बुधबार, ०७ जनवरी २०२६

गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु

News Image
• • •

सुरुमै अनुरोध गर्छु कि शीर्षक मात्रै हेरेर लेखको आशय निकाल्ने गल्ती नहोस्, अझै स्पष्ट पार्दै भन्नुपर्दा लेखमा गगन विश्वप्रकाशहरूको विरोध र अरुको पक्ष पोषण गरिएको होला भन्ने ठान्ने गल्ती त हुदै नहोस्। हुन त सार्वजनिक महत्वको विषयमा कलम चलाउँदा तर्कसम्मत र निस्पक्ष रहने कोसिस सदैव गर्छु तर पनि एक चेतनशील मानिस भएकोले राजनीतिक विचारसँग निकटता पक्कै हुने नै भयो।

यद्धपि म वैचारिक रुपले न नेपाली कांग्रेस थिएँ, न हुँ र न त कहिल्यै हुने नै छु। त्यसो हुनाले सामान्य अवस्थामा चाहिं नेपाली कांग्रेसको आन्तरिक राजनीतिका सम्वन्धमा यसो वा त्यसो हुनुपर्छ भन्ने कुनै अधिकार मसँग रहँदैन। तर अहिलेको अवस्था सामान्य अवस्था हैन।

भलै म नेपाली कांग्रेस हैन तर संवैधानिक सर्वोच्चतासहितको कानुनी राज भएको बहुदलीय लोकतन्त्रको कडा पक्षधर हुँ र आजको असामान्य अवस्थाबाट देशलाई सामान्य अवस्थामा ल्याउन आवश्यक विचार राख्दै गर्दा कुनै दलको आन्तरिक मामलामा नै टिप्पणी गरेको आरोप सहनुपर्‍यो भने त्यसको लागि तयार भएर नै यो लेख्दैछु।

नेपाली जनताको लामो अनि पटक पटकको संघर्षले स्थापना गरेको लोकतान्त्रिक गणतन्त्रको संचालनको दौरान राजनीतिक दलका कतिपय नेताहरूबाट जनताको मनोकामना र शासन स्थापनाको मर्म विपरित भ्रष्ट अनैतिक र अदूरदर्शी कामहरू हुँदै आएको हुँदा जनतामा बढदै गएको असन्तुष्टिले क्रमश आक्रोशको स्वरुप ग्रहण गर्दै गएको अवस्थाको फाइदा उठाउँदै व्यवस्था विरोधीहरू क्रमशः संगठित हुने क्रम चल्दै आएको केही समय भइसकेको थियो।

त्यो सत्यको मनन गर्दै लोकतान्त्रिक गणतन्त्र जोगाउने सर्तमा आफ्नो आफ्नो दलहरूभित्र गलत प्रवृति र पात्रहरू विरुद्ध आवाज बुलन्द गर्नु अनिवार्य बन्दै गएको थियो। तर दुर्भाग्य नै भनौं अत्यावश्यक भैसकेको त्यो काम नेपाली कांग्रेस वाहेक अन्य लोकतान्त्रिक दलहरूमा हुन नै सकेको थिएन भन्दा पनि हुन्छ। 

तत्कालिन नेकपा एमालेभित्र पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले गरेको अलोकतान्त्रिक र असंवैधानिक कदमको विरोध गर्दा माधव नेपाल, झलनाथ खनाल, भिम रावल, घनश्याम भुषालहरूले पार्टी नै छोड्नु परेको अवस्था थियो भने ईश्वर पोखरेल, योगेश भट्टराई, सुरेन्द्र पाण्डे जस्ता कतिपय बेला आशा गरिएकाहरू केपी ओलीलाई सँच्चिन बाध्य पार्नुभन्दा उहाँसँग सम्झौता गरेर नै आफ्नो स्वार्थ पूरा गर्दै थिए।

