कम्तिमा डेढ लाख नेपालीभाषीको बसोबास रहेको बर्माप्रति (हाल म्यान्मारका नामले चिनिन्छ) पछिल्लो–समय नेपालीको पनि चासो बढेको छ। यो सकारात्मक हिसाबले भने होइन। त्यहाँको सेनाले नेपालमा तत्कालीन राजा ज्ञानेन्द्रले १६ वर्षअघि सत्ता हत्याएकै दिन पारेर प्रजातन्त्रको हरण गरेपछि त्यसप्रति आम नेपालीको चासो र चिन्ता बढेको हो।
०७७ माघ १९ मा त्यहाँको शक्तिशाली सेनाले राजनीतिक 'कू'मार्फत् सत्ता हातमा लियो। जननिर्वाचित सर्वोच्च नेतृ आङ सान सुकीसहित नेशनल लिग फर डेमोक्रेसीका सबै नेताको राजनीतिक गतिविधिमाथि पूर्ण प्रतिबन्ध लगाएको छ। अनि आन्दोलन र दमन दुवै चरम हुँदै गएको छ।
त्यहाँ दिनहुँ भइरहेको नरसंहार चाँडै रोक्न र आन्दोलनप्रति ऐक्यबद्धता जनाउन नेपालमा पनि संयुक्त राष्ट्रसंघ कार्यालय र नेपालका लागि म्यान्मार दूतावास अघि पटकपटक प्रदर्शन गरिएको छ।
सैन्य ‘कू’पछि विभिन्न स्थानमा सरकारी सुरक्षा–फौज र विद्रोही जातीय समूहबीच भीडन्त भइरहेको छ। म्यान्मारमा अहिले २० भन्दा बढी जातीय सशस्त्र समूह भूमिगत वा अर्धभूमिगत शैलीमा उत्तिकै सक्रिय छन्, जससँग शान्तिपूर्ण आन्दोलनकारीले पनि सहकार्य गर्ने अवस्था सिर्जना हुँदै गएको छ। यसलाई गृहयुद्धको पूर्वसन्ध्याका रुपमा पनि हेर्न थालिएको छ।
नेपालीभाषीको सबैभन्दा बढी बसोबास रहेको मिचिना म्यान्मारको उत्तरी प्रान्त– कचिनमा पर्दछ। वर्षौँदेखि राज्यविरुद्ध विद्रोह गरिरहेको ‘कचिन स्वतन्त्र संगठन’ म्यान्मारकै प्रभावशाली राजनीतिक संगठन हो। जोसँग शक्तिशाली विद्रोही सेना समेत छ।
‘कचिन स्वतन्त्र सेना’ (केआईए) कचिन जनजातिको जातीय लडाकु दस्ता हो। कचिन प्रान्तमा केआईएको दबदबा छ। यो प्रान्तको ६० प्रतिशत यसैको नियन्त्रणमा छ। प्रशासन समेत उसैले चलाउँछ। कचिन जातिले केआईएको विद्रोही राजनीतिक आस्थालाई समर्थन गर्छन्।
केआईएले विगत सात दशकदेखि त्यहाँको सरकारसँग अधिकार प्राप्तिका लागि संघर्ष जारी राखेको छ। उक्त सशस्त्र समूहलाई कचिन प्रान्तभित्रका अन्य जातिले पनि उत्तिकै सहयोग गर्दै आएका छन्। विद्रोही सैन्य संयन्त्र– केआईएभित्र पनि भिन्नाभिन्नै जातिका बटालियनहरु छन्।
म्यान्मारमा नेपालीभाषीलाई गोर्खा–जातिका रुपमा चिनिन्छ। धेरैलाई अचम्म लाग्न सक्छ– म्यान्मारको विद्रोही लडाकु समूह– केआईएभित्र गोर्खा बटालियन पनि छ। उनीहरु त्यहाँको सरकारविरुद्ध विद्रोहको झण्डा फहराउँदै गोर्खा पल्टनकाे चिनारी मानिने 'गोर्खा क्रस' खुकुरीसहितको लोगो लगाउने अन्तिम तयारीमा छन्।
