सार्वजनिक शिक्षा-१
मेयर कान्तिका सेजुवालले भनिन्- 'अब प्रावि स्कुलहरु मर्ज गरिने छ ।' त्यसपछि मलाई ज्वराे आएकाे छ । मेराे अस्तित्व मेटिने चिन्ता बढेकाे छ । चिन्ताले झन् सुक्दै गएकाे छु । म काेेसँग मिसिनुपर्ने हाे भनेर पिर परेकाे छ। सरकारले अघि सारेकाे मर्जकाे नीतिअनुसार स्थानीय तह लागेका छन् ।
म सुरुकाे नमुना स्कुल हुँ । त्यतिबेला म जस्ता अरु काेही थिएनन् । आज अरुपनि म जस्तै नमुना स्कुल छन् । उनीहरुले आफ्ना विद्यार्थीलाई 'माद्यामिक शिक्षा परीक्षा'मा राम्राे प्रतिशत उत्तीर्ण गराएर नमुना भएका छन् । म पनि जुम्ला जिल्लामै पहिलोपटक विद्यालयकाे सबैथोक राम्राे गराएर नमुना स्कुल भएकाे थिएँ ।
सुरुमा मेराे नाम अशाेक प्राथमिक विद्यालय थियाे । म राम्राे हुँदै गएपछि पछि मेराे नामले तीन अक्षर भएकाे एक शब्दकाे उपाधि थाप्याे- 'नमुना' । त्यसै दिनदेखि म नाम फेरिएर अशाेक नमुना भएकाे हुँ । त्यसपछि सबैले मलाई नमुना स्कुल भन्न थाले । आजसम्म पनि म नमुना नै छु । म अशाेक पनि हुँ। अशोक र नमुना दुबै हुँ। मलाई मान्छेहरुले अशाेक कम र नमुना बढी भनेर चिन्छन् ।
जुम्ला बजारमा रहेकाे टुडिखेलकाे माथिल्लो गेटैनेर छु म । जुम्ला बजारकाे मुटुमै अवस्थित छु । हिमाली जिल्लामा सबैभन्दा मिलेकाे ठाउँमा सदरमुकाम भएकाे हुनाले मेराे अवस्थिति पनि गर्व गर्न लायककाे हुन गएकाे छ । मेराे छेउमै जुगाड खाेला कलकल बगेकाे छ। वारि बजारकाे गुञ्जन र पारि जुगाडकाे सुसाइले मेराे मन चङ्गाजस्ताे हलुङ हुन्छ । जिल्लाकाे जुनसुकै कुनामाबाट बिहान हिडेकाे मान्छेले मलाई एकै दिनमा सजिलै भेटाउन सक्छन् ।
सायद यस्तै मिलेकाे भूगोल देखेर नै हुनुपर्छ मलाई जन्माउने प्रयास गरिएकाे । विराटनगरबाट अशाेक टेक्स्टाइलका मालिक अशाेक जुम्ला आएका थिए । त्यसबेला तत्कालिन अञ्चलाधीश बद्रीविक्रम थापाकाे पहलमा अशाेकले आफ्नाे नामबाट मेराे न्वारान गराउने गरी २०२६ सालमा १० हजार सहयाेग गरेका थिए । लगातार ३ वर्ष म गर्भमा रहेपछि २०२९ सालमा म जन्मिएँ ।
सदरमुकाम र बाहिरबाट सदरमुकाममा बस्न आउने समेतकाे भविष्य उज्ज्वल पार्न, उनीहरुलाई ज्ञानी र असल बनाउन अनि तिनै मान्छेहरुले असल समाज बानाउन सहयाेग गरुन् भन्ने ठुलाे उदेश्य राखेर मलाई जन्माइएकाे थियाे।
सुरुमा म चार काेठाकाे थिएँ । एउटा काेठा मास्टर बस्ने र अरु काेठामा पठनपाठनकाे व्यवस्था मिलाउने गरी म जन्मेकाे हुँ । मेराे जन्मले स-साना नानीहरुकाे भविष्यरेखा काेर्न थाल्याे । सुरुमा विद्यार्थी संख्या निकै कम थियाे । पढ्नुपर्छ भन्ने चेतनाकाे विकास भएकै थिएन ।
म भविष्यमा अवश्य चेतनाकाे विकास हुन्छ भन्ने आश मानेर बसेकाे थिएँ । संसार परिवर्तनशील छ । स्थीर केही पनि छैन । त्यसैले पनि म आशावादी थिएँ । 'मैले फूल झर्नलाई फुल्छन् हाेइन उम्रनलाई झर्दछन्' भन्ने मान्यता बाेकेँ । नभन्दै विद्यार्थीकाे संख्या हरेक वर्ष बढ्न थाल्याे । पढ्न आउनेकाे संख्या बढेकाे देखेर म खुशीले गदगद् थिएँ।
