म चितलाङ्गकाे तामाङ
बोल्न नजान्ने
बोक्न मात्र जान्ने
मैले बोकेरै सकाएँ मेरो जीवन
म लेख्न नजान्ने
पढ्न नजान्ने
आफैले ल्याप्चे लगाएको
नेपाली कागजको तमसुकमा के लेखिएको छ
थाहा नपाउने
मैले बोकेको भारीको
मैले बगाएको पसिनाको
मूल्य पनि हुन्छ भनेर
कहिल्यै सोच्न नसक्ने
मलाई बोकाएर कहाँ पुगिसके उनीहरु
आँक्नै नसक्ने म
पहिचानविहीन भरिया
मेरो नामको के अर्थ ?
हो म नै हुँ
बोकेर ल्याउने राणा महाराजहरुको त्यो पहिलो गाडी
हो म नैं हुँ नलिएको ऋणसँग श्रम साट्ने
बेनाम लफङ्गा
मेरो के नाम हुनु
मैले बोकेर ल्याएको गाडीको ब्राण्ड जस्तो
मेरो के पहिचान हुनु
म जन्मेदेखि नै किचिएको छु
बोकेर
मैले नलिएको ऋणको भार
म बेहोसी मैं बरबराई रहेको छु
लागेर
मैले नपिएको नशाको मात
मेरो नाममा कसकसले सहिछाप गरे
मलाई थाहा छैन
मेरो काँधमा के–के पोको पारेर राखिएको छ
मलाई थाहा छैन
एक बड्को जाँड र
एक घुट्को कोदोको रक्सी हो
मैले पिउने
मेरो जीवन कसले चुसिरहेछ
मलाई थाहा छैन
कसले मेरो अध्ययन गरिरहेछ
कसले मेरो अनुसन्धान गरिरहेछ
मेरो उत्थानका नाममा
म माथि को चढिरहेछ
मलाई थाहा छैन
सबै कुरा बोक्न सक्ने मेरो काँधमा
जसले चढ्यो
उसले किन इर्ष्या गरिरहेछ
मलाई थाहा छैन