सेताम्ये भइसकेका केशहरू। मुजा परिसकेका गाला। कमजोर भइसकेका हातखुट्टा। अनि तीन बीसको नेटो कटिसकेकाे उमेर। मिटरब्याजी अनि लघुवित्तको कहर सहन नसकेर ज्यान लतार्दै ज्ञानी घर्ती माइतीघर आएको धेरै दिन बितिसक्यो।
मिटरब्याजी अनि लघुवित्तका मान्छेहरूले धम्क्याउन थालेपछि छोरा बेपत्ता छन्। ‘मेरो छोरा घर नआएको महिनादिन भइसक्यो। खोजीदिनुस् न हजुर!’ ज्ञानी माइतीघरमा आउने सबैलाई छोराको फोटो देखाउँदै भन्छिन्।
सबैले छोराको फोटो हेर्छन् र कठै भन्दै प्रहरीकँहा जान सल्लाह दिन्छन्।
प्रहरी!
उनी झस्किन्छिन्। अनि भन्छिन्, ‘पुलिसले मेरो छोरो मैले नै लुकाएर राखेको हो, आफैँ निकाल्नुस् भन्छ। अनि खोज्छ पुलिसले?’
अनेकौँ दुःख-कष्ट सहेर हुर्काएको एक मात्र छोरा गायब भएदेखि ज्ञानीलाई न भोक छ, न प्यास नै। छोराको सोधी खोजीमै दिन बित्छ भने, रात छोराकै सम्झनामा। लघुवित्त र मिटरब्याजीले दिएको पीडा त छँदैछ।
ऋण तिर्दातिर्दै ज्ञानीले आफ्नो सबै सम्पत्ति सकाइसकेकी छिन्। गरगहना पनि सकिए। तर, मिटरब्याजी र लघुवित्तको ऋण सकिएन। आफन्त सबै टाढिए। माइतीपक्षले साइनो टुटाए।
उनले सबै सहेकै थिइन्। तर भएको एउटा छोरा पनि गायब हुँदा ज्ञानी मर्नु न बाँच्नुको अवस्थामा छिन्।
०००
करिब पाँच वर्षअघि ज्ञानी घर्ती क्षेत्रीले होटल चलाउन भनेर मिटरब्याजमा ६० लाख ऋण काढिन्।
होटलले विस्तारै लय समाउँदै थियो। महिनाको डेढलाख रुपैयाँ ब्याज तिर्ने शर्तमा लिएको त्यो रकम चुक्ता गर्न ज्ञानीले भनेकै समयमा ब्याज तिर्दै थिइन्। होटल चलेको समय पैसा जम्मा भएपछि भएका बेला ज्ञानीले महिनाको दुई लाखसम्मै ब्याज तिर्थिन्।
तर, कोरोना महामारीले उनको व्यापार चौपट पार्यो। कमाइखाने भाँडो बन्द भयो। त्यसपछि उनलाई पिर पर्न थाल्यो। कमाइ गर्ने अरू विकल्पहरू भेटाइरहेकी थिइनन्।
होटलमा बचेखुचेको रासन घरमै खाएर सकियो। भएका सबै जग्गा मिटरब्याजीले बन्धक बनाएको थियो।
पीडामाथि पीडाहरू थपिँदै थिए ज्ञानीको जीवनमा।
उमेरले डाँडा काट्नै लागेको छ। साहुको ऋण सँगसँगै बुबाआमाको समेत जिम्मेवारी उनकै काधँमा थियो।
साथमा बुढा आमाबुबा थिए। कोरोनाले बुबाआमा थला परेपछि ज्ञानीले झन् ठूलो विपद झेलिन्। बुबाआमाको स्याहारसुसार र औषधि खर्च जुटाउन ज्ञानीलाई उत्तिकै सकस थियो।
एकातिर बिरामी बुबाआमा। अर्कोतिर ६० लाख ऋणको भारी। ब्याज चुक्ता गर्नुपर्ने बाध्यता। उनलाई जसरी पनि ब्याज तिर्नुथियो।
मिटरब्याजीले बन्धक बनाएर राखेको चारमध्ये उनले एक कित्ता जमिन बेचिन्। साढे १९ लाख मिटरब्याजीलाई बुझाइन्। बचेको पैसाले आमाबुवाको औषधि गरिन्।
ज्ञानीका पीडा थामिएनन्। मिटरब्याजीले झन्झन् सताउन थाले। घरमा आउँदै आमाछोरालाई धम्की दिन थाले।
‘६० लाखको महिनामा १ लाख २० हजारका दरले ४४ किस्ता बुझाइसकेँ। सम्पति सबै बेचेँ’, उनले भनिन्, ‘तर, अझै पनि मिटरब्याजीले पैसा चुक्ता भएको छैन भन्छ।
जब कोरोना कहर कम हुन थाल्यो, ज्ञानीले फेरि हाेटल चलाउने सोच बनाइन्। घरपरिवार सबैले सहमति जनाए। परिवारकै सहमतिमा आमा-छोराले लघुवित्तबाट ४ लाख रुपैयाँ ऋण लिएर होटल चलाउन सामान भरे।
होटलले पुनः बजार लिन थाल्यो। व्यापार बढ्दै थियो। ज्ञानीले लघुवित्त र मिटरब्याजी दुवैलाई ब्याजको रकम फेरि चुक्ता गराउन लागिन्।
सुरुसुरुमा राम्रै भएको व्यापारमा फेरि मन्दी छाउन थाल्यो। उनले किस्ताका रकम तिर्न सकिनन्। साहुको दिनैपिच्छे फोन गर्दै ब्याज तिर्न दबाव दिन्थे।
ज्ञानीले बाँकी रहेका तीन कित्ता र आफ्ना सबै गरगहना पनि बेचिन्। तर, पनि उनले लिएको ऋण चुक्ता हुन सकेन।
‘भएको सबै जग्गा बेचेँ, गहना पनि बेचेँ। सबै गरेर १ करोड ३० लाखभन्दा बढी बुझाएँ। उनले भनिन्, ‘तर अझै ऋण चुक्ता भएको छैन भन्छ।’
प्रहरी नै उजुरी लिन मान्दैन
मिटरब्याजीकै कारण छोरा घरबाट बेपत्ता भएको भन्दै ज्ञानीले जिल्ला प्रहरी कार्यालय काभ्रेमा उजुरी नगरेकी पनि होइनन्। तर, प्रहरीले ‘आफैँ छोरा लुकाएर राखेको’ भनेर थर्काएपछि उनी माइतीघर आइन्।
‘एक महिनादेखि छोरा बेपत्ता छ। जिउँदै छ कि कसैले मारे, थाहा छैन’, उनले भनिन्, ‘प्रहरीलाई भन्यो उल्टै मलाई नै छोरा निकाल भन्छ। म कताबाट निकालूँ!’
भएको एउटमात्रै सन्तान गायब भएपछि ज्ञानी बारबार प्रहरीदेखि मिटरब्याजीसम्म धाइन्। तर उनीहरू कसैले सहयोग गरेनन्, बरू उल्टै झन पीडा दिए।
‘मैले कतैबाट न्याय पाइनँ। प्रहरीले आफ्नै छोरो लुकाएर उजुरी गर्न आएको भन्छ। मिटरब्याजीले पैसा तिरेर सिडिओ कार्यालय किनेको छु, प्रहरीले केही गर्न सक्दैन भन्छ। अब म न्याय माग्न कहाँ जाउँ।’