म जन्मेकै दिनदेखि विना भेदभाव सबैकाे लागि ढाेका खाेलिदिएँ। सबै आउने प्रबन्ध मिलाएँ । त्यसैले सबै खालकाे आर्थिक, सामाजिक, राजनीतिक हैसियत भएका आएर एउटा परिवार बनेर मलाई अघि बढाउने काम भयाे । सबैले मेराे उन्नति-प्रगतिकाे चाहना राखे । मलाई विद्याकाे मन्दिर बनाउने पवित्र कार्यमा सबै तम्सिएकाे देखेर मनमा सन्तोष बढ्न थाल्याे । यसरी मिलेकाे सन्तुष्टीले विस्तारै म माेटाउदै गएँ ।
एउटा भवनकाे चार काेठामा सिमित म चाँडै नै विस्तार भएँ। सरकार मदेखि निकै खुशी भयाे । ऊ ममाथि लगानी गर्न तयार भयाे । अनि त मेराे आकार नबढ्ने कुरै आएन । म दिन दुई गुणा, रात चाैगुणा बढ्दै र खुशी हुँदै गएँ । मैले साेचे मेरा दिन आए । अब मैले पछाडि फर्किनुपर्ने छैन ।
उमंगले उत्साहित मलाई परिणाम देखाउन कुनै समय लागेन म चाँडै नै सबैकाे नजरमा राम्रो बनेँ । परिणाम मलाई नमुना स्कुलकाे ठुलो उपाधि मिल्याे । 'साेचेकाे पाइयाे अब के चाहियाे' भनिन्छ तर म त्यतिमा सन्तुष्ट भइँन । सन्ताेष हर चिजकाे सत्रु हुन्छ भन्ने मान्यता बाेकेर अघि बढ्न खाेजेँ । आम्दानीकाे दायरा फराकिलो बनाउनुपर्छ भनेर मेराे वरिपरि रहेकाे खालि जग्गामा टहरा बनाएँ। त्यसलाई भाडामा दिएँ। सरकारले दिने सहुलियतकाे साथसाथै मेराे आफ्नाे छुट्टै आम्दानी पनि हुन थाल्याे ।
म आकर्षणकाे केन्द्र मानिदैँ गएँ। म ब्रान्डकाे रुपमा स्थापित भएँ । बजार वरपरका सबैकाे गन्तव्य स्थान म बनेँ। मैले त्यतिबेला कखरा सिकाएका डाक्टर, पाइलट भए। कति राम्रा प्राविधिक बनेका छन् । जुम्लाले प्रष्ट वक्ता भनेर चिनेका स्वर्गीय डिल्लीबहादुर महतले अक्षर यही सिकेका हुन् । उनी सांसद र मन्त्री दुबै बने। पूर्वमन्त्री तथा सांसद भक्तबहादुर राेकायाले पनि ज्ञानकाे थालनी यतै गरेका हुन् ।
उनीहरु सबैलाई सम्झिँदा आज पनि म खुशीले बुरुक्कै उफ्रिन्छु । आखिर मेराे सम्पत्ति यही त हाे नि भन्ने लाग्छ । अरु सबथोकले असन्तुष्ट बनाएपनि वा भएपनि यही एउटा कुराले सँधै तृप्त बनाउँछ मलाई ।
२०४६ सालमा देशमा प्रजातन्त्र प्राप्तिको लागि आन्दोलन भयाे । जनताकाे जित भयाे । राजाकाे निरंकुशता जनताकाे बलकाे अगाडि लत्र्याकलुत्रुक भयाे । दशेले नयाँ गति लिन्छ भनेर नेताहरुले भाषाण गरे । जनताले आश माने र पत्याए ।
जनताले आफ्नाे लागि भनेर बुझेकाे शासन प्रजातन्त्रमा चुनिएका नेता मन्त्री बने । २०४९ सालमा सरकारले निजीकरण ऐन ल्यायाे । २०५१ पछि भएका सरकारी संरचना पनि निजीकरण भए । निजी क्षेत्रले लगानीबाट उच्च प्रतिफल प्राप्त गर्ने क्षेत्रकाे खाेजी गर्याे । आकर्षक मुनाफाकाे क्षेत्र शिक्षा देख्याे । परिणामत: निजी शिक्षण संस्था धमाधम खुल्न थाले । सरकार उदारिकरणमार्फत् केही सिमित मान्छेकाे सञ्चालक समिति मात्र भयाे । प्रजातन्त्रकाे आभाष भएन ।
