उपनिर्वाचनका लागि २१ दललाई चुनाव चिन्ह प्रदान, सिके राउतलाई 'लाउड स्पिकर'

फाइल तस्बिर

निर्वाचन आयोगले २०७६ साल मंसीर १४ गते सम्पन्न हुने प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य तथा स्थानीय तहका सदस्यको उपनिर्वाचन प्रयोजनका लागि दलहरुलाई चुनाव चिन्ह प्रदान गरेको छ । आयोगको असोज ८ गते बसेको बैठकको दलहरुलाई चुनाव चिन्ह दिने निर्णय गरेको हो ।

आयोगले नेपालको संविधानको धारा २७१, राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४८ बमोजिम दल दर्ता गरी निर्वाचन चिन्ह प्रदान गरेको जनाएको छ ।

उपनिर्वाचनका लागि २१ (एक्काइस) राजनीतिक दलहरूले आयोगमा दल दर्ताको लागि पेश गरेका निवेदन बमोजिम आयोगले दल दर्ता गरी निर्वाचन चिन्ह निर्धारण गरेको हो ।

आयोगमा  नेपाल, नेपाली काँग्रेस (वी.पी.), इतिहासिक प्रजातान्त्रिक जनता पार्टी नेपाल, आमूल परिवर्तन मसिहा पार्टी नेपाल, मंगोल नेशनल अर्गनाइजेशन, नेपाल कम्युनिष्ट पार्टी मार्क्सवादी (पुष्पलाल) र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र),साझा पार्टी, नेपाल कम्युनिष्ट पार्टी (ने क पा), राष्ट्रिय प्रजातन्त्र पार्टी (लोकतान्त्रिक), नेपालवाद, राष्ट्रिय नागरिक पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त), जनमत पार्टी (जपा), नेपाल लोकतान्त्रिक पार्टी, समाजवादी पार्टी, संघीय खम्बुवान लोकतान्त्रिक पार्टी, नामका राजनीतिक दल दर्ता छन् ।

 ४७ स्थानमा मात्रै उपनिर्वाचन हुने

आयोगले विभिन्न कारणले रित्त हुने पुगेका ४७ स्थानमा उपनिर्वाचन गर्न लागेको हो । आयोगका प्रवक्ता शंकरप्रसाद खरेलका अनुसार प्रतिनिधिसभामा एक, प्रदेशसभामा तीन, स्थानीय तहमा प्रमुख चार र उपप्रमुखमा एक स्थान जनप्रतिनिधिविहीन छ । ३८ वडामा पनि जनप्रतिनिधि छैनन् ।

गत १५ फागुनमा ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा परेर तत्कालीन पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीको निधन भएपछि कास्की क्षेत्र नम्बर २, प्रतिनिधिसभा सदस्यविहीन बनेको हो ।

भक्तपुर–१ ‘ख’ बाट निर्वाचित सांसद् हरिहरण लामिछानेको निधनपछि तीन नम्बर प्रदेशसभामा पनि एक स्थान रिक्त छ । ५१ वर्षीय सांसद् लामिछानेको मस्तिश्कघातका बिरामी थिए ।

यस्तै, प्रदेश पाँचका प्रदेशसभा सदस्य उत्तरकुमार ओली कार दुर्घटनामा परेका थिए । दाङ क्षेत्र नम्बर ३ को ‘ख’ बाट निर्वाचित ओलीको उपचारको क्रममा निधन थियो । गण्डकी प्रदेशका सांसद् टेकबहादुर घर्तीको गत मंसिरमा नयाँ दिल्लीमा निधन भएको थियो । बाग्लुङ क्षेत्र नम्बर २ ‘ख’ बाट निर्वाचित घर्ती जण्डिसका बिरामी थिए ।

स्थानीय तहमा एक मेयर र दुई गाउँपालिका अध्यक्षको निधन भइसकेको छ । धरान उपमहानगरपालिकाका मेयर तारा सुब्बाको गत साउनमा निमोनियाबाट निधन भएको थियो ।

भाषण गर्दागर्दै बेहोस् भएका पाँचथरको फाल्गुनन्द गाउँपालिकाका अध्यक्ष अमरकुमार नेम्वाङको होस त्यसपछि खुलेन । संखुवासभाको मकालु गाउँपालिका अध्यक्ष खड्गबहादुर कटवालको सडक दुर्घटनामा परेर निधन भएको थियो ।

६ महिना कार्यकाल बाँकी हुँदै प्रतिनिधिसभा र प्रदेशसभा सदस्य पद रिक्त भएमा उपनिर्वाचन गर्नुपर्ने कानूनी व्यवस्था छ । स्थानीय तहमा भने एक वर्षभन्दा कम अवधि बाँकी छ भने उपनिर्वाचन हुँदैन ।

कुन दलले के चुनाव चिन्ह पाए हेर्नुहोस्ः

प्रकाशित मिति: : 2019-09-26 15:55:44

प्रतिकृया दिनुहोस्