गोर्खा स्वतन्त्र पल्टन होइन। कचिन स्वतन्त्र सेना (केआईए) अन्तर्गतको एउटा बटालियन मात्र हो। सशस्त्र समूहमा नेपालीभाषीहरू लुकीछिपी लागे पनि कसैलाई जानकारी दिएन।
केआईएमा नेपालीभाषी रहेको दुई महिनाअघि मात्रै चाल–पाएका हुन्, बर्माका नेपालीभाषीहरुले। म्यानमारमा प्रजातन्त्र बहाल रहँदा यसबारे खासै चासो थिएन तर पनि गाइँगुइँ हल्ला भने चल्ने गरेको थियो।
जब माघ १९ मा म्यान्मारमा सैन्य ‘कू’ भयो, नागरिक अधिकार हरण भयो, त्यसपछि सशस्त्र विद्रोही समूहको शान्तिपूर्ण राजनीतिमा विश्वास गर्ने दलहरुसँग सहकार्य सुरु भयो। यसको खोजी र समर्थन गर्ने जमात पनि ह्वातै बढ्यो।
सरकारी सुरक्षा–फौजको विकल्पमा केआईए विद्रोही सेनालाई हेरिन थालेको छ। नेपालीभाषीहरुको संख्या पनि दिनानुदिन बढिरहेको छ। लगत्तै, त्यहाँ कार्यरत गोर्खा सैनिकहरुले आन्तरिक रुपमा सम्पर्क बढाइरहेका छन्।
कुनै सयम केआईएलाई घृणको दृष्टिले हेर्ने गरिन्थ्यो। मानिसहरु शान्तिको पक्षमा वकालत गर्दा उनीहरुलाई समर्थन गर्न सक्ने अवस्था थिएन। तर, आजको म्यान्मार ठ्याक्कै उल्टो भएको छ। सरकारी सेनालाई बहिस्कार गर्ने अभियानहरु सुरुवात भैसकेकाे छ।
म्यान्मारका सडक–गल्लीमा केआईएलाई स्वागत गर्न थालिएको छ। टोल–टोलमा व्यानरसहितका र्याली निस्कन थालेका छन्। यो सन्दर्भमा नेपालीभाषीहरु पनि आफ्नो समाजमा गोर्खा बटालियनको प्रभाव फैलाउँदै छन्। उनीहरुले परिवार र आफ्नो सुरक्षाको ख्याल गर्दै भूमिगत–शैलीमा युवा पुस्तालाई स्वतन्त्रताको अभियानमा सरिक हुन अपील गरेका छन्।
गोर्खा बटालियनमा अहिलेसम्म चार सय हाराहारीमा नेपालीभाषी युवा भर्ना भइसकेका छन्। सैन्य ‘कू’पछि सेनामा जोडिनेहरुको संख्या क्रमशः बढिरहेको छ।
म्यान्मार सेनाको रबैयाविरुद्ध गोर्खाली युवा पनि एकताबद्ध भइरहेको नेपालीभाषीहरु नै बताउँछन्। पछिल्लो समय दिनहुँ ४–५ जना गोर्खा बटालियनका लागि आउनेगरेको केआईएको गोर्खा बटालियनमा कार्यरत एक जवान बताउँछन्। उनी अहिले कचिन प्रान्तको लाइजास्थित गोर्खा बटालियनमा छन्। लाइजा चिनियाँ सीमावर्ती क्षेत्र हो।