अर्कोतर्फ कुनै बेला जनतालाई अनेक सपना देखाएर हिंशात्मक राजनीति गरेको माओवादी, संसदीय राजनीतिमा आएर गणितको खेलमा सत्ता हात पार्नमै व्यस्त थियो। त्यसैले गलत प्रवृति र पात्रहरू विरुद्ध संघर्ष भन्दा तिनैसँग सम्झौताको खेलोफड्को भइरहेर लोकतान्त्रिक व्यवस्था र त्यसका पक्षधर शक्तिहरू कमजोर भइरहेको अवस्थामा कमसेकम कांग्रेसमा सही र सत्य कुराहरू बोल्ने हिम्मत गरेर गगन थापा र विश्वप्रकाश शर्माहरूले आशाको दियो निभ्न दिएका थिएनन्। 

उनीहरू कोसिस त गर्दै थिए तर ती कोसिसले न त लोकतान्त्रिक शासनमा हालीमुहाली गर्दै त्यसलाई बदनाम गर्ने दलीय नेताहरूको रफ्तार रोक्न सामर्थ्य राखेको थियो न त नेताहरूको हर्कतले बढदै गएको जनआक्रोश मत्थर पार्दै लोकतन्त्र विरोधीहरूको षड्यन्त्र कमजोर पार्न नै सकिरहेको थियो। 

यस्तै यस्तैमा गएको भाद्र २३ गते आफूलाई जेनजी पुस्ता भन्न रुचाउने नवयुवाहरूले भ्रष्टाचार अन्त्य र सुशासनको प्रत्याभूतिको माग राखेर शान्तिपूर्ण प्रदर्शन गरे। देशको भविष्यका कर्णधार युवायुवतीले अत्यन्त जायज माग राखेर गर्न लागेको त्यो प्रदर्शन प्रति आम मानिसहरूको समर्थन नरहने कुरै थिएन। प्रदर्शन आयोजनाको खबरसंगै सिंगो देश नै त्यसको पक्षमा उभियो तर विडम्वना युवाहरूको त्यो जोस जाँगरबाट नेपाल बनाउन चाहनेहरू मात्रै हैन नेपाललाई कमजोर पार्न चाहनेहरूदेखि बलेको खरानीमा आफ्नो भविष्यको महल खडा हुने सपना देख्ने अराजक अपराधीहरू पनि हौसिए। 

अत: नव युवाहरूको शान्तिपूर्ण प्रदर्शन व्यापक समर्थनसहित सफलता प्राप्तिको दिशामा अगाडी बढदै गर्दा अचानक त्यसमा अवाञ्छित तत्वहरूको घुसपैठ हुन पुग्यो। त्यसरी घुसपैठ गर्दै अराजक अपराधीहरूले संसद भवन हमलाकोकोसिस भाद्र २३ गते नै गरे। शान्तिपूर्ण आन्दोलन आयोजना गर्ने नव युवायुवतीहरूले नै आन्दोलनमा घुसपैठ भएकोले त्यहाँबाट आफू फर्कने र अरुलाई फर्काउने काम गर्दा गर्दै घुसपैठियाहरूको उग्रता र राज्य पक्षको असंवेदनशिलताले सीमा नाघ्यो जसको परिणाम स्वरूप थुप्रै अवोध युवायुवतीहरू सहिद हुनुपर्‍यो।

यो अत्यन्त अकल्पनीय घटनाले देश नै मर्माहत भएको समयमा तत्कालिन सरकार र राजनीतिक पक्षले लिनु पर्ने जति गम्भीरता बिल्कुल लिएनन। अझै नव युवायुवतीको सहादतले सृजित आक्रोशलाई कारण बनाउँदै आवन्छित तत्वले फाइदा लिन सक्ने सत्यको मनन गर्दै आवश्यक कदम चाल्न त आवश्यक नै ठानिएन।

