काभ्रेपलाञ्चोककी रुपा लामाले फूल बेच्न थालेको दुई दशक भयो। उनी काठमाडौंको भेडा सिहंमा विवाह र तिहारका लागि चाहिने साम्रगीहरु बेच्छिन्।
तिहार नजिएसँगै उनी फूल बेच्नमा भ्याइनभ्याइ छिन्। सयपत्री र मखमली बेचेर उनी दिनकै चारदेखि पाँच हजार कमाउँछिन् तर व्यापार नभएको गुनासो गर्छिन्। ‘अहिले व्यापार नै छैन, यसो खान चाहिँ पुगिरहेको छ’, उनले भनिन्।
‘पोर’ साल न्यूरोडको फुटपाथमा पसल राख्दा आम्दानी हुने गरेको बताउने उनी यो पटक भने सटर भाडामा लिँदासमेत लगानी उठाउन नसेको बताउँछिन्।
‘पोर पराल त बाटामै फूलहरु सजाइन्थ्यो, धेरै ग्राहकहरु आउनुहुन्थ्याे किनेर लैजानु पनि हुन्थ्यो, आम्दानी पनि राम्रो थियो तर अहिले कमाइ नै छैन’, बिएल नेपाली सेवासँग कुराकानी गर्दै उनले भनिन्, ‘काठमाडौंका मेयर साबले हामीलाई बाटोबाट उठाउनुभयो।’
काठमाडौंलाई सफा राख्नका लागि मेयरले गरेको कामलाई प्रशंसा गर्दै उनी भन्छिन्, ‘उहाँले गर्नुभएको काम त राम्रै हो तर उहाँले हामी फुटपाथ व्यापारीहरुको बारेमा पनि सोच्नुपर्थ्यो।’
काठमाडाैंका मेयर बालेन साहले फुटपाथ व्यापारीलाई हटाएपछि आफूले भाडाकाे सटर लिन बाध्य भएको उनी सुनाउँछिन्।
‘आफूले बुझेको जानेको काम नै यही हो, जागिर खाम भने पढाइ-लेखाइ छैन, त्यसैले लाखौँ ऋण लिएर पसल सुरु गरेँ’, उनले भनिन्।
बाटोमा पसल हुँदा तिहारकाे समयमा २० देखि २५ केजी फूल ल्याउने उनले यो पटक ४–५ केजी मात्र फूल बेच्न राखेकी छन्।
‘मैले राखेको पसल भित्री ठाउँमा छ, जो कोही ग्राहकले देख्नुहुन्न, त्यसैले थोरै फूल राखेको छु’ उनी भन्छिन्, ‘धेरै फूल किनेर किन खेर फ्याल्नु?’
विगतका दिनहरुमा उनले भारत र धापाखेलबाट ल्याएको फूललाई लाखौँ रुपैयाँ लगाएर किनिन्। जसबाट उनले लाखौँ आम्दानी पनि निकालिन्।
‘बाटोमा पसल राख्दा त एक लाख रुपैयाँ लगानी गरेर ४–५ रुपैयाँ नै कमाउथेँ तर अहिले सम्भव नै छैन’, उनले बताइन्।
फूल बेचेरै छोरालाई यूरोप पठाइन्, छोरीलाई अष्ट्रेलिया पठाउने तयारी
साढे दुई दशकअघि उनी बेरोजगार थिइन्। उनीसँग न पढाइ थियो, न त काम गर्न कुनै सिप नै। त्यसैले उनले फुटपाथमा फूल बेच्ने निर्णय गरिन्।
एकदिन उनले बाटाेमा देखेकी थिइन्, आफूजस्ती महिलाले मन्दिर नजिकै फूल बेचेको अनि किन्नेको लाइन लागिरहेको। त्यो देखेर उनमा पनि जोश आयो, त्यसैगरी फूल बेच्ने। नभन्दै रुपाले पाँच हजार खर्च गरेर भक्तपुर र ललितपुरबाट फूल ल्याइन्। अनि सुरु गरिन्, फूलको व्यापार।
फूल बेचेर उनले विस्तारै छोराछोरीलाई उच्च शिक्षा दिइन्। अहिले उनले छोरालाई ‘क्रोएसिया’ पठाएकी छन् भने छोरीलाई ‘अष्ट्रेलिया’ पठाउने सुसारमा छिन्। फूल बेचेरै छोराछोरीलाई शिक्षित बनाउन पाएकोमा खुसी छिन्, रुपा।
यूरोप गएका छोराले महिनाकै लाखौँ रुपैयाँ घर खर्चका लागि पठाउँछन् तर पनि रुपा दुख गर्न छाड्दिनन्।
‘छोराले पठाइदिएको पैसा बचत गरेर राखिदिएको छु। छोराले पनि त आफ्नो भविष्य बनाउनै पर्यो नि!’ ५० वर्ष कटेकी उनी भन्छिन्, ‘सकुन्जेलसम्म छोराछोरीको कमाइ खानु नपरोस्। त्यसैले काम गरेर जीविका चलाउँदै छु।’
छोरालाई बाटो देखाइसकेकी उनी अब छोरीलाई आत्मनिर्भर बनाउन चाहन्छिन्। त्यसैले त उनी छोरीलाई अष्ट्रेलिया पठाउने तयारीमा छिन्।