दोहोरो मारमा अक्सिजन उद्योग :

‘मेरो मान्छे बचाइदिनुस् भन्दै गेटमा आएर रोएका छन्’

अनलाइनखबर

काठमाडाैं

पाटन औद्योगिक क्षेत्रमा रहेको सगरमाथा अक्सिजन उद्योग परिसरमा केही दिनदेखि ठूलो भिड छ।

विभिन्न अस्पतालका लागि अक्सिजन लिन आएका सवारी साधन तथा व्यक्तिगत प्रयोगका लागि अक्सिजन माग गर्न आउनेहरुको चाप केही दिनदेखि थेगिनसक्नुभएको उद्योगका अध्यक्ष नारायणदत्त तिमिल्सिना बताउँछन्।

अक्सिजन जोहो गरिदिन फोनबाट आग्रह गर्ने र उद्योगमै आएर बिलौना गर्नेहरुको पीडाले आफू पनि विक्षिप्त भएको तिमिल्सिनाले सुनाए। ‘एक सिलिण्डर अक्सिजन दिनुस्, मेरो मान्छे बचाइदिनुस् भन्दै मान्छेहरु हात जोड्दै गेटमा आएर रोएका छन् म के गरौं’ उनले भने।

उद्योगको क्षमता भन्दा बढी माग भएपछि अक्सिजन व्यवस्थापन निकै चुनौतीपूर्ण भएको उनले सुनाए ‘अस्पतालहरु स्वास्थ्य मन्त्रालयको चिठी लिएर आएका छन्, बिरामीका आफन्तहरु रित्तो सिलिण्डर लिएर आएका छन्, कसलाई दिने, कसलाई नदिने, हामी असजिलोमा छौं,’ तिमिल्सिनाले भने।

प्रकाशित मिति: : 2021-05-09 20:19:00

प्रतिकृया दिनुहोस्