भाद्र २३ गते साँझ नै तत्कालिन प्रधानमन्त्रीले राजिनामा गर्दै नेपाली कांग्रेसका युवा नेता एवं सांसद गगन थापालाई प्रधानमन्त्री नियुक्त गर्दै समस्या समाधानको जिम्मा दिइनु उचित हुन्छ भन्ने पंक्तिकार लगायत धेरैले दिएको सुझाव ग्रहण भएको भए पनि नेपालको इतिहासमा भाद्र २४ त्यस्तो त्राशदीपूर्ण घटना घटेको दिनको रुपमा आउने थिएन। 

तर विडम्वना न त सत्तामा रहेकाहरूले आफ्नो कमजोरीहरूको कारण जनता रुष्ट रहेको सत्य महशुस गर्न सक्यो, न सही मागसहित आन्दोलनमा आएका नव युवाहरूले नै उनीहरूको बलिदानीलाई देखाउँदै देश खरानी पार्नकोहि सक्रिय भएको तथ्य बुझ्यो न त त्यसै मार्फत सत्तामा पुग्न ठग, अराजक र आतंककारीहरूले खेलिरहेको खेल नै कसैलाई बेलैमा सुझ्यो। अनि के भयो? जे नहुनु पर्ने थियो, त्यही भयो। शान्तिको पर्याय मानिएको नेपाल र शान्तिको दूत मानिएको नेपालीहरूको परिचयसँग कहीं कतै नमिल्ने हर्कत नेपालीहरूबाट नै भयो। 

भाद्र २४ गते नेपालमा जे भयो त्यसलाई कतिपयले जानेर नजानेर भाद्र २३ गतेको घटनाको परिणामको रुपमा व्याख्या गर्ने गरेको भए पनि त्यो किमार्थ कुनै आन्दोलन थिएन। त्यो नेपाललाई समाप्त पार्ने षड्यन्त्रसहित गरिएको आतंककारी हमला थियो।

यदि कोहीकसैले भाद्र २३ गते आन्दोलन गर्ने जेन जी आन्दोलनकै दोश्रो दिन भाद्र २४ थियो भन्छ भने त्यो भन्दा ठुलो झुट केही हुन्न किन कि भाद्र २३ गते एउटा रुखको हाँगो नभाँच्ने प्रतिवद्धतासहित प्रदर्शन गर्ने जेन जी युवाहरू सिंहदरबार, सर्वोच्च अदालत र संसद भवनसहित देशभर निजी घर, प्रहरी चौकी र सरकारी कार्यालय जलाउने काममा संलग्न हुने कुरै हुँदैन। भाद्र २४ गतेको घटनामा संलग्नहरू आतंककारी हुन, अपराधी हुन र दण्डको हकदारहरू हुन्। 

जव भाद्र भाद्र २३ गते भएको कत्लेआम र २४ गते भएको आतंककारी हमलाले देश स्तव्ध थियो ठिक त्यसै बेला मौकामा चौका हान्न नेपाली अनुहारका केही थान ठग, केही अराजक र केही स्वार्थीहरू सक्रिय भएका थिए। त्यस्तो गर्नेहरूमा जनता ठगेको आरोपको अभियोजन भएर जेल बस्नुलाई राजनीतिक मुद्दामा जेलमा रहेको भनेर सरकारी कर्मचारीलाई दवाव दिएर आफूसहित हजारौं कैदीलाई जेलमुक्त गराउने पात्रदेखि सदैव अराजक गतिविधि गर्न र अरुलाई अपमान गर्न मै रमाउने पात्रदेखि बैंकको ऋण नतिर्न कथित अभियन्ता बनेका फटाहा समेत थिए। 

नव युवायुवतीको रगत र देशको संरचनाहरूको खरानीमाथि आफ्नो सत्ता यात्राको सपना देखिरहेका ती पात्रहरू सुनियोजित रुपमा लोकतान्त्रिक गणतन्त्र र तदअनुरुप बनेको संविधान समाप्त पार्न तल्लिन थिए। त्यसैले त हो उनीहरू राष्ट्रको अभिभावक राष्ट्रपतीलाई नभई सेनालाई राजनीतिक समस्या समाधानको साधक मान्नदेखि जननिर्वाचित संसद विगठन नगराई नछोडन युवाहरूलाई भड्काइ रहेका थिए। 

