गौरवका आयोजना सुस्त

हुलाकी राजमार्गको झापा खण्डअन्तर्गत झापा गाउँपालिकाको कनकाई नदीमाथिको निर्माणाधीन पुल। तस्बिर : रविन भट्टराई

विराटनगर : प्रदेश १ का राष्ट्रिय गौरवका आयोजनाले गति लिन सकेको छैन। प्रदेशकै लाइफलाइन मानिएको जोगबनी–किमाथांका सडकको ५० प्रतिशत काम भएको छ भने हुलाकी राजमार्गमा पुल निर्माण ठप्प छ।

निर्माण कम्पनीको लापरबाहीका कारण मध्यपहाडी लोकमार्गको काम सुस्त गतिमा छ। कोसी करिडोरमा प्रगति केही भए पनि लगानी कम छ।

हुलाकी राजमार्गले लिएन गति

झापाको चन्द्रगढीदेखि दाङको कोइलाबाससम्म निर्माणाधीन हुलाकी राजमार्गको झापा खण्डमा पुल निर्माण रोकिएको छ। खनिएका सडक भत्किएर ठूला–ठूला खाल्डा बनेका छन्।

पुल निर्माण रोकिँदा वर्षाका बेला स्थानीय खोला बीचबाट वारिपारि गर्नुपर्ने अवस्था छ। ठेकेदार कम्पनीले ढिलाइ गर्दा हुलाकी राजमार्गको निर्माण प्रभावित बनेको हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय इटहरीले जनाएको छ । ठेकेदार कम्पनीले निरन्तर काम नगर्दा निर्माणाधीन पुल चार वर्षमा सम्पन्न हुनुपर्नेमा ६ वर्ष बितिसक्दासम्म आधा पनि भएको छैन ।

हुलाकी राजमार्गको कुल लम्बाइ एक हजार १ सय किलोमिटर छ। नेपालले सन् २००४ मै हुलाकी सडक भारतको जिम्मा लगाएको हो। सन् २००६ मा अर्को सम्झौताअनुरुप निर्माण कार्यको विस्तृत अध्ययन प्रतिवेदनको जिम्मेवारी पनि भारतलाई नै दिइयो। सन् २०१० मा उक्त सम्झौता कार्यान्वयन चरणमा गएको हो। तराईका २० जिल्ला जोड्ने यस सडकलाई २०६९ जेठमा सरकारले राष्ट्रिय गौरवका आयोजनाको सूचीमा राखेको थियो। भारतले उपलब्ध गराउने आर्थिक सहयोगका अतिरिक्त नेपाल सरकारले सडक पूर्वाधारका लागि ५५ अर्ब र त्यसअन्तर्गत पर्ने डेढ सय जति पुल निर्माणका लागि १० अर्ब गरी कुल ६५ अर्ब लागत अनुमान गरेका छन्।

कोसी करिडोरमा कम बजेट

कोसी करिडोरको प्रगति केही बढी देखिए पनि लगानी कम छ। यसको कुल लागत ६ अर्ब ३२ करोड छ। ताप्लेजुङ, पाँचथर, तेह्रथुम र धनकुटाको समृद्धिको आधारका रुपमा रहेको करिडोरको एक सय ४८ किलोमिटरमध्ये एक सय ३० किलोमिटर ट्र्याक खोल्ने काम सकिएको छ। ६५ प्रतिशत काम सम्पन्न भएको कोसी कोरिडोर आयोजना प्रमुख अभिमानदास मुल्मीले बताए।

कोसी कोरिडोरको पाँचथरको माझीटार–रानीटार सडक खण्डमा काम गर्दै मजदुर। तस्बिर : भीमकुमार बाँस्कोटा

पाँचथरको गणेशचोकदेखि सुनसरीको चतरासम्म विस्तार हुने यो आयोजनाले तराई र पहाडलाई जोड्छ। सात प्याकेजमा काम भइरहेको कोरिडोरको निर्माणमा तीन अर्ब ८८ करोड रुपैयाँ खर्च सकेको प्रमुख मुल्मीले बताए। पहिलो खण्डको १० किलोमिटर सडक ग्राभेल भइसकेको छ। नाली सहितकरिब १० मिटर सडकको चौडाइ हुनेछ। २०७४ फागुन देखि निर्माण सुरु भएको आयोजनाको काम ३० महिनाभित्र सक्नुपर्ने सम्झौता छ।

यो सडक पाँचथर र धनकुटास्थित खोलाको किनारैकिनार विस्तार गरिएकाले गडतिरका बासिन्दा लाभान्वित हुनेछन्। ताप्लेजुङको ओलाङचुङगोलाको टिप्तालादेखि मूलघाटसम्म जोड्ने उत्तर दक्षिण लोकमार्गअन्तर्गतको सडकलाई सुनसरीको चतरादेखि पाँचथरको गणेशचोकसम्म राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गसँग जोड्ने गरी कोसी करिडोरको काम अघि बढाइएको हो।

प्रकाशित मिति: : 2019-09-06 07:16:02

प्रतिकृया दिनुहोस्