मर्दी हिमाल पदमार्गका प्रवद्र्धक र अभियन्ता हुन्, सुदिप गौतम। विद्यालयमा पढ्दादेखि नै काठमाडौंको ठमेल, दरवारमार्गलगायत पोखराका ट्राभल, ट्रेकिङ एजेन्सी र होटलका ढोकाढोकामा पुगेर मर्दी हिमालको ब्रोसर बाँड्थे, उनी। पदमार्ग प्रवद्र्धनप्रति समर्पण भएका कारण उनी नेपालका विभिन्न हिमाली भेगका कुना कन्दरा हिँडे, पदमार्गमा पर्यटकलाई डुलाए। हिमालसँग उनको गहिरो पिरती बस्यो।
त्यसपछि आफ्नै नजिकको मर्दी हिमाल पदमार्गको विगत डेढ दशकदेखि विकास र प्रवद्र्धनमा जुटे। मर्दी हिमाल पदमार्ग प्रवद्र्धन र व्यावसायिक रूपमा अघि बढाउने अभियानका नायक उनै सुदिप हुन्।
मर्दी पदमार्गको कुरा गर्दा उनलाई छुटाउनै मिल्दैन। अर्थात् मर्दीका पर्यावाची हुन्। उनी समाजसेवामा समेत सक्रिय थिए।
वि.सं. २०७२ सालमा हामी पहिलो पटक मर्दी हिमालमा गएका थियौं। घलेल गाउँस्थित पोखरा क्यानोनिङका सञ्चालक राम गुरूङको निम्तोमा हामी त्यहाँ पुगेका थियौ। टोलीमा काठमाडौंबाट पर्यटन पत्रकार अमृत भादगाउँले, हिमालयन म्याप हाउसका तत्कालीन निर्देशक पवन शाक्य थियौं।
त्यतिबेला मर्दी हिमालको काखमा उनले सञ्चालन गर्दै आएको होटलमा हामीबीच चिनापर्ची भएको थियो। बेलुकी उनको ‘होटल ट्रेकर्स प्याराडाइज’को डाइनिङमा हिमालको चिसो सिरेटो छल्दै आगोको रापतापमा लामो कुराकानी गरेका थियौं।
मर्दी हिमाल पदमार्गको प्रवद्र्धन र विकास गर्न उनले अगुवाई गरे। धमाधम पर्यटक पदयात्रामा आउँदा समग्र गाउँबासीलाई फाइदा पुग्यो। खासमा तीन दशक अघि क्याम्पिङ ट्रेकका रूपमा विदेशी फाट्टफुट्ट आउँथे रे!
उनले हामीलाई मर्दीको पर्यटनको इतिहास बेलिविस्तार सुनाए। सन् १९५६ मा स्वीस नागरिक बेसेल यस क्षेत्रको पदयात्रा गर्दा मर्दीको फोटो खिचेर विश्वभर यहाँको प्रचार गराएछन्। त्यसैले सन् १९८० देखि यहाँ क्याम्पिङ ट्रेक सुरू हुन थाल्यो।
यो क्षेत्रका फरेस्ट क्याम्प, लो क्याम्प, हाई क्याम्प मर्दी हिमालका फेदका गाउँलेका भेडा र भैसी खर्क थिए। विस्तारै विदेशी पर्यटकको आगमन हुन थाल्यो। र सुदिपका पिता रेशमलालले डोकोमा सामान बोकेर नाङ्ले पसल थाप्न सुरू गरेका रहेछन्।
त्यसबेला यहाँ बास बस्ने र खाने होटल र लज थिएनन्। विदेशीहरू कटेरामा रात बिताउँथे। सुदिप पनि बुबालाई सघाउन डोकोमा पेयपदार्थ, विस्कुट र खाद्य पदार्थ कैयौं पटक मर्दीमा उक्लिएका थिए।
वि.सं. २०५२ सालतिर माओवादी जनयुद्ध सुरू भयो। यसले पर्यटन क्षेत्रलाई तहसनहस बनायो। पर्यटकको आगमन रोकियो।
वि.सं. २०६२–६३ सालतिर देशमा शान्ति छाएसँगै सुदिपले ८ कोठे होटल बनाए। आफ्नै अध्यक्षतामा ‘मर्दी ट्रेक पर्यटन व्यवस्थापन तथा व्यवसायी समिति’ गठन गरे। अनि मर्दीमा पर्यटक बोलाउन पोखरालगायत काठमाडौं ट्रेकिङ कम्पनीका ढोकामा पुगे। यसरी पर्यटन सम्बद्ध संस्थाहरूको दैलामा घच्घचाउन उनी कहिल्यै छाडेनन्।