अनि खै किन हो कुन्नि देशको रक्षा गर्नुपर्ने सेना जनताका प्रतिनिधिहरूलाई आवश्यक निर्णय लिन वातावरण बनाउने भन्दा युवायुवतीहरूको रगत र देशको खरानीमा आफ्नो सत्ता सपनाको महल बनाउने सपना देख्नेहरूलाई निर्णायक बनाउन लागि परेको थियो। 

उल्लेखित सबैको समायोजनको परिणाम स्वरूप जननिर्वाचित संसद विगठन हुन गएर असंवैधानिक सरकार गठन हुने अवस्था बन्यो। धन्न राष्ट्रपती रामचन्द्र पौडेलले देखाएको सहासकै कारण नै सही सरकारलाई निर्वाचन गर्नु पर्ने दायित्व थमाइयो, गम्भीर आक्रमणको घाइते भएर नै सही लोकतान्त्रिक गणतन्त्र र संविधान हालसम्म जीवित छन्। हो संविधान जीवित छ तर यसको हत्या गर्नेकोसिस निरन्तर चलि नै रहेको छ। 

सामाजिक संजालमा प्राप्त लोकप्रियताकै भरमा देशको शासन गर्न पाइन्छ भन्ने ठान्नेदेखि नव युवायुवतीको आलो रगत सडकमा बग्दै गरेको अवस्थामा माला लगाएर, हात हल्लाएर आफू जेलमुक्त भएको तथ्यका वावजुद मृतकको घरमा गएर गोहीको आँशु झर्दैमा आफूलाई जनताले पत्याउँछन भन्ने ठान्नेहरू अझै सक्रिय रहेको अनि यो वा त्यो बहानामा नेपाललाई अस्थिर राख्ने बाह्य चलखेल नरोकिएको यो अवस्थामा नेपालको राष्ट्रियता, लोकतान्त्रिक व्यवस्था र त्यस अनकुलको संविधान पक्षधरहरूको विचमा अभूतपुर्व एकता र सहकार्य अनिवार्य बनेको छ।

यस्तैमा फेरि नेपाली कांग्रेस चाहिं विशेष महाधिवेशन गर्ने वा नगर्ने विवादमा फस्न पुगेको छ र त्यो चिन्ताजनक छ। माथि नै धेरै कुरा प्रष्ट पारिसकेको हुँदा थप भूमिका नबाँधी यति लेख्नै पर्छ कि नेपाल राष्ट्र, संवैधानिक सर्वोच्चतासहितको कानुनी राज भएको लोकतान्त्रिक गणतन्त्रमाथि चौतर्फी हमला भइरहेको यो समयमा नेपाली कांग्रेस पार्टी आन्तरिक विवादमा फस्ने विषय नेपाल राष्ट्र र लोकतन्त्रको लागि अत्यन्त घातक छ।

दुनियालाई थाहा छ कांग्रेसभित्र गगन थापा, विश्वप्रकाश शर्मा लगायत नेताहरूले नेतृत्वमा स्थापित हुन आवश्यक जायज र स्वाभाविक अन्तरसंघर्ष गर्दै आएका छन्। त्यस प्रति कांग्रेसभित्र र वाहिर व्यापक समर्थन पनि छ। हो, उनीहरूको माग अनुसार शिघ्र महाधिवेशनमार्फत नीति र नेतृत्व समयसापेक्ष बन्नुपर्थ्यो तर कतिपय प्राविधिक र मुख्यत पूराना नेताहरूले अत्यावश्यक परिवर्तनप्रति अरुचि गरेकोले त्यसो हुन सकेन, त्यो गलत भयो। 