निजी शिक्षण संस्थाले आकर्षक विज्ञापन गरे । अंग्रेजी माध्यमबाट पठनपाठन सुरु भयाे । अंग्रेजी राम्राे भन्ने पारे । जसरी लर्ड म्याक्लेकाे 'माइनुट अफ इन्डियन ऐेजुकेशन' नामकाे कार्यपत्रमार्फत् भारतमा अंग्रेजी राम्राे भन्ने पारियाे । परिणामत: भारतमा अंग्रेजी जान्ने मध्यम वर्गको उदय भयाे । भारतीयकाे आफ्नाे अंग्रेजी साहित्य थिएन । त्यही माैकामा उनीहरुलाई बेलायती अंग्रेजी साहित्य पढाइयाे । यसरी बेलायतीले भारतीयकाे मानसिकतामा हमला गरे। आफ्नाे साम्राज्य विस्तार गर्न सफल भए ।
त्यसरी नै नेपाली लगानीकर्ताले पनि निजी शिक्षा राम्राे हाे भनेर आम मान्छेकाे मानसिकतामा हमला गर्न सके । त्यसपछि हाे अघिल्लो दिनसम्म आफ्नाे भविष्य मैमाथि देखेर मकहाँ आउनेहरु धमाधम निजीमा जान थाले । उनीहरुले मलाई गरिब, दलित, दुखी, कमजाेर आम्दानी हुनेका सन्तान र छाेरीहरु मात्र पढ्ने ठाउँ देख्न थाले । विस्तारै उनीहरुकै कारण मकहाँ आउनेकाे संख्या घट्न थाल्याे । हिजाे समानता ल्याउनलाई भनेर सिकाउने मलाई नै उनीहरुले कमजाेरहरुकाे मात्र, गन्तव्य स्थान हाे भन्ने खालकाे संकथन (डिस्काेर्स) निर्माण गरिदिए ।
शिक्षाले वर्गविहिनता ल्याउँछ भनेर साेच्ने र सिकाउने म शिक्षाले वर्गीय विभेद पनि सिर्जना गर्छ भन्ने भैसकेको छु ।
त्यही पृष्ठभूमिमा शिक्षकहरुले आफ्नाे पेशागत हितका लागि भनेर संगठन बनाउन थाले । तीनले पेशागत हित भन्दापनि आफ्ना मान्छेकाे हितकाे लागि काम गरे । आफ्नालाई सहर बजार नजिक ल्याउनुपर्छ भनेर पाखुरी बजार्ने भए । उनकाे दादागिरी चल्न थाल्याे । उनका मान्छे जस्ताेसुकै अल्छी, बदमास र नामुद ठगै भएपनि उनीहरुकाे सुरक्षाकाे लागि पेशागत संगठनहरु लागे । उनीहरु ट्रेड युनियनवादी भए ।
परिणामत: उनीहरुका मान्छेहरुलाई मैले पनि हाजिर गराउनुपर्ने बाध्यता आइलाग्याे। उनीहरु आएर पलेटी कसेर वात मार्ने भए । मैले केही गर्न सकिन । नियम कानुनले उनीहरुलाई नियन्त्रण गर्ने भनेर बनाएकाे व्यवस्थापकीय निकाएमा पनि घुमाइ-फिराइ आफ्नामान्छेको हालीमुहाली हुने वातावरणमा मिलाए । मैले कसैलाई कार्वाही गर्न नसक्ने भएँ । उनीहरुलाई कार्वाही गर्न मेराे केही सीप नचल्ने भयाे । म निरीह भएँ ।
मकहाँ आउने गरिब र दलितका छाेराछाेरी पढाइ हुन छाेडेपछि विस्तारै कक्षामा उपस्थिति घटाउँदै गए । उनीहरुकाे कक्षा उपस्थितिकाे दर घट्याे । विस्तारै उनीहरुकाे पनि विद्यालयसँगकाे दूरी बढ्याे ।
