‘बर्दिया’ भन्नेबित्तिकै बाघको पर्यायवाची शब्दजस्तो हुन थालेको छ। बर्दियाको परिचय बदलिएर ‘बाघको जिल्ला’ बन्न पुगेको छ। बर्दियामा बाघको त्रास छ। पुस १८ गते मोटरसाइकलमा यात्रा गरिरहेकी महिलालाई बीच राजमार्गमै झम्टिएर मारेपछि त्यहाँ निकै सर्तकर्ता बढाइएको छ।
बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रमा राती यात्रा गर्न प्रतिबन्ध लगाइएको छ। हरेक दिनजसो सडकमा बाघ घण्टौँसम्म बस्ने गरेको छ। यस्तो अवस्थामा कर्णाली चिसापानी, बर्दिया राष्ट्रिय निकुञ्जदेखि ठाकुरद्वारासम्म भ्रमणको तयारी भएदेखि एक मनमा उत्सुकता र अर्को मनमा भयले राज गरिरहेको थियो।
त्यो शनिबार आएरै छोड्यो। यसअघि धनगढी जाने बेलामा गाडीमा कर्णाली–चिसापानी देख्ने अवसर पाएको थिएँ। यसपटक भने स्थलगत रुपमै भ्रमण गर्ने अवसर मिलेको थियो। बर्दिया राष्ट्रिय निकुञ्ज र प्रसिद्ध धार्मिक स्थल ठाकुरद्वारा जाने अवसर भने गुमाउन पनि चाहिनँ।
कर्णाली पुल क्षेत्रमा के कुरा विशेष होलान् ? ठाकुरद्वारा कस्तो होला ? भन्ने दुविधाका बीचमा बर्दिया राष्ट्रिय निकुञ्ज पनि घुम्ने पाइने अवसरले खुशी थिएँ भित्राभित्रै। यात्रा गाडीको थियो। त्यहाँका नयाँ कुराहरुको बारेमा जानकारी लिनुपर्छ भनेर मनमनै धेरै कुरा खेलिरहे। टीम जम्बो थियो हाम्रो, ३० सदस्यीय। साथै समावेशी पनि।
हाम्रो टीममा पाँचवर्षे बालकदेखि ९० वर्षीय वृद्धसम्म थिए। धार्मिक हिसाबमा हिन्दु र मुस्लिम। पेसागत रुपमा सामाजिक अभियान्ता, विशेष क्षमता भएका सहित पत्रकारसम्म। एक हिसाबले त्यो भ्रमण ऐतिहासिक थियो। त्यो अभूतपूर्व अवसर जुराएको थियो– समाज सेवा संस्था नेपालले। हाम्रो टीम बिहान ७ बजे गाडीमा भ्रमणमा निस्कियो।
कर्णाली पुल–चिसापानी
कर्णाली पुल नेपालको सबैभन्दा लामो पुल मध्येको एक हो, जुन चिसापानी भन्ने ठाउँमा छ। यो पूर्व–पश्चिम राजमार्ग (महेन्द्र राजमार्ग) को भाग हो। जसले नेपालको सुदूरपश्चिम प्रदेशलाई नेपालको अन्य भागसँग जोड्ने गर्दछ। यसको निर्माण सन् १९९३ मा पूरा भएको हो।
यो तार पुल (Cable-stayed bridge) हो जसको बीचमा ठूलो खम्बा -pylon- छ र त्यसमा स्टीलका तारहरू बाँधेर ट्रस truss लाई अड्याइएको छ। यो ५०० मिटर लामो छ। यसको चौडाइ १० मिटर रहेको छ। यो पुल १९९४ मा खोलिएको हो।
यसको निर्माण जापानको कावासाकी हेवी इन्डस्ट्रिजले गरेको हो। कर्णाली पुल पुग्न बाँकेको कोहलपुरदेखि ६७ किलोमिटर यात्रा गर्नुपर्छ। पुर्व–पश्चिम राजमार्ग अन्तर्गत बर्दिया राष्टिय निकुञ्ज हुँदै जंगलको सफर गर्नुपर्छ यहाँ पुग्न।
पर्यटकीय दृष्टिले मध्य तथा पश्चिम क्षेत्रको उत्कृष्ट गन्तव्यको रुपमा रहेको कर्णाली पुल निकै चर्चित क्षेत्र हो। यो बर्दिया र कैलालीको सीमा क्षेत्रमा पर्छ। लम्कीचुहा– ३ मा अवस्थित कर्णाली पुल सुदूरपश्चिम र लुम्बिनी प्रदेश सीमा क्षेत्रसमेत हो।
यो क्षेत्र माछाका लागि परिचित छ। यहाँका असला, गर्दी र क्लोजसहित करिब आधा दर्जन बढी मात्राको अत्यधिक बिक्री वितरण हुने गर्छ। यहाँ माछा नबेच्ने व्यापारी बिरलै हुन्छन्।
सवारी तथा फूटपाथमा माछा बेच्नेहरुको घुइँचो लाग्ने गर्दछ। यहाँ हरेक कोही व्यक्ति माछा खाल र कर्णाली पुलमा फोटो खिच्नको लागि पुग्छन्। हामीले पनि कर्णाली पुल क्षेत्रमा फोटो खिच्यौ। माछा खायौँ।
त्यहाँका स्थानीयहरुका अनुसार, अरु दिनभन्दा शनिवार चिसापानी क्षेत्रमा मानिसको निकै भीड लाग्ने गरेको छ। शनिबार पनि त्यहाँ म्युजिक भिडियो सुट गर्नेदेखि टिकटक भिडियो र सेल्फी खिच्नेसम्म भेटिए।
के वृद्धवृद्धा, के तरुनी–तन्नेरी ! कर्णाली पुलदेखि सुन्दर पहाडी जंगल क्षेत्र र लामो कर्णाली नदीलाई पृष्ठभूमि बनाएर टिकटक र भिडियो बनाइरहेका थिए। त्यहाँ भेटिएका नेपालगञ्जका रोशन साहनी परिवारसहित त्यहाँ गएका थिए। उनी त्यहाँ पहिलोपटक पुगेका थिए।
कामको सिलसिलामा संघीय राजधानी काठमाडौंतिरै बस्ने उनी घरको आएको अवसर पारेर शनिवार घुम्नका लागि कर्णाली पुगेका थिए। उनले आफूहरु घुम्न, टिकटक बनाउन र माछा खानको लागि आएको पनि बताए।
यहाँ उनीजस्तै सयौँ मानिस दैनिक आउने गर्दछन्। कर्णाली पुलको एक भाग खम्बा ३२५ मीटर छ भने अर्को भागतिर १७५ मीटर छ। यसको निर्माणमा ३,८७० टन स्टील प्रयोग गरिएको छ। कर्णाली पुल निकै आकर्षक समेत छ।
कोही व्यक्ति हँुदैन होला जो त्यहाँ पुगेर एउटा फोटो खिचाएर नफर्किएको। त्यहाँ सुविधा सम्पन्न होटल, होम–स्टे र अन्य व्यवसायसमेत फस्टाउँदो छ।
यस्तै पुलनजिक राजमार्गको छेउछाउमा सामान बेचेर जीविकोपार्जन गर्नेसमेत धेरै छन्। हामीले पनि १० मिनेट फोटो खिच्यौँ टिकटक बनायौँ।
बर्दिया राष्ट्रिय निकुञ्ज
कर्णाली पुलबाट हामी सीधै बर्दिया राष्टिय निकुञ्ज अवलोकनका लागि हिँड्यो। जुन कर्णाली पुलदेखि पूर्वतिर तराई प्रदेशमा अवस्थित छ।
बर्दिया राष्ट्रिय निकुञ्जको प्रमुख कार्यालय ठाकुरद्वारामा रहेको छ। जुन पूर्व–पश्चिम राजमार्गको अम्रेनीबाट दक्षिण तर्फ बाटो छुट्टिएको छ। कर्णाली पुलबाट गाडीमा आधा घण्टाको यात्रामा यहाँ पुगिन्छ।
वि.स. २०२५ सालमा निकुञ्ज घोषणा गरिएको यसले करिब ९६८ वर्ग किलोमिटर क्षेत्रफल ओगटेको छ। निकुञ्ज अवलोकनको लागि पछिल्लो समय मानिसहरुको भीड लाग्न थालेको छ।
कोरोना कहरका कारण लामो समय लकडाउन भएको बेला अवलोकन प्रवेश निषेध गरिएको थियो। निकुञ्ज प्रशासनले त्यहाँ पछिल्ला दुईमहिना यता भने मानिसको भीड लाग्न थालेको बतायो। त्यहाँ आन्तरिक पर्यटकहरु प्राय जङ्गली जनावरहरुको अवलोकनको लागि त्यहाँ पुग्ने गर्दछन्। हाम्रो अवलोकन भ्रमणको उद्देश्य नि त्यही थियो।
त्यहाँ पुगेपछि मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति अन्तर्गत विभिन्न सांस्कृतिक क्षेत्र, वन्यजन्तु उद्दारमा केन्द्रमा विभिन्न वन्यजन्तु, गैँडा अवलोकन, हात्ती चढ्ने ठाउँ र गोही प्रचनन केन्द्रमा विभिन्न वन्यजन्तुहरुको अवलोकन गर्न पाइन्छ। हात्ती सफारीको समेत सुविधा छ।
यद्यपि, अहिले भने कोरोना कहरका कारण बन्द गरिएको छ। अहिले हात्तीसँग अलि परबाट फोटो खिच्न मात्रै दिइन्छ। मानिसबाट कोरोना संक्रमण हुनसक्ने डरका कारण सफारी रोकिएको छ। केही महिनामा सफारी खुल्ने निकुञ्ज स्रोतले बतायो। त्यहाँ पुगेपछि गैडा, कछुवा, गोही हात्ती र बाघको समेत सजिलै अवलोकन गर्न सकिन्छ।
सर्वसुलभ रुपमा पाइने बाँदर यहाँ पुग्ने आन्तरिक पर्यटकका लागि मनोरञ्जनका माध्यम हुन्। भ्रमण र अवलोकनका लागि मानिसहरुका खानेकुरा खाइदिनेदेखि सवारी साधनमा यत्रतत्र झुण्डिने बाँदरहरुले त्यहाँको यात्रालाई थप रोमाञ्चित बनाउँछन्।
साँझपख ठाकुरद्वारा मन्दिरमा
कर्णाली पुल देखि बर्दिया राष्ट्रिय निकुञ्ज सम्मको यात्रा गर्दा समय घर्किंदै थियो। हामी साँझतिर बर्दियाको ठाकुरबाबा नगरपालिकमा रहेको प्रसिद्ध ठाकुरबाबा मन्दिर दर्शनका लागि गयौँ।
यो बर्दियाको जिल्लाको सबै भन्दा ठूलो र प्रसिद्ध धार्मिक स्थल हो। यहाँ पनि रहेक दिन आन्तरिक तथा बाह्य पर्यटकहरु भ्रमणका लागि आउने गर्दछन्। मन्दिरकै अगाडि रहेको ‘बाघ चोक’, ठाकुरबाबाको दर्शन, त्यहाँ रहेको ऐतिहासिक तथा पुरातात्विक मूर्तिहरुको अवलोकन र रमणीय तथा शान्त वातारण मुख्य आकर्षण हुन्।
पर्यटकीय दृष्टिले यी गन्तव्यहरुको भ्रमण गर्न स्थानीय सरकारले व्यापक रुपमा पर्यटन प्रवद्र्धन गर्न आवश्यक छ। साँझ सात बजे नै बाँके आइपुग्यौँ।