यद्यपि देशमा सन्निकट रहेको चुनाव र त्यसमार्फत देशलाई जोगाउने, लोकतन्त्रलाई जोगाउने, संविधानलाई लयमा ल्याउने राष्ट्रिय दायित्व पूरा गर्नु पर्ने अभिभाराबाट कांग्रेसको संस्थापनदेखि गगन विश्वप्रकाशहरू पन्छिन मिल्दैन। 

तसर्थ, नेपाली कांग्रेसले आपसी असमझदारी हटाउँदै सम्पूर्ण रुपमा एकताबद्ध भएर महाधिवेशनलाई चुनाव पछि सार्नु उचित हुन्छ। तर त्यो निर्णयले अहिले आम जनता नेपाली कांग्रेसतर्फ आकर्षित हुँदैनन जसले गर्दा फेरि पनि जित्नु पर्नेहरूले नजित्ने अनि नजित्न पर्नेहरूले जित्ने चिन्ता हो भने त्यो जायज हो। 

त्यो जायज चिन्तालाई सम्वोधन गर्ने तरिका पनि त छ नि, नेपाली कांग्रेसले महाधिवेशनलाई निर्वाचन पछाडि सार्ने र अबको चुनावमा गगन थापालाई कांग्रेसको सरकार बनेको अवस्थामा प्रधानमन्त्री बनाउने निर्णय लिने। यसो गर्ने हो भने नेपाली कांग्रेसको एकता पनि जोगिने अनि गगन थापाको नेतृत्वमा लोकतान्त्रिक गणतन्त्र थप सुदृढ हुने अवस्था निर्माण हुनेछ। 

यसो गर्न चाहेमा त्यो असम्भव पनि त छैन, त्यसको लागि आवश्यकता छ त दुवै पक्षले आफ्नो आफ्नो इगो त्याग्ने र यहाँ भन्नै पर्छ कि त्यसको सुरुवात चाहिं गगन विश्वप्रकाशबाट नै हुनुपर्छ। किन? किन कि लोकतान्त्रिक गणतन्त्रमाथि प्रहार गर्ने षड्यन्त्र कांग्रेस जस्तो स्थापित दल कमजोर हुँदा मात्रै सम्भव हुन सक्ने सत्य गगन विश्व जस्ता आशाको केन्द्रले नै त बुझ्नु पर्छ नि।

अनि उनीहरूले यो पनि बुझ्न पर्छ कि महाधिवेशन समस्याको समाधानको थलो हो तर त्यो क्षणिक नै भए पनि तिक्तता सृजनाको माध्यम पनि हो। अनि निर्वाचन अगाडी सिर्जना हुने त्यो स्वाभाविक तिक्तताले चुनावी परिणाममा नकारात्मक प्रभाव पार्ने छ र अहिले देश, लोकतान्त्रिक व्यवस्थाले कांग्रेस जस्तो दलहरू कमजोर हुने चुनावी परिणामको असर थाम्न सक्ने छैन। 

त्यसैले गगन विश्वप्रकाशले लोकतन्त्र र देशको स्वाधीनताको खातिर नै सही अहिले विशेष महाधिवेशनको रटान छोडनुपर्छ भने नेपाली कांग्रेसले सर्वसम्मत रुपमा गगन थापालाई प्रधानमन्त्रीको रुपमा अगाडी सार्दै चुनावमा होमिनुपर्छ। यदी त्यसो हुन नसक्ने हो भने आज घाइते अवस्थामा रहेको व्यवस्था र संविधानको बलात हत्या हुने अवस्था निर्माण हुनेछ अनि देश क्षणिक रुपमा ठग, अराजक र आतंककारीहरूको हातमा जाने र दीर्घकालीन रुपमा बाह्य नियन्त्रणसहितको अधिनायकवादी शासनतर्फ जानेछ।

आशा छ गगन विश्वप्रकाशहरूले आफूहरूलाई लोकतन्त्रको हत्याको कारक बनाउँदै मलामी जानेहरूको पंक्तिमा नभई चुनौती सामना गरेर लोकतन्त्र जोगाउने युगपुरुषहरूको पंक्तिमा उभ्याउने छन्।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!