प्याज प्रतिकिलो २०० !

फाइल तस्बिर

केही दिनयता डडेल्धुरा सदरमुकाममा प्याजको मूल्य ह्वात्तै वृद्धि भएको छ। प्याजको मूल्य आकाशिएसँगै यहाँका उपभोक्ता मारमा परेका छन् । सदरमुकाममा प्याज प्रतिकिलो रु २०० मा बिक्री भइरहेको छ।

प्याजको मूल्य बढेसँगै अहिले बजारमा माग घट्दै गएको डडेल्धुरा सदरमुकाम अमरगढी पोखराका एक व्यापारी खगेन्द्र जोशीले जानकारी दिए। प्याजको मूल्य वृद्धि भएसँगै कतिपय पसलमा प्याज पाउनै मुस्किल हुने गरेको छ। प्रतिकिलो रु ५० मा बिक्री भइरहेको प्याज एक्कासी रु २०० पुगेको स्थानीयवासी इन्दिरा ताम्राकार बताए।

भारतबाट प्याजको आयात कम भएको र यहाँ पनि प्याज उत्पादनमा आएको कमीले नेपाली बजारमा प्रत्यक्ष असर परेको व्यापारीहरुले बताउँदै आएका छन्। भारतमा ढिलो गरी शुरु भएको मनसुन र लगातारको वर्षाले खेती नष्ट भएपछि प्याजको मूल्यवृद्धि भएको देखिन्छ।

प्रकाशित मिति: : 2019-11-16 16:34:15

प्रतिकृया दिनुहोस्