कचिन स्वतन्त्र सेना (केआईए) मा गोर्खा पल्टन सन् २००७ मा गठन भएको थियो। ‘बर्माको सैन्य जुन्ताले निर्दोष र निःशस्त्र नागरिकमाथि संहार गरिरहेको छ,’ केआईए गोर्खा पल्टनमा कार्यरत नेपालीभाषी ती लडाकुले भिडियो कुराकानीमा भने, ‘गोर्खा सेना पनि आफ्नो देशको प्रजातन्त्र र जनताको रक्षाका लागि देशद्रोही म्यान्मार जुन्ता–सैनिकसँग युद्ध गर्न तयार भएको छ।’
ती विद्रोही लडाकु केआईएको गोर्खा बटालियनमा दुई महिनाअघि मात्रै भर्ना भएका हुन्। अहिले आफू तालिमकै चरणमा रहेको बिएल नेपाली सेवालाई जानकारी दिए। ‘म जस्तै दर्जन गोर्खाली (नेपालीभाषी) हरू यसमा एकसाथ जोडिएका हौँ। हामी तानाशाही जुन्ताविरूद्ध लड्नकै लागि युद्धको मैदानमा उत्रिएका छौँ,’ उनले भने।
उक्त लडाकु समूहका सदस्यहरुले एकआपसमा सामाजिक सञ्जालको प्रयोगमार्फत् सूचना आदानप्रदान गर्दैआएका छन्। उनीहरू समूहभित्र विभिन्न उप–समूहमा समेत बाँडिएका छन्।
गोर्खा डुवा रंग ट्याङ एक जना गोर्खा लडाकूको नाम हो। १७ वर्षको उमेरमा १० वर्षअघि उनी केआईएमा भर्ना भएका थिए। उनी सन् २०११ को अन्तिममा त्यहाँ जोडिँदा नेपालीभाषी लडाकु औँलामा गन्न सकिने संयामा थिए।
ट्याङले सन् २०१२ को सबैभन्दा ठूलो भिडन्तसमेत भोगेका छन्। म्यान्मार सरकारी सुरक्षा–फौजसँगको उक्त युद्धमा दुवै तर्फबाट थ्रुपै लडाकू मारिए तर उनी आफूलाई भगवानले बचाएको विश्वास गर्छन्।
कुनै समय केआईए सेनामा लाग्दा आफू र आफ्नो परिवारलाई गोर्खा समाजले नै अपमान गरेको स्मरण गर्छन्– उनै ट्याङ। उनले भने, ‘केआईएको सेनामा भर्ना हुँदा हाम्रो परिवारलाई गोर्खा समाजले मन्दिरदेखि धर्मशालासम्म जान रोकटोक गरेको थियो नि! तर, आज त्यस्तो छैन। सबैले राम्रो समर्थन गरिरहनुभएको छ।’
जातीय विद्रोही समूह केआईएमा पछिल्लो समय दिनहुँ युवाको आकर्षण बढ्दैगएको छ। सरकारी सेनाको राजनीतिक ‘कू’ र नागरिकमाथिको ज्यादतीविरूद्ध उनीहरू विद्रोही मोर्चामा सामेल भएका हुन्।
प्रशिक्षणमा लागेका गोर्खालीहरूको सहयोगमा कोही आर्थिक जोहो गरिरहेका छन्। कतिपय संगठनमा समाहित हुनेहरूका लागि सुरक्षित स्थान र सम्पर्क कमाण्डर भेटाउन खटिएका छन्।
उनीहरूले यी सबै काम सामाजिक सञ्जालद्वारा गरिरहेको सोही कार्यमा तल्लिन नेपालीभाषी युवा बताउँछन्। युद्ध मैदानमा होमिएका युवाहरूको सहयोगको लागि नेपालीभाषीहरूले गोप्य रुपमा आर्थिक सङ्कलन समेत गरिरहेका छन्।
केआईएको नियम नै छ– गोर्खालीको हातमा अनिवार्य खुकुरी हुनुपर्छ। उनीहरू खुकुरीलाई गोर्खा सेनाको पहिचान मान्छन्।
(राजकुमार शर्माको सहयोगमा)