडि उनलाई काठमाडौकै एक संस्थाले आवास गृहमा राखेको थियो। उनलाई मैले पहिलो पटक त्यही भेटेकि थिएँ।

कक्षा ४ मा चावहिलको एक स्कुलमा पढ्ने प्रेमिका संस्थामा अरू नानीहरुभन्दा मिजासिली र पढाईमासमेत अब्बल थिइन्।

एक दिन म उनको  आवास गृहमा पुगेर फर्कन मात्र लागेकी थिएँ।  च्याप्प हात समात्दै आँखाभरी आँशु पार्दै उनले भनिन्,‘नाई म हजुरलाई जानै दिन्नँ। हजुर किन कहिलेकाही मात्र आउनुहुन्छ?,’मसँग उनलाई दिने जवाफ थिएन।

‘स्कुल गयो आयो अनि यहि भित्र थुनिएर बस्यो कस्तो बोर हुन्छ। शनिबार/शनिवार भेट्न आउनु न ल?’, उनको कुराले म स्तब्ध भएँ। ‘म आईहाल्छु नि लाटि’, भन्दै जवरजस्ती हात छुटाएर हिडेँ।

तिनै प्रेमिकालाई त्यो रूपमा देख्दा उनीसँग बोल्ने कुनै शव्दै भएन।

उनलाई सोधेँ,‘तिमि त मेरी बहिनी। संस्थाको आवासगृहमा थियौं, कसरी फेरि सडकमा आईपुग्यौ?’ उनले जवाफमा भनिन्- संस्थाले हामीलाई खान बस्न दिन्छ स्कुल पनि पढाउँछ। तर, सधै एकोहोरो थुनेर राखेपछि कसरी बस्न सकिन्छ र? कहिल्यै कोहि भेट्न आउदैनन्। न आफन्त, न छिमेकि, न त कोहि साथीभाइ। सधैं पिँजडाको सुँगा भएर बस्न को सक्छ र?’,उनले नशालु स्वरमा जिब्रो लट्पटाउँदै भनिन्।

संस्थामा बस्दा बस्दै बिरामी वुवाको याद आएपछि प्रेमिका वुवा भेट्छु भन्दै  गाँउ पुगिछन्।

‘गाँउमा वुवा ओछ्यानबाट उठ्न नसक्ने अवस्थामा थिए रे। १,२ महिना त बसेँ। तर, गाँउमा यो त काठमाडौंमा बिग्रिएर बसेकी भनेर सवैले छि छि/ दुर दुर गर्न थालेपछि जाने ठाँउ भएन र फर्किएर यहि पेशामा लागेँ,’ उनले संकोच मानिमानि यति कुरा भनिन्।

मैले सोधे,‘अहिले कहाँ बस्छ्यौ। बल्खुमा एक जना आन्टीकोमा बस्छु। उनैले मलाई ग्राहक खोजेर पठाउँछिन् र कमिसन लिएर बस्छिन्।’

मैले उनलाई ती आन्टी भेटाउन आग्रह गरे। त्यत्तिकैमा उनको फोन आयो।

उनले ‘हुन्छ म भेटाउँला आन्टीले ग्राहक आयो छिटो आईज भन्नुभयो’, भन्दै उनी निस्किइन्।

हिजो आज उनको मोवाईल स्वीचअफ छ।

निरूले पनि यो पेशा छाडेर घरजम गरेर बसिसकेकोले ऊसँग कन्टयाक्ट छैन भन्छिन्।

म भने प्रेमिका भेटेर उनलाई यौन पेशामा लगाएर कमिसन खाने आन्टीलाई भेट्न प्रयासमा छु।

नेपालमा विभिन्न कारणले हिंसा तथा जोखिममा रहेका बालकालिकालाई राख्ने आवास गृह प्रशस्तै छन्। तर, उनीहरुलाई सही ढंगबाट लामो समयसम्म  मनो सामाजिक पशामर्श  दिने र उनीहरूको ईच्छा अनुसारको सीपमुलक तालिम तथा अन्य कार्यक्रमहरुमा सहभागि गराउन नसक्दा एकपटक संस्थामा बसेका नानीहरु पुनः सडकमा आउने गरेको घटनाहरु प्रशस्त भेटिन्छन्।

यो पनि हेर्नुहोस्- म्याम म गेष्टहाउस जान छाडेँ नि

 

प्रकाशित मिति: : 2019-06-10 15:47:58

प्रतिकृया दिनुहोस्