नाफा अचाक्ली हुनाले धनीहरुले 'बोर्डिङ स्कुल'को नाममा शिक्षामा लगानीको दायरा फराकिलो बनाए । उनीहरुले एउटा मात्र हैन, मेरै वडामा तीनवटा निजी स्कुल सञ्चालनमा ल्याए । अब उनीहरुले गरिब र दलितलाई लक्षित गरेर याेजना बनाए । विभिन्न स्किम ल्याए । लाेभ देखाए । आफ्ना छाेराछाेरीकाे उज्ज्वल भविष्यकाे खाेजी गरिरहेका गरिब पनि त्यतै तानिए । म क्रमश: रित्तो भएँ । मास्टरहरु मकहाँ घाम ताप्न मात्र आउने भए । म खुम्चिदैँ गएँ । पहिले नेता, प्राविधिक उत्पादन गरेकाे म अब धराला, गाेठाला, बछाला र हलीहरु उत्पादन गर्ने अवस्थामा पुर्याइएँ ।
दुखद संयाेग नै भन्नुपर्छ- अहिले मेराे हातामा, मेराे स्वामित्वको जग्गामा बधशाला निर्माण भएकाे छ । पशु सेवा कार्यालयले उद्योग वाणिज्य संघसँग सहकार्य गरेर बधशाला निर्माण ग¥याे । विद्याकाे मन्दिरमा हत्याकाे काम नहाेस् भन्ने सचेत तहबाट कुरा उठेकाे हाे तर मलाई अघि बढाउन नेतृत्व गरेकाे तह नै कन्भिन्स भएपछि बधशाला निर्माण भैछाड्याे । मेराे साेच घर बनाेस्, त्यहाँ पुस्तकालय हाेस् नभए पुस्तक पसल हाेस् भन्ने थियाे । भएन । पहिले सबैकाे प्याराे भएकाे बेला यस्ताे आँट कसैले गरेन । अहिले म हेलामा छु । कोही डराउनेवाला छैन । यसैपनि म निम्न वर्गका छाेराछाेरीलाई निम्न स्तरका कामदार उत्पादन गर्ने कारखाना हुँदैछु । सायद यतै कतै तिनीहरुले पशुबध गर्ने काम पाे पाउँछन् कि !
म मात्रै हैन, म पछि मेराे नगरमा खाेलिएका अरु 'सरकारी' स्कुल पनि क्रमश: मैजस्ता भए । उनीहरुमा म प्रतिविम्बित हुँदै गएँ । केही समय अघि मेराे नगरकी मेयर कान्तिका सेजुवालले बनाएकाे नगर शिक्षा समितिले विद्यालयहरू अनुगमन गर्याे । अनुगमनबाट अवस्था सन्ताेषजनक नपाएपछि मेयरले घेषाणा गरिन्- 'अब प्रावि स्कुलहरु मर्ज गरिने छ । मेयरले अस्वभाविक बाेलिनन् । उनले सरकारकाे भाषा बाेलिन् ।'
त्यसपछि मलाई ज्वराे आएकाे छ । मेराे अस्तित्व मेटिने चिन्ता बढेकाे छ । चिन्ताले झन् सुक्दै गएकाे छु । म काेेसँग मिसिनुपर्ने हाे भनेर पिर परेकाे छ। सरकारले अघि सारेकाे मर्जकाे नीतिअनुसार स्थानीय तह लागेका छन् ।
मेराे देशकाे संविधानले प्रस्तावनामा समाजवादउन्मुख भनेर लेखेकाे छ । समाजवादमा सरकारी स्वामित्वका स्कुल हुन्छन् । अब सरकारी स्वामित्वका सामुदायिक स्कुल राजनीतिक खिचातानी, पावरकाे खेल, वर्गीय विभेद आदि कारणले धराशायी हुँदैछन् । सरकारले आफ्नाे नीतिअनुसार मजस्ता स्कुलहरु मासिदै जानेछाैं । त्यसकाे ठाउँ निजी शिक्षण संस्थाले लिनेछन् । उनीहरुकाे एकाधिकार चल्नेछ । त्यसपछि अविभावककाे ढाड सेकिने गरी पढाइकाे शुल्क बढ्नेछ । गरिब झन् गरिब र धनी झन् धनी हुनेछन् । अनि कसरी समाजवादकाे ढ्वाङ फुक्न सकिएला खै ?
परिणामत: कति अभिभावकले आफ्ना बच्चाकाे पढाइ बीचमै छाेडाउनु पर्नेछ। ड्रप-आउटकाे समस्या कहिले सुल्झिने छैन । गरिबकाे हैसियत कहिले पनि धनीसरह बन्ने छैन । मेराे देशले अर्वाै खर्चेर बनाएकाे संविधानकाे खिल्ली उड्नेछ । त्यसैले सक्छौ भने सबै मिलेर मलाई बचाउ । म नमुना भैरहन चाहन्छु।