कविता भावनाको कलात्मक अभिव्यक्ति मात्र होइन, होइन फगत कोरा शब्दहरूको सङ्गालो मात्रै। यो त आफैँमा जागरण पनि हो। चेत पहिल्याउने बाटो पनि हो। कविता आफैँमा नदी हो, निरन्तर चेतना प्रवाहित हुने नदी। अर्को नदी अर्थात् कालीगण्डकी। यी दुई नदीलाई जोड्ने प्रयत्न गरेका छौं हामीले।
नेपालका मात्रै होइन, विश्वकै नदीहरूमाझ छुट्टै विरासत बोकेको नदी हो कालीगण्डकी। ऋषिहरूले सिद्धि र मुक्ति प्राप्तिका लागि र विज्ञहरुले पर्यावरणका लागि कालीगण्डकी बहाव क्षेत्रलाई अति उत्तम मानेका छन्। पारिस्थितिक प्रणालीको उपयोगिताले पनि कालीगण्डकी आफैंमा विशिष्ट नदी हो। यससँग लाखौं मानिसहरुको जीवन जोडिएको छ। स्थानीयका निम्ति जीवन मात्र होइन, जन्मदेखि मृत्युसम्मको जीविका र संस्कार जोडिएको छ।
दुर्भाग्य, अहिले कालीगण्डकीमाथि विभत्स अवैध दोहन चलिरहेको छ। कालीगण्डकीको पवित्र जल प्रतिदिन प्रदुषित बन्दै गएको छ भने नदीमा जलमात्रा पनि पनि घट्दो छ। नदीको सभ्यता, पर्यावरण र जिविकामाथि गम्भीर संकट पैदा हुने गरि गरिने दोहनका कारण घाटहरू विस्थापित बनेका छन्।
दामोदरकुण्ड–मुक्तिनाथदेखि कालीगण्डकीसँगै बगी आउने प्रशिद्ध शालिग्राम शिला डोजरले उत्खनन गरी गिट्टीमा परिणत हुँदैछ। नदीलाई नदीकै बाटो हिँड्न नदिँदाको परिणाम हामीले भोगिरहेका छौँ। यस्तै हस्तक्षेप कालीमाथि भइरहने हो भने त्यसले निम्त्याउने सङ्कट कल्पना बाहिरको छ।
त्यसैले, कालीगण्डकी नदीको वैविध्य (धार्मिक, साँस्कृतिक, भौगर्भिक, जैविक, प्राकृतिक, जनजिविका) लाई आममानिसका बीच परिचित गराउन र यसले बेहोर्दै आएको भयावह सङ्कटलाई विभिन्न विधामार्फत चेतना फैल्याउने अभियान आरम्भ भएको छ।
त्यसलाई कवितामार्फत मुखरित गर्न ’कालीगण्डकी बचाऔँ अभियान’ले 'नदी सप्तक श्रृङखला' (आन्दोलन कविता) सुरू गरेकाे छ।
यस अन्तर्गत पाँचाै श्रृंखलामा कवि इन्द्रकुमार विकल्पकाे कविताः
म र नदी
म निर्निमेष
नदीको किनारमा
नदीले खियाएको
चिप्लो ढुंगामाथि बसेर
बौराठेको सिप्का चलाउँदै
नदीलाई हेरिरहेको छु।
नदी आफ्नै गतिमा
अविरल अगाडि बढिरहेको छ
आफ्नै तालमा गीतहरु
अल्पिरहेछ, सुसाइरहेछ।
नदीलाई गन्तव्यको कुनै चिन्ता छैन
उद्देश्य प्राप्तिको कुनै व्याकुलता छैन
किनकि उसको निश्चित मुकाम छ।
म नदीलाई हेरेर
आफ्नो भविष्यको कल्पनामा भौंतारिइरहेछु
वर्तमानमा रुमल्लिइरहेछु
गन्तव्य प्राप्तिको कल्पनमा डुबिरहेको छु।
भूतकालका स्मृतिहरु
अगाडि ल्याएर
कतिबेला खुसीले फिस्स हाँस्छु
कतिबेला बेदनाले निधार खुम्च्याउँछु।
नदीलाई पहाडहरु
भत्केर आओस् चिन्ता छैन
नदीलाई मान्छेका लासहरु बगून् दु:ख छैन
नदीलाई माछाहरु
रमाइरमाई पौडिऊन् खुसी छैन।
नदीलाई पहाड भत्केर बगोस्
मान्छेका लासहरु बगून्
या त माछाहरु उफ्रीउफ्री नाचून्
नदीलाई पहाड बग्नु र
मान्छेको लास बग्नु
या त, माछा नाच्नु
उसको मानेमा एउटै अर्थ हो
उसको अर्थमा अनर्थ हुँदैन।
तर म
आफ्नो अनुकूलतामा रमाइरमाई नाच्छु
आफ्नो प्रतिकूलतामा
चिन्ताले पिरोलिन्छु/बिथोलिन्छु/छटपटिन्छु
त्यसैले,
म नदी बन्न सकिनँ
नदीजस्तै म बन्न सकिनँ ।
यसलाई पाेस्टरमा पनि पढ्न सकिन्छः