अवेर रातीसम्म गफिएका उनले मर्दी हिमाल ट्रेकको पुर्वाधार विकास र पद्र्धनबारे सुनाएका थिए। उनी मर्दी क्षेत्रको पदमार्गको सुधार, खानेपानी र पदमार्ग चिन्हहरूको व्यवस्थापनमा निरन्तर खटिरहे।
कुराकानीमा पदमार्गबारे स्तरोन्नति र प्रचारप्रसारमा निकै चिन्तित थिए र आशावादी पनि थिए। एक्याप, पर्यटन बोर्ड र सरकारी कार्यालहरू धाइरहेको र उनीहरूको रवैयादेखि दिक्क भएको समेत सुनाएका थिए। तर पनि उनले हरेश खाएनन र निरन्तर लागिरहे मर्दीको विकास र प्रवर्दधनमा।
निकै शालीन, भद्र र मृदुभाषी सुदिपको सपना थियो– मर्दीलाई विश्वभर फैलाउने र धेरै भन्दा धेरै पर्यटक भित्रयाउने।
उनी गाउँका युवालाई सधै पर्यटन र यसको फाइदाबारे बताउँथे र यसमा लाग्न प्रोत्साहन गरिरहन्थे। र, यसको प्रवर्दधन अभियानमा अविराम लागिरहे, दिनरात काममा खटिरहे।
उनी रातदिन नभनि खटे। डौडधुप गरिरहे। परिणामः मर्दीमा चहलपहल बढ्यो। आन्तरिक र बाह्य दुवै खाले पर्यटकको आकर्षण केन्द्र बन्यो। नयाँनयाँ होटल थपिँदै गए। संसारभर मर्दी चिनिँदै गयो। वि.सं २०७२ साल मंसिरमा हामी मर्दी हिमाल पदयात्रामा पुग्दा बाटामा हिउँ थिएन, वेमौसमका कारण गुराँस फुलेका थिएन। हामी यात्राभरी कल्पना गर्दै हिँडेका थियौ, यो घनाजंगलमा लटरम्म गुराँस भइदिए क्या रमाईलो हुन्थ्यो!
सुदिपजीले भनेका थिए, ‘लालीगुराँस फुल्ने बेलामा फेरी आउनुस् है।’
बेला बेला मर्दिको अपडेट लिँदा सुदिपजी तुरून्त जवाफ दिन्थे। यता मर्दी हिमाल ट्रेक बारे जो कोहिले सोधेका बेला, म सबैलाई उनकै नम्बर दिन्थें। फोनमा कुराकानी गर्दा उनी ‘मर्दी कहिले आउने ?’ भन्ने प्रश्न सोधेर निम्तो गरिरहन्थे।
‘ल है गुरू, घुम्न आउनुस् मर्दी हिमाल।’
पछिल्लो समय सुदिपजीको सपना मर्दी हिमाललाई माउन्टेनिरिङ एकेडेमीका रूपमा स्थापना गर्ने थियो। र, पर्यापर्यटनमा पनि जाेड दिएका थिए। ‘उनले हिमाल आरोहण तालिमदेखि स्कीसम्मका गतिविधि समेत थालेका थिए,’ पर्यटनकर्मी तथा माछापुच्छ्रे गाउँपालिका– ८, कास्कीका अध्यक्ष राम गुरूङले भने।
एक दशकभित्र मर्दी पदमार्ग नेपालीलगायत विदेशी पर्यटकका लागि लोकप्रिय पदमार्गका रूपमा स्थापित हुनमा उनै सुदिपको ठुलो भूमिका छ। उनका नजिकका मित्रसमेत रहेका गुरूङ भन्छन्, ‘आँखामा कहिले नबिझाउने, अति मिलानसार थिए उनी। दिन दुःखी र असाहायको सेवामा सधैं तत्पर हुने एक युवा पर्यटन उद्यमी गुमाएका छौं।’
माछापुच्छ्रे गाउँपालिकाका अध्यक्ष मिनबहादुर गुरूङसँग स्थानीय पाठ्यक्रममा सुदिप गौतमको जिवनी समावेस गर्न छलफल भइरहेको समेत उनले जानकारी गराए।
‘गण्डकी प्रदेशकै एक नायक तथा पर्यटन अभियान्ता गुमाएका छौं,’ उनले भने।
त्यस्तै पर्यटनकर्मी तथा पोखरा पर्यटन परिषद्का उपाध्यक्ष तारानाथ पहारीले एक उदाउँदो पर्यटनकर्मी गुमाएको बताए। ‘यसले पर्यटन क्षेत्रमा ठुलो क्षति पुगेको छ,’ उनले भने।
उनका आमा, बाबा, एक भाई र बहिनी तथा श्रीमति, छोरा र छोरी छन्।
