‘सपनाजस्तो लाग्छ, सेलिब्रेटी पो भएछु’

निर्मल पुर्जा

काठमाडौं। मासिक १५ लाखको जागिर छोडेर नेपाल र नेपालीको नामका लागि पर्वतारोहण गर्ने उहाँको नाम नेपालीलाई भने बिरलै थाहा छ। उहाँ हुनुहुन्छ– म्याग्दी दाना गाउँपालिका–३ का निर्मल पुर्जा (निम्स)।

बेलायती सेनाको ‘स्पेसल फोर्स’को निकै आकर्षक सेवा सुविधा छोड्नुभएका उहाँले छोटो अवधिमा हिमाल आरोहणमा विभिन्न शीर्षकमा विश्व कीर्तिमान राख्नुभएको छ।

उहाँले तीन महिनाभित्र सर्वोच्च शिखर सगरमाथासहित विश्वका ८ हजार मिटरभन्दा बढी उचाइका १४ मध्ये ११ वटा हिमालको सफल आरोहण गरिसक्नुभएको छ।

कीर्तिमानै कीर्तिमान

एकै सिजनमा नेपालका ६ वटा हिमाल ३१ दिनमा आरोहण गरेको विश्व कीर्तिमान अब उहाँको नाममा छ। ‘फास्टेस्ट समिट अफ दी टप थ्री माउन्टेन’ (सगरमाथा, केटु र कञ्चनजंगा)को कीर्तिमान पुर्जाले कायम गर्नुभएको छ। यसै गरी ‘फास्टेस्ट समिट अफ दी टप फाइभ माउन्टेन’ (सगरमाथा, केटु, कञ्चनजंगा, लोत्से र मकालु) आरोहणको कीर्तिमान पनि उहाँकै नाममा अभिलेख भएको छ।

पुर्जाले अन्नपूर्ण, कञ्चनजंगा, धौलागिरि, सगरमाथा, लोत्से, मकालु, नाग्गा पर्वत, जी वान, जी टु, के टु, ब्रोड पिज जस्ता ११ वटा हिमाल आरोहण गरिसक्नुभएको छ।

उहाँका नाममा दर्ता भएका यस्ता कीर्तिमान गत अप्रिल महिनायताका हुन्। ‘सात महिनामा १४ वटा हिमाल आरोहण गर्ने लक्ष्य हो, ११ वटा चढिसकें, अब अक्टोबरभित्र मनास्लु, छोयु र सिसा पाङ्मा हिमाल चढ्ने तयारीमा छु।’ –बुधबार साँझको भेटमा उहाँले भन्नुभयो।

सगरमाथा, लोत्से र मकालु आरोहणमा विगतको ५ दिन ३ घन्टा ३५ मिनेटको पुरानो रेकर्र्ड तोड्दै ४८ घन्टा ३० मिनेटमा यी हिमाल आरोहण गरेपछि आफ्नो नाममा नयाँ विश्व कीर्तिमान कायम भएको पुर्जाले बताउनुभयो।

पाकिस्तानमा ८ हजार मिटर उचाइमाथिका पाँचवटा हिमाल छन्, ती सबै उहाँले २३ दिनमा आरोहण गरेर अर्को कीर्तिमान राख्नुभएको छ।

प्रकाशित मिति: : 2019-09-06 07:26:22

प्रतिकृया दिनुहोस्