लेखक भनेको एउटा यस्तो शक्तिशाली प्राणी हो- जो बाँचुन्जेल ओझेल परेको हुन्छ, खरानीभित्र छोपिएर रहेको आगोको फिलिङ्गो जस्तै। जो भौतिक रूपमा मरिसकेपछि पनि जन्मिन्छ अनि त्यसपछि फेरि कहिल्यै मर्दै-मर्दैन।
यहाँ उल्लेख गर्न खोजिएको लेखकीय व्यक्तित्व त्यो हो, जसले आफूलाई सदैव राज्यसत्ताको स्थायी प्रतिपक्षीको रूपमा उभ्याएको हुन्छ।
भुइँमान्छेहरुको पक्षमा आफ्नो कलम निर्भिकताका साथ चलाइरहेको हुन्छ। जो कहिल्यै राज्यसत्ताको गुलामी हुँदैन। जसले कदापि राज्यसत्ताको तावेदारी गर्दैन। रहर र लहडको भरमा मात्रै कनि-कुथी बोक्रे लेखन लेखी टोपल्दैन। जे आउँछ मज्जाले पचाउँछ भन्ने विज्ञापनबाट अभिप्रेरित हुँदैन। झारपात लेख्दैन। झारपाते लेखनलाई ठूलै रुखको भ्रम बोकेर हिंड्ने जस्तो मुर्खता कहिल्यै गर्दैन।
एक सच्चा लेखक त त्यो हो, जसको लेखकीय अभिव्यक्ति पढ्दै जाँदा हरेक पाठकको मथिङ्गल हल्लिएको हुन्छ। रौ नै ठाडा भएर आउँछन्। पाठकले यसअगाडि सोच्न त के, कल्पनासमेत गर्नै नभ्याएको युगीन विषय सन्दर्भ मुखरित भएर त्यहाँ आएको हुन्छ।
नेपालको सन्दर्भमा केन्द्रित रहेर कुरा गर्नुपर्दा एउटा लेखकको लेखकीय क्षमता यस्तो हुनुपर्छ कि- सिँहदरबारभित्र दौरा सुरुवालसँगै ढाका टोपी लगाएर चिटिक्क परि पस्नेहरुको टोपीभित्र अहिलेसम्म गुम्सिएर बसिरहेको खत्तम मानसिकतालाई यथाशीघ्र परिवर्तन गरी उत्तम बनाउन सक्नुपर्छ।
आफ्नै भजनमण्डलीको चौघेरोभित्र बाँधिएर भजनमण्डलीकै हावादारी बकम्फुसे कूतर्कलाई पत्याउँदै मेरो विकल्प मै हुँ भन्ने लिडेढिँपी कसेर बसिरहेको तथाकथित निर्विकल्प खत्तम नेतृत्वको बदलामा सर्वोत्कृष्ट विकल्पको खोजी गर्न सक्नुपर्छ। नेपाली समाजको पिँधसम्मै पुगेर अन्याय र अत्याचारसँगै समाजभित्र रहेका विकृति र विसङ्गतिहरुको विरुद्धमा चेतनाको राँको सल्काउन सक्नुपर्छ।
ढिलै भए पनि एकपटक झन्झनाहट पैदा गर्ने गरि सबै खालका पुरातनवादी सोचाइका विरुद्ध न्यायपूर्ण सोचाइको विकास गर्न सक्नुपर्छ। जसले धार्मिक अन्धता, जातजातिवाद , लिंगीय तथा क्षेत्रीय उत्पीडनलाई जरैदेखि उखेलेर फ्याक्न सक्नुपर्छ।
नेपाली समाजलाई युगीन चेतना र सुनौलो सपनासहितको वैकल्पिक बाटो पहिल्याउन सिकाउनुपर्छ। पृथक पाइलाहरु चाल्दै सदैव सकारात्मक दिशामा अगाडि बढाउन सक्नुपर्छ। नयाँ नेपालमा नयाँ भविष्यको सुनौलो सपना देखाउने मात्रै नभएर त्यसलाई साकार पार्ने दिशामा अग्रसर तुल्याउँन सक्नुपर्छ।
तमाम अवैज्ञानिक रुढीवादी मुल्य, अन्ध मान्यता र पुरातनवादी संरचनात्मक स्वरूपको विरुद्धमा दृढतापुर्वक उभिएर सकारात्मक भविष्य निर्धारक विशाल ज्ञानको महाेत्सवलाई नेपाली समाजको पिँधसम्म पुर्याउन सक्नुपर्छ।
कुनै पनि समाजको सकारात्मक परिवर्तनको लागि त्यो लेखनले तब नै विशेष महत्त्वपूर्ण भूमिका खेल्न सक्छ, जब उक्त लेखनलाई समाजको पिँधसम्म पुर्याउन सकिन्छ। त्यसपछि बल्ल नवीन लेखनको अवरुद्ध यात्रालाई चालू राख्न सकिन्छ।
सबै किसिमका घातक लेखकीय आक्रमणको विरुद्ध शसक्त रूपमा प्रत्याक्रमण गर्न सकिन्छ र आफूलाई भौतिकवादी र लोकतान्त्रिक गणतन्त्रकै ठेकेदार सम्झिनेहरु, जो आफैं पछिल्लो समयमा धार्मिक बाबाजीहरुको पक्षमा न्वारानदेखिकै बल निकालेर चिच्याउँदै वकालतमा उभिएका छन्। उनीहरूको यस्तो अकल्पनीय वैचारिक स्खलनसँगै महासंकटमा परिरहेको वैकल्पिक दर्शन र समग्र प्रगतिशील विचारको उद्दार हुनसक्छ।
यहाँ त हरेक राजनैतिक दलको भातृ संगठनको जस्तै ट्याग लगाइएका कवि-लेखक र साहित्यकारहरुको बेग्ला-बेग्लै संगठन रहेका छन्। जहिले अनि जहाँ गएता पनि त्यहीँभित्रका अमूक राजनैतिक दलको ट्याग लगाइएका कवि-लेखक र साहित्यकारहरु ठोक्किन आइपुग्छन् पाइलैपिच्छे। जसले अहिलेसम्म अबको लेखन कस्तो हुनुपर्छ भनेर विचार विमर्श गरेको देखिएकै छैन। सहृदयी सिर्जनशील पाठकहरुलाई समेत अलमल्याउने कामबाहेक अहिलेसम्म अरु बढी केही पनि गरिएको देखिँदैन।
राज्यसत्ताका हरेक तह र तप्कामा पार्टीकरण गरिएको छ र सिङ्गै देशलाई भड्खालोमा जवर्जस्ती जाक्ने काम गरिएको छ। राज्यसत्तासँग आमने-सामने हुँदा तीतो तर सत्य कुरा निर्धक्कसङ्ग बोल्नुपर्ने कवि-लेखक र साहित्यकारहरुको बोल्ने शक्ति नै हराउदै गएको हो कि झैँ लाग्न थालेको छ।
लेखकीय शक्ति क्षीण हुँदै गएको हो कि जस्तै लागेको छ। किनभने केही अपवादबाहेक अहिलेसम्म आफूलाई कवि-लेखक र साहित्यकार हो भनेर दावी गर्नेहरुले आफ्नो माउ पार्टीको भलाइबाहेक दायाँबायाँ अरु केही पनि सोच्दै सोचेनन्। फेरि सोचुन पनि कसरी ? अमूक राजनैतिक दलको सदस्यता रसिद काटिसकेपछिको अवस्थामा कोही लेखक-लेखक हुनै सक्दैनन्। किनकि अमूक राजनैतिक दलको हितमा काम गर्छु भनेरै सपथ खाइसकेको मान्छे त्यसपछि आलोचक हुन उसलाई उसङ्ग बाँकी रहेको (अ)नैतिक आधारले कहिल्यै दिँदैन।
अमूक राजनैतिक दलको सदस्यता रसिद काटेर आफ्नो सिङ्गै जीवन एउटा प्रतिबद्व झोले कार्यकर्ताको रूपमा समर्पण गर्दै विवेकहीन लम्पटदास भएर पनि फेरि आफूलाई कवि-लेखक र साहित्यकार हो भन्दै हिँड्न अलिकति पनि लाजसरम नमान्ने हजुर वरिष्ठ ! हस्त नमस्तेहरु ! जसलाई सच्चा सरकारी साहित्यकारको रूपमा भने लिन सकिन्छ र लिनैपर्ने पनि हुन्छ।
यहाँ उनीहरूको बारेमा कुरा गर्न खोजिएकै होइन। जसले अहिलेसम्म कुनै पनि राज्यसत्ताको बारेमा केन्द्रित रहेर गरिएको रचनात्मक प्रतिक्रियालाई समेत सिङ्गै राज्यसत्ताबिरोधि अभियानको रूपमा लिएर खरो रूपमा प्रतिवाद गर्दै आइरहेको देखिन्छ।
सर्वसाधारण भुइँमान्छेहरुका समस्या र चासोसङ्ग अनभिज्ञ रहेर कुनै सरोकार राख्दै-नराख्ने राज्यसत्ता जब जनसरोकारका विषय सन्दर्भलाई लिएर अझै असहिष्णु बन्दै अगाडि बढिरहेको हुन्छ, त्यहीँ बेलामा के ठिक हो र के बेठीक हो भनेर छुट्याउन सक्ने नैतिक क्षमतामा ह्रास आएका (अ) बौद्धिक लालबुझक्कडहरुले बुलन्दित युगीन आवाजको विरुद्धमा विषवमन गर्दै अनेक भावनात्मक सन्दर्भ जोडेर फूलबुट्टा भर्दै आफ्ना अन्नदाता परमपुज्य मालिक साहेबप्रतिको असीम भक्तिभावको अद्वितीय प्रदर्शन गर्ने क्रममा कुनै कसर बाँकी नराखेरै आफ्नो असली तथाकथित लेखकीय हैसियतसमेत देखाइरहेका छन्।
एउटा सच्चा लेखक जहिले-जहाँ अनि जस्तोसुकै संवेदनशील समय र प्रतिकुल परिस्थितिमा पनि राज्यसत्ताको स्थायी प्रतिपक्षको रूपमा उभिएको हुन्छ। एउटा सच्चा लेखकले कहिल्यै पनि मालिकबाट निगाहस्वरुप केही बक्सिस आफ्नो हातमा परिहाल्छ कि भन्ने अभिप्रायले र्याल काँढ्दैन। मनमा पापको गह्रुङ्गो भारी बोकेर लोभी आँखाले राज्यसत्ताको हवेलीतिर लाटीले केरा हेरेझैँ टुलुटुलु हेरि बस्दैन।
राज्यसत्ताको आलिसान महल अगाडि उभिएर रहलपहल नै भए पनि केही जूठो-पुरो घिच्न पाइहालिन्छ कि भन्ने लालसाले कहिल्यै दुबै हात पसार्दैन। राज्यसत्ताको भजन किर्तन गर्दै शक्तिमा रहेका विवेकहीन मानवरुपी हरामखोर लुटेरा दानवहरुको आरती उतारेर चाकडी चाप्लुसी गर्दैन। लेखक जहिले पनि लेखकीय सर्वाेच्चताकाे वकालत गर्दै मानवअधिकार र मौलिक हक-अधिकार प्राप्तिको लडाइँमा लेखकीय क्षेप्र्यास्त प्रहार गर्दै सदैव भुइँमान्छेहरुको पक्षमा दृढतापुर्वक उभिएर बुलन्दित आवाजले राज्यसत्ताको कानको जाली फुटाउन अग्रसर भैरहेको हुन्छ।
लेखकहरु जहिले पनि बागी हुनैपर्छ र हुन्छन् पनि। कुनै पनि किसिमको राज्यसत्ता नै किन नहोस्, एक सच्चा लेखक हुनुको नाताले उसले सदैव आफूलाई राज्यसत्ताभन्दा बाहिर रहेको अनुभूति गरिरहेको हुन्छ। एउटा सचेत सहृदयी सिर्जनशील जागरुक नागरिकको हैसियतले सदैव राज्यसत्ताको विरोध गरिरहेको हुन्छ तर विरोधको लागि गरिने विरोध मात्रै कदापि होइन।
देश र सर्वसाधारण जनताको लागि सबैभन्दा दुर्भाग्यको कुरा भनेको नै 'आँखा लोभी मन पापी' भएका अवसरवादी लेखकहरुद्वारा राज्यसत्ताको कवच पहिरिनु हो र छेपारोले जस्तैगरि आफ्नो रंग फेर्नु हो। सच्चा लेखक त सदैव विरुद्धको पंक्तिमा उभिइरहेको हुन्छ। किनभने उसले कुनै पनि किसिमको राज्यसत्तालाई कदापि स्वीकार गर्दैन। चाहे त्यो ईश्वरीय सत्ता नै किन नहोस्।
व्यक्तिगत स्वार्थपुर्तिका लागि आफ्नो लेखकीय स्वाभिमानलाई रछ्यानमा मिल्क्याउनेहरु लेखक कदापि हुनै सक्दैनन्। राज्यसत्ताको तलुवा चाट्न जानेहरुलाई लेखक भनेर सच्चा लेखकहरुको अपमान गरिनु हुँदैन। राजनीतिक नियुक्तिको नाममा राज्यसत्ताको जूठो-पुरो खान पल्किएकाहरु लेखक हुँदै होइनन्। उनीहरू त राज्यसत्ताद्वारा पालिएका ईमानदार अनि कर्तव्यनिष्ठ अन्धभक्त झोले लेखनदास हुन्।
तथाकथित लेखकको नाममा लेखकीय इतिहासमा कालो पोतिएको कुरुप अनुहार बोकेर अहिलेसम्म दिग्भ्रमित हुँदै केवल बाँच्नुको नाममा ज्युँदै मरेका कलङ्कित कूपात्रहरू हुन् उनीहरू। उनीहरुको माध्यमबाट नेपाली भाषा साहित्यले कुनै उल्लेखनीय उपलब्धि होला कि भनेर अपेक्षा गर्नु "आकाशको फल आँखा तरी मर" भनेजस्तै हो।
लेखनदास हुन जति सजिलो छ, लेखनदास हुनबाट आफूलाई सदैव जोगाउदै एउटा सच्चा लेखक हुन अत्यन्तै गाह्रो रहेको छ। त्यसैले त लेखन यात्राको क्रममा अगाडि बढ्दै जाँदा पहिले लेखक नै भएर चिनिएकाहरु अहिले स्खलित भइ चिफ्लिएर नम्बरी लेखनदास हुन पुगेका छन्। र त नूनको सोझो गर्दै आफ्ना अन्नदाता प्रिय मालिक साहेबको नाममा आरती उतारेर अखण्ड भजन किर्तन गर्दै हावादारी समृद्धिको नयाँ थिममा केन्द्रित रहेर तथाकथित नौलो साहित्य सिर्जनाको नाममा बकम्फुसे लेखनको माध्यमबाट भ्रमको खेती गरिरहेका छन्।
कनी-कुथी बोक्रे लेखन लेखेर यो एकबारको जुनीको उर्जाशील समय बेकारमा खेर फाल्नु हुँदैन। आफ्नै अन्तरात्मालाई ढाँटेर कहिल्यै केही पनि लेख्नु हुँदैन। एउटा सचेत-जागरुक-सिर्जनशील अनि स्वाभिमानी लेखक हुनुको नाताले लेखनको क्रममा मात्रै नभएर जिन्दगीको यात्राको दौरानमा जस्तोसुकै विषम परिस्थितिको सामना गर्नुपर्ने अवस्था आएता पनि तीतो तर सत्य कुरा जहिले र जस्तोसुकै विषम परिस्थितिमा पनि बोल्ने साहस- हिम्मत र आट गर्न सक्नुपर्छ।
आफूलाई विवेकहीन-लम्पट लेखनदास हुनबाट जोगाउँदै सदैव लेखकीय स्वतन्त्रताको पक्षमा आजीवन लडिरहन सक्नुपर्छ। यस्तो कुरामा कहिल्यै कसैसँग डराउनु हुँदैन। आफ्नै स्वाभिमानलाई बन्धक बनाएर क्षणिक फाइदाका लागि शक्तिको पुजारी कहिल्यै हुनु हुँदैन। एक्लो बृहस्पति झुटो सावित हुने अवस्था आए पनि सत्य र निष्ठाको पक्षमा सतिसाल बनेर उभिन सक्नुपर्छ। आफूलाई लेखक भनेर सार्वजनिक गर्दा जुन गर्वबोध हुन्छ, त्यो गर्वबोध आफूलाई मात्रै होइन अरुलाई पनि सदैव अनुभुत गराइराख्न सक्नुपर्छ। अनि बल्ल जिन्दगीमा एउटा सच्चा लेखक हुनुको सार्थकता प्राप्ति हुन्छ।
केही अपवाद बाहेक सत्तासीन मान्छे भनेको एउटा यस्तो बेइमानी जन्तुको प्रतिबिम्ब हो, जसले प्रतिभावान र सुयोग्य पात्रलाई एकातिर पन्छाएर सदैव आफूप्रति बफादार रहने कूपात्रहरुलाई स्थान दिइरहेको हुन्छ। आफ्नो कुनै स्पष्ट भिजन नभएपछि राज्यसत्ताको दैनिकी चलाउनैका लागि सक्षम र आफ्नो कामप्रति समर्पित टिम किन र केका लागि चाहिन्छ र भन्ने सोचेरै अन्यत्र कहिँकतै टिक्न अनि बिक्न नसकिरहेका असक्षम र आफूप्रति मात्रै समर्पित भइरहने कामचोरहरुद्वारा घेरिएर बसिरहेको हुन्छ। जो बाँचुन्जेल आफ्ना आसेपासे-अह्रौटे-भरौटे-झोले-चम्चे-ढोके-हुक्के-बैठके र पुच्छरे जस्ता भाट-स्वार्थी तथा चरम अवसरवादी प्रवृत्ति भएका लम्पटदासहरुको आँखाको नानीजस्तै प्रिय रूपमा हाइहाइ भएर अत्यन्तै विलासी जीवनशैलीमा अभ्यस्त रहेका हुन्छन्। तर स्वाभिमानी अनि विवेकशील स्वभाव भएका सहृदयी सिर्जनशील मनमस्तिष्कहरुको नजरमा आँखाको कसिङ्गर भएर बिझाउँदै असीम घृणाको कुरुप पात्रको रूपमा ज्युदै मरेको लास जस्तै हुन्छन्। जो भौतिक रूपमा मरेपछि सदासदाका लागि माटोमा विलिन हुन्छन्। त्यसपछि फेरि उसको अस्तित्वको नामोनिशान केही पनि बाँकी रहेको हुँदैन।
अहिलेसम्मको सन्दर्भमा विश्वको इतिहासमा यही देखिएको छ, अनि यही नै लेखिएको छ। सम्बन्धित सबैलाई समयमै चेतना भया..!