करिब एक दशकअघि स्नातकोत्तरको लागि स्विट्जरल्याण्ड जाने योजना बनाएका सुदिप त्रिभुवन विश्वविद्यालयको प्राविधिक गल्तीले विदेशमा पढाई गर्ने योजना रोकियो, उनको जीवनले आर्कै मोड लियो। त्यसपछि उनले नेपाल बस्ने अठोट गरे र निरन्तर पर्यटन क्षेत्रमा लागे, विशेषत मर्दी हिमालको प्रवद्र्धनमा। नेपालमै अध्ययन जारी पनि राखे, र नेपालबाटै स्नाकोत्तर अध्ययन पनि पुरा गरे।
प्रवद्र्धन सँगसँगै उनले हाईक्याम्प र सिदिङमा होटल खोले, पोखरामा ट्रेकिङ व्यवसाय र विभिन्न सामाजिक संघसंस्थामा आवद्ध पनि भए।
उनले पोखरामा ट्रेक इन्साइड, हाईक्याम्पमा होटल ट्रेकर्स प्याराडाइज र सिदिङमा होटल सञ्चालन गरेका थिए। नेपाल पर्वतारोहण संघ गण्डकीका सचिव समेत रहेका उनी द हिमाल फाउन्डेशनका अध्यक्ष समेत थिए।
उनले आफ्नो सबै युवाकाल मर्दिका लागि दिए। उनको योगदान अतुलनिय छ। पदमार्गको सरसफाई, पर्यटकको सुरक्षा र लज व्यवस्थापनमा उनी सधैं जोड दिन्थे। पर्यटनमा स्थानियको स्वामित्व र सहभागिताका साथै यसबाट स्थानीयले भरमग्दुर लाभ लिनुपर्छ भन्ने उनको मान्यता थियो।
छोटो जीवनकालमा मित्र सुदिपजीले मर्दी क्षेत्रको पर्यटन विकास र प्रवद्र्धनमा बिताए। मर्दीको पर्यटनबारे स्थानीय, प्रदेश र संघिय सरकारलाई घच्घच्याइरहे।
उनी यस क्षेत्रका लागि दिन रात नभनी खटिरहे। र आज मर्दी हिमाल पदयात्रामा हजारौं नेपाली पदयात्री पुग्छन्। यसमा सुदिपजिको योगदान अतुलनिय छ।
उनी सधैं पर्यटकमैत्री, सरसफाई, पर्यटकको सुरक्षाबारे चासो राख्थे। र स्थानियले पर्यटनबाट भरमग्दुर लाभ होस् भन्थे।
झल्झली सम्झिन्छु सुदिपजीको निम्तो। फेरी जाने भन्दाभन्दै ७ वर्ष बितेछ।
अचानक अस्ती शनिबार बिहान मित्र अमृत भादगाउँलेले दुःखद् खबर सुनाए। शुक्रबारका दिन सुदिपजी दुर्घटनामा परेर मर्दीको काखमा सदाका लागि विश्राम गरेको खबर।
दशैभर दशैंको उल्लास छाइरहेका बेला उनको महाप्रस्थान अप्रिय खबर भएर सार्बजनिक भएको छ। यसले समग्र पर्यटन क्षेत्रमा सन्नाटा छाएको छ। अनकन्टार मर्दी हिमाललाई विश्वभर चिनाउन अनि यसको प्रवद्र्धनमा दिलोज्यान दिएका सुदिपको योगदानको ऋण तिर्न त असम्भव नै छ।
मर्दीमै बिलाएको सुदिपजीको स्मरणमा ‘सुदिप गौतम स्मारक पार्क’ निर्माण गरी उनको योगदानलाई चिरस्थायी बनाउन सकेमा मर्दीका नायकप्रति सच्चा श्रद्धान्जली हुनेछ। मर्दी हिमाल पदमार्गको इतिहासमा उनको नाम सुनौला अक्षरले लेखिएको छ।
यी तन्नेरी मित्रसँग अब जीवनका तीतामीठा कुरा बाँड्न पाइनेछैन। ३५ वर्षको कलिलो उमेरमै उनले हामीलाई छाडेर गए। निष्ठुरी दैवले टिपेर लग्यो। अब उनको आत्मा मर्दीमा डुलिरहनेछ। पर्यटकीय गतिविधि नियालिरहनेछ।
सुदिपजी ! तपाईंले कैयौं पटक बोलाउँदा हामी दोहोर्याएर मर्दी पदयात्रामा आउन भ्याएनौं। अब गुराँस फुल्ने याममा हामी त्यता उकालिनेछौं। तपाईंलाई सम्झिँदै हिँड्नेछौं। तपाईं स्वर्गबाट नियालिरहनुस् है !
अल विदा सुदिपजी !