'जंग हिरण्य हेम नारायण मन्दिर' को पुनर्निर्माणमा त्रुटि भएको स्वीकार्‍यो पुरातत्वले

काठमाडौं : कालमोचन घाटमा रहेको राणाकालीन 'जंग हिरण्य हेम नारायण मन्दिर'को पुनर्निर्माणमा त्रुटि भएको पुरातत्व विभागले स्वीकार गरेको छ।

मन्दिरभित्र पानी चुहिरहेको र पानी पुनर्निर्माणका क्रममा ऐतिहासिक पक्षलाई बेवास्ता गरिएको समाचार प्रकाशित भएपछि विभागले मन्दिरबारे सजग रहेको प्रतिक्रिया दिएको हो।

पहिलोपोस्टसँगको कुरामा पुरातत्व विभागका महानिर्देशक दामोदर गौतमले भने मन्दिर पुनर्निर्माणको काम सकिए पनि त्यहाँ अझै केही संरचना राख्न बाँकी रहेको बताए। भने, 'मन्दिर निर्माणमा त्रुटि भएको म स्वीकार्छु। त्यहाँ गजुरमा रहेको नाग लगायतका केही वस्तु राख्न बाँकी नै छ। यस्तै डोमको कुरा पनि सुनिएको छ।'

भूकम्प अघिको मन्दिरको डोमभन्दा सानो आकारमा पुनर्निर्माण भएकाले नयाँ डोममा चिरा परेको स्थानीयको दाबी छ।

पुनर्निर्माण सकिएको मन्दिरको मुख्य बनावट (डोम) बाट चुहिएको पानीले मन्दिरको दोस्रो र तेस्रो तल्लामा रसाएको देखिन्छ। यसका कारण काठ समेत बिग्रिने सम्भावना बढेको छ।

डोममा परेको चिराका कारण पानी पसेको विषयमा प्रश्न गर्दा महानिर्देशक गौतमले भोलि नै प्राविधिक खटाएर अवस्थाको मूल्यांकन गर्ने बताए। भने, 'यो सम्वेदनशील विषय हो। यस्तो हेलचेक्राइ गर्न पाइँदैन। भोलि नै त्यहाँ मान्छे खटाउँछु र सबै मिलाउन लगाउँछु।'

पानी चुहिएको बारेमा आफूलाई जानकारी पहिलोपोस्टसँगको कुराबाट मात्रै जानकारी पाएको भन्दै उनले कालमोचनमा रहेको सो मन्दिरबारे आफूहरुले आवश्यक कदम चाल्ने बताएका हुन्।

'मन्दिर निर्माणबारे हामी सजग हुनैपर्छ। यसरी पानी परेको विषयमा मलाई थाहा थिएन। भोलि नै प्राविधिक पठाएर ठिक पर्ने प्रयास गर्नेछु,' उनले भने।

प्रकाशित मिति: : 2019-09-07 14:34:27

प्रतिकृया दिनुहोस्