सिंगापुरबाट विज्ञ आएपछि शुरू भयो नयाँ च्याप्टरको अनुसन्धान, नेपालमा भेटिएनन् ह्याकिङ विज्ञ

काठमाडौं – नेपालमा एटीएम ह्याकिङ सम्बन्धी विज्ञ फेला नपरेपछि सिंगापुरबाट विज्ञ मगाएर प्राविधिक अनुसन्धान थालिएको छ ।

शुक्रवार भएको एटीएम ह्याकिङ सम्बन्धमा राष्ट्र बैंकले तयार गरेको प्रतिवेदन अनुसार नेपालमा एटीएम ह्याकिङ सम्बन्धी विज्ञ नै नभएको देखिएको हो ।

नेपाल राष्ट्र बैंकको भुक्तानी विभागका निर्देशक बमबहादुर मिश्रको संयोजकत्वमा गठन गरेको छानबिन समितिले बुझाएको प्रतिवेदनमा ‘नेप्स स्वीच’ वा ‘भिजा नेटवर्क’ कुन ह्याक भएको भन्ने कुरा प्रस्ट पारिएको छैन ।

प्रतिवेदनमा भनिएको छ, ‘भिसा नेटवर्क वा नेप्स स्वीच वा दुई प्रणालीको बीच कहीँकतै कसैले अनधिकृत रुपमा नियन्त्रणमा लिई उल्लेखित अनधिकृत कारोबार हुन गएको अनुमान रहेको । यस सम्बन्धमा फरेन्सिक विज्ञबाट प्रतिवेदन प्राप्त गर्नुपर्ने ।’

नेपाल राष्ट्र बैंकमा सूचना प्रविधि विभाग पनि छ । राष्ट्र बैंकमा यस्ता ह्याकिङ सम्बन्धी विज्ञ भएको नेपाल राष्ट्र बैंकका प्रवक्ता लक्ष्मी प्रपन्न निरौलाले दावी गरे । तर बैंकको टोलीले गरेको अनुसन्धानमा ह्याकिङको स्पष्ट कारण पत्ता लगाउन सकेन । ‘राष्ट्र बैंकमा यस्ता खालमा समस्या समाधानको लागि सूचना प्रविधि विभाग नै छुट्टै छ,’ उनले भने । 

सूचना प्रविधिको विकाससँगै यसका प्रयोग गर्ने तौरतरिका पनि परिर्वतन भएका हुन्छन् । समय–समयमा प्रविधिमा स्तरोन्नति (अपग्रेड) नभएकाले समस्या पहिचान हुन नसकेको हुनसक्ने निरौलाले लोकान्तरलाई बताए ।

सिंगापुरबाट विज्ञ टोली

एटीएम ह्याकिङको सूक्ष्म अध्ययनको लागि सिंगापुुरबाट विज्ञ टोली नेपाल आएको छ । बुधवार रातिदेखी नै आईटी सम्बन्धी दक्षता राख्ने कानूनी मान्यता प्राप्त विज्ञले काम गरिरहेको राष्ट्र बैंकका प्रवक्ता निरौलाले बताए ।

‘उहाँहरूले हिजै (बुधवार) देखि काम थाल्नुभएको छ । मलाई लाग्छ अबको ३ दिनभित्रमा यथार्थ विवरण बाहिर निकाल्नुहुन्छ ।’

‘बाहिरबाट विज्ञ ल्याउनुको अर्थ नेपालमा नै विज्ञ नभएको भन्न मिल्दैन । कतिपय अवस्थामा नेपालका डाक्टरहरूले उपचार गर्न नसकेको अवस्थामा विदेशी डाक्टरलाई ल्याएजस्तै हो,’ प्रवक्ता निरौलाले थपे ।

प्रकाशित मिति: : 2019-09-05 18:16:17

प्रतिकृया